
मीनराज भण्डारी
काठमाडौँ, पुस २८ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई सेवा लिने यात्रुको सङ्ख्या दिन दुई गुणा, रात चार गुणाका दरले बढ्दै गएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ) ८० लाख यात्रु हो । सन् २०२० देखि सन् २०२५ सम्मको अवधिमा बढेका हवाई यात्रुको चाप प्रत्येक वर्ष बढिरहेको छ । सन् २०२४ मा यो विमानस्थलबाट करिब ६५ लाख यात्रुले यात्रा गरेका छन् । यात्रु सङ्ख्या वृद्धि हुँदै जाँदा सहज यात्रा, उडान सुनिश्चितता र उडान अवधिमा समेत असर पुग्दै आएको छ ।
प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले भन्नुभयो, “हाल यस विमानस्थलले क्षमताभन्दा बढी यात्रुलाई हवाई सेवा दिँदै आएको छ । बर्सेनि बढ्दै गएको यात्रु र उडान ओहोरदोहोरलाई ध्यानमा राखी प्राधिकरणले विमानस्थलको क्षमता, हवाई पूर्वाधार विकास, उड्डयन सुरक्षालगायत हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गतका काम गरिरहेको छ ।”
विमानस्थलमा बढ्दो हवाई आवागनसँगै समानान्तर ट्याक्सीवे, एप्रोन निर्माण, पार्किङ र एयरलाइन्सको ह्याङ्गर क्षेत्र विस्तारको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल स्तरोन्नतिपछि एयर ट्राफिक कन्ट्रोल सहज र हवाई सुरक्षामा अभिवृद्धि हुने उहाँले बताउनुभयो । प्राधिकरणका अनुसार सन् २०२० मा अन्तर्राष्ट्रियतर्फ ११ लाख ५८ हजार ५८ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२४ सम्म उक्त सङ्ख्या बढेर ४९ लाख ६३ हजार ४६६ पुगेको छ ।
यस विमानस्थलबाट सन् २०२१ मा १४ लाख ५६ हजार ९२९, सन् २०२२ मा २२ लाख २३ हजार ३३३ र सन् २०२३ मा ४३ लाख २९ हजार चार सय यात्रुले उडान भरेका थिए । त्यस्तै गरी सन् २०२५ को ११ महिनामा ४० लाख ९८ हजार ८७७ यात्रुले विमानस्थलको प्रयोग गरेका छन् ।
आन्तरिक उडानमा प्रतिस्पर्धा
प्राधिकरणका अनुसार पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडानतर्फ पनि यात्रु चाप धान्न विमानस्थललाई गाह्रो भइरहेको छ। आन्तरिकतर्फ सन् २०२० मा १४ लाख पाँच हजार ७७७ जनाले उडान सेवा लिएकामा उक्त सङ्ख्या बढेर सन् २०२४ मा ४५ लाख १९ हजार ३२२ पुगेको छ । आन्तरिकतर्फ सन् २०२१ मा ३५ लाख ७६ हजार ९४२, सन् २०२२ मा ४९ लाख १३ हजार ३५७ र सन् २०२३ मा ४३ लाख २५ हजार ५६ जनाले हवाई सेवा लिएका थिए ।
सन् २०२५ को ११ महिनामा आन्तरिकतर्फ ३७ लाख १८ हजार आठ सय यात्रुले विमानस्थलको प्रयोग गरेका छन् ।
उडान सङ्ख्यामा छलाङ
देश विदेशको यात्रा गर्ने यात्रु बढेसँगै पछिल्ला पाँच वर्षमा उडान अवतरण सङ्ख्यासमेत तीन गुणाभन्दा बढीले बढेको छ । अन्तर्राष्ट्रियतर्फ सन् २०२० मा १० हजार २५६ उडान अवतरण भएको यस विमानस्थलमा सन् २०२४ मा ३३ हजार २४७ उडान अवतरण भएका छन् । त्यसअघि सन् २०२१ मा ११ हजार ७६०, सन् २०२२ मा १६ हजार ८७९ र सन् २०२३ मा ३१ हजार ४६० उडान अवरण भएका थिए ।
त्यस्तै गरी आन्तरिकतर्फ सन् २०२० मा ३८ हजार ५९८ उडान अवतरण भएको यस विमानस्थलमा सन् २०२४ मा उक्त सङ्ख्या बढेर एक लाख दुई हजार ७२९ पुगेको छ । प्राधिकरणका अनुसार सन् २०२१ मा ८१ हजार १७२, सन् २०२२ मा ७८ हजार ३४७, सन् २०२३ मा ९६ हजार ९८९ उडान अवतरण भएका थिए ।
भैरहवामा सीमित उडान
काठमाडौँमा उडान र यात्रुको चाप धान्न नसक्ने अवस्था हुँदासमेत मुलुकको दुई वटा विमानस्थल प्रयोगविहीन जस्तै बनेका छन् । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित मात्रै उडान अवतरण भएका छन् भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक उडान हुन सकेको छैन ।
भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रितर्फ सन् २०२३ मा दुई हजार ३१५ र सन् २०२४ मा नौ हजार २०२ यात्रुले मात्रै हवाई सेवा लिएका छन् । त्यहाँ सन् २०२३ मा ६९ र सन् २०२४ मा २९५ उडान अवतरण भएका छन् । सन् २०२५ को ११ महिनामा भएका २२१ उडान अवतरणबाट १३ हजार ४३२ यात्रुले भैरहवा विमानस्थल प्रयोग गरेको प्राधिकरणले जनाएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।



