मूल खबर

दैनिक दुई करोड गुमाउँदै त्रिभुवन विमानस्थल

मीनराज भण्डारी

काठमाडौँ, फागुन २५ गते । पश्चिम एसियाका देशमा उत्पन्न तनावका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाडी मुलुकतर्फको उडान रोकिँदा दैनिक दुई करोड रुपियाँभन्दा बढी आम्दानी गुमेको छ ।

अमेरिका र इजरायलले इरानका सैन्य तथा आणविक पूर्वाधारमाथि गरेको हवाई आक्रमणको प्रत्युत्तरमा इरानले सैन्य अखडासँगै विमानस्थल लगायतका सहयोगी संरचनालाई निसाना बनाउँदा कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतमा हुँदै आएको उडान एकसातादेखि ठप्प हुँदा हवाई क्षेत्रमा आर्थिक नोक्सानी हुँदै आएको हो ।

हवाई सुरक्षा संवेदनशीलताका कारण पश्चिम एसियाका नौ वटा देशले आफ्नो आकासमा फागुन १६ गतेदेखि उडान प्रतिबन्ध जारी राखेपछि मुख्य ‘लाइफ लाइन’ मानिएका खाडी मुलुकतर्फ प्रत्येक दिन करिब १८ उडान रोकिँदा विमानस्थल र नेपाल वायुसेवा निगमको दैनिक दुई करोड १० लाख रुपियाँभन्दा बढी आम्दानी गुमेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार युएई, दोहा, साउदी अरबलगायत उडान प्रतिबन्ध रहेका खाडीका विभिन्न गन्तव्यबाट नेपालबाट दैनिक पाँच वटा वाइडवडी र १३ हाराहारीमा न्यारोबडी जहाजले ओहोरदोहोर गर्दै आएका थिए । प्रत्येक न्यारोबडी जहाजको उडान रद्द हुँदा विमानस्थल र वायुसेवा निगमको सरदर १० लाख १० हजार पाँच सय र प्रत्येक वाइडबडी जहाजको उडान रद्द हुँदा सरदर १८ लाख १२ हजार पाँच सय रुपियाँ आम्दानी गुम्ने उहाँले बताउनुभयो । “हाल १३ वटा न्यारोबडी जहाजको उडान प्रभावित हुँदा एक करोड ३० लाख र पाँच वटा वाइडबडीको उडान रोकिँदा ९० लाख गरेर दैनिक दुई करोड १० लाखभन्दा बढी आम्दानीमा युद्धको असर पुगेको छ,” उहाँले भन्नुभयो ।

जसमध्ये न्यारोबडी जहाजलाई ल्यान्डिङ, पार्किङ, सञ्चार, हवाई मार्गनिर्देशन प्रणाली, सुरक्षा शुल्कबापत विमानस्थलले चार हजार र वायुसेवा निगमले दिने भूमिस्थ प्रबन्ध सेवा शुल्कबापत तीन हजार अमेरिकी डलर आम्दानी हुने गरेको छ । त्यस्तै वाइडबडी जहाजले प्रयोग गर्ने विमानस्थल सेवा शुल्कबापत आठ हजार र निगमले दिने सेवाबापत चार हजार पाँच सय अमेरिकी डलर आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो ।

त्यसमा हवाई इन्धनतर्फ पुगेको नोक्सानी र विमानस्थलले लिने यात्रु सेवा शुल्क समावेश छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा निगमका दुई र कतार एयरवेजका तीन वाइडबडी र अन्य कम्पनीका १३ वटा न्यारोबडी जहाजले विभिन्न गन्तव्यबाट उडान गर्दै आएका थिए ।

पश्चिम एसियामा जारी तनावकैबिच हाल दैनिक एक एक उडान गर्दै आएका फ्लाई दुबई र एयर अरेबियामध्ये आइतबारदेखि एअर अरेबियाले दैनिक थप दुई उडान थालेको छ ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button