मूल खबर

ईनिशा विकको न्यायका लागि हुम्लामा प्रदर्शन, गृह मन्त्रालयलाई ज्ञापनपत्र

प्रमुख जिल्ला अधिकारीमार्फत् ज्ञापनपत्र बुझाउँदै संस्थाका प्रतिनिधि ।

नन्द सिंह

हुम्ला, चैत १ गते । बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया ईनिशा विकको न्यायका लागि आइतबार हुम्लाका महिलाले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र पेस गरेका छन् ।

जिल्लामा लामो समयदेखि महिला हिंसा र पीडितका पक्षमा आवाज उठाउँदै आएको नेपाल अस्ट्रिया साझेदारी संस्थाको नेतृत्वमा सिमकोटमा विरोध प्रदर्शन गरिएको हो। प्रदर्शनकारीले सिमकोट बजार परिक्रमा गर्दै महिलामाथि हुने हिंसा अन्त्य गर्न र ईनिशाका हत्यारालाई कडा कारबाही गर्न माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले ‘ईनिशालाई न्याय देऊ, सत्य–तथ्य छानबिन गर, दोषीलाई कारबाही गर, शान्ति–सुरक्षा सुनिश्चित गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सुर्खेतको गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी ईनिशा विकको गत फागुन २३ गते वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकैको सामुदायिक वनमा हत्या भएको थियो। घटनाको प्रकृतिले बलात्कारपछि हत्या भएको देखिएको भन्दै कर्णाली प्रदेशभर विरोध प्रदर्शन भइरहेका छन् ।

मृतकका आफन्तले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका सबै १८ वर्षमुनिका किशोर रहेका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले महिलाहरूको मागलाई तत्काल गृह मन्त्रालयमा पठाउने जानकारी दिनुभयो ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button