
केशवराज पौडेल
काठमाडौँ, वैशाख ३ गते । नेपाल पशु चिकित्सा परिषद्का अनुसार नेपालमा कम्तीमा ३४ लाख परिवार पशुपालन तथा कृषिमा आबद्ध छन् । किसान परिवारका लागि एकीकृत सेवा प्रणालीको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा यी परिवारले दैनिक हैरानी खेपिरहेको त्यस क्षेत्रका विज्ञहरू बताउँछन् । परिषद्का उपाध्यक्ष डा. मनोजकुमार शाहीले कृषि तथा पशुपालनमा आबद्ध परिवारले फरक फरक समस्या सामना गरिरहेको बताउनुभयो ।
किसान परिवारलाई औषधी समस्या पर्दा स्वास्थ्य मन्त्रालय, दानाको कुनै समस्या आएमा खाद्य विभाग, चरीका ढोका चहार्नु परेको छ । चरन समस्या परेमा वन विभाग जानुपर्ने बाध्यता छ । मौरी तथा रेसममा समस्या आइपरे कृषि विभाग, जङ्गली पशुमा महामारी फैलिएर किसान र मानिसमा समस्या देखिए राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र घरपालुवा पशुमा महामारी फैलिए पशु सेवा विभाग जाने गरी थरीथरीका कानुन र संरचनाले किसानलाई समस्या पारेको छ ।
एकै स्थानबाट पशुपालक किसानको समस्या समाधान हुने गरी पशुपन्छी क्षेत्रका कानुन र संरचना व्यापक पुनर्संरचना आवश्यक रहेको शाहीले बताउनुभयो । “मौजुदा संरचनाका कारण किसानको पशुधन सुरक्षित हुन सकेको छैन,” उहाँले भन्नुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार किसानले दैनिक ७३.५ लाख लिटर दुध, १२.३ लाख केजी मासु, ४५.१ लाख गोटा अन्डा, ३.४ लाख किलो माछा, ११ हजार किलो मह, १० किलो रेसम उत्पादन गरेर नेपालले दुध, मासु, अन्डा, मह, माछा र रेसममा आत्मनिर्भर बनाउने प्रयास गरिरहेका छन् ।
मूल्य शृङ्खलासँग जोडिएका अन्य सेवा र वस्तुबाहेक यसबाट ग्रामीण क्षेत्रमा दैनिक एक अर्ब ३५ करोड नगद प्रवाह हुने गरेको छ । यस्ता क्रियाकलापले जनस्वास्थ्य संरक्षण गर्दै कुल गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको कृषि प्रचार अधिकृत कृष्ण धिताल बताउनुहुन्छ । अघिल्लो आर्थिक वर्षको भन्सार विभागको निर्यात तथ्याङ्क हेर्दा २७ अर्ब रुपियाँबराबरको पशुजन्य पदार्थ र उत्पादन सामग्री निर्यात भएको देखिन्छ । जुन अघिल्लो वर्षको तुलनामा करिब चार अर्बले बढेको हो । पशुपन्छी उत्पादनमा नेपाल आत्मनिर्भर भई निर्यातको चरणमा प्रवेश गरिसकेको उदाहरण पेस गरेको छ ।
कृषि तथा खाद्य सङ्गठनको तथ्याङ्कलाई आधार मान्दा दुध र मासु प्रशोधन र बजारीकरणको क्षेत्रले मात्र करिब छ लाख ३३ हजार जनशक्तिलाई प्रत्यक्ष रोजगारी सिर्जना गराएको छ । २०७९ को लम्पी स्किन रोगका कारण ७९ अर्बको किसानको आर्थिक क्षति भएको थियो । त्यसको क्षतिपूर्ति किसानले पाउन सकेनन् । २०८० यता देखिएको अफ्रिकन स्वाइन फिभरका कारण नेपालमा करिब आधा बङ्गुर मरेका थिए । अहिले करिब दुई हप्तामा मात्र बर्डफ्लुका कारण एक लाख १३ हजार कुखुरा मारिएका छन् । जङ्गलमा ‘क्यानाइन डिस्टेम्पर’ का कारण बाघ र खोरेतबाट हरिण जोखिममा छन् । मासु र दुधको गुणस्तरीय उपलब्धता नहुँदाका बखत ६५ प्रतिशत सङ्क्रामक रोगको प्रकोप मानिसमा देखिन सक्ने अर्को चुनौती छ ।
यस्ता पशु रोग नियन्त्रण नगरी पशुजन्य उत्पादन निर्बाध रूपमा सबै देशमा निर्यात हुने अवस्था देखिँदैन । त्यसमा चासो दिनु आवश्यक रहेको पशु चिकित्सक डा. मणिप्रसाद सापकोटाले उल्लेख गर्नुभयो । कानुनी र संरचनागत समस्या, पशु रोगका कारण घटिरहेको २० प्रतिशत उत्पादनमा ह्रासलाई घटाउन सकियो र उन्नत नश्ल, आहारा, गुणस्तरीय भेटेरिनरी सेवा प्रदान गरी पशुपालनलाई अभियानका रूपमा अगाडि बढाउन सके पशुपन्छी क्षेत्रको उत्पादन वार्षिक १२ प्रतिशतसम्मले बढाउन सकिने उहाँले दाबी गर्नुभयो ।
नेपालको राष्ट्रिय सङ्कटलाई न्यूनीकरण गर्न पशु र तथा भेटेरिनरी क्षेत्रमा वार्षिक करिब ७० हजार नयाँ पूर्णकालीन रोजगारी सिर्जना हुने भएकाले त्यसमा ध्यान दिनुपर्ने नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव डा. शङ्कर न्यौपानेले बताउनुभयो । हरेक स्थानीय तहमा भेटेरिनरी अस्पताल र जिल्लामा विशेषज्ञ सेवासहितको भेटेरिनरी अस्पताल, पशु महामारी रोग नियन्त्रणको तहगत बाँडफाँट गर्ने, निर्यात प्रवर्धनका लागि पशुजन्य वस्तुको गुणस्तरीय उत्पादन र नियमनका लागि मौजुदा कार्यालयलाई थप जवाफदेही बनाउन आवश्यक रहेको अगुवा कृषक अम्बिका हमाल ठकुरीले बताउनुभयो । पशु रोग उपचार र निदानका लागि एआई प्रयोग गर्ने, पशुपन्छी धितो राखी कर्जा लिन पाउने, पशु कल्याण कोषमार्फत किसानको सुरक्षा गर्ने, भेटेरिनरी सेवाको न्यूनतम मापदण्ड लागु गर्ने, मासु जाँच ऐन देशव्यापी लागु हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।आजको गोरखापत्र दैनिकमा खबर छ ।



