मूल खबरहेड लाइन

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा फिर्ता: पुनर्विचार गर्न सरकारलाई सन्देश

काठमाडौँ । सम्माननीय राष्ट्रपति  रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाउनुभएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा २०८३ साल वैशाख २० गते जारी विज्ञप्ति अनुसार, नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ वैशाख १४ गतेको निर्णय बमोजिम सिफारिस भई आएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ लाई राष्ट्रपतिले त्यसको विषयवस्तुमा पुनर्विचार गर्न सन्देशसहित फिर्ता पठाउनुभएको हो।

यसअघि पनि मिति २०८२ असार २५ गते प्रमाणीकरणका लागि पेश भएको सोही ऐन संशोधन सम्बन्धी विधेयक राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाउनुभएको थियो। त्यस्तै, तत्कालीन मन्त्रिपरिषद्को २०८२ मङ्सिर २ गतेको निर्णय बमोजिम प्राप्त भएको अध्यादेश जारी नभएको सन्दर्भलाई समेत स्मरण गराउँदै राष्ट्रपतिले अहिलेको नयाँ सिफारिसमाथि पुनर्विचार गर्न आवश्यक ठानेर फिर्ता गर्नुभएको उल्लेख छ।

संवैधानिक परिषद्को कार्यविधिलाई लिएर लामो समयदेखि देखिएको अन्योल र कानुनी जटिलताका बीच राष्ट्रपतिको यो कदमले उक्त अध्यादेशका प्रावधानहरूमाथि थप छलफल र परिमार्जनको आवश्यकतालाई जोड दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button