स्वास्थ्य

मोतिविन्दु भएकासमेत ३६ जनाको आँखाको शल्यक्रिया

आँखा शिविरमा मोतीविन्दुको शल्यक्रिया गराएका बिरामी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा सञ्चालित आँखा शिविरमा ३६ जनाको आँखाको शल्यक्रिया गरिएको छ । दुई दिने शिविरको पहिलो दिन सोमबार मोतीविन्दु भएकासमेत ३६ जनाको आँखाको शल्यक्रिया गरिएको हो ।

मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर) का अनुसार मोतीविन्दुको समस्या भएका २८ जनाको आँखाको शल्यक्रिया गरिएको छ । बाँकी आठ जना आँखाका विरामीको साधारण शल्यक्रिया गरिएको अध्यक्ष हाङ्गामले जानकारी दिनुभयो ।

उहाँका अनुसार शल्यक्रिया गरिएकाबाहेक २९२ जनाको आँखा परीक्षण गरिएको छ । शिविरमार्फत आँखा परीक्षण गराउनेमा १६४ महिला र १२८ जना पुरुष रहेका छन् । आँखा परीक्षणपछि दृष्टिदोष अर्थात आँखा कमजोर भएका १०७ जनालाई चस्मा वितरण गरिएको मेरिङ्देन गाउँपालिकाले जनाएको छ ।

आँखा शिविरमा सबैभन्दा बढी मेरिङ्देन गाउँपालिकाका १४७ जनाले सेवा प्राप्त गरेका छन् । अन्य आठराई त्रिबेणी गाउँपालिका, फुङ्लिङ नगरपालिका, मैवाखोला गाउँपालिका, मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकाका सेवाग्राहीले समेत सो शिविरबाट सेवा लिएका छन् ।

मङ्गलबारसम्म सञ्चालन हुने दुई दिने निःशुल्क आँखा शिविर मेरिङ्देख गाउँपालिका, नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ, मेची आँखा अस्पताल झापा र सेवा फाउन्डेसन काठमाडौँले संयुक्त रुपमा आयोजना गरेको हो । शिविरमा मेची आँखा अस्पतालको प्राविधिक सहयोग रहेको छ भने सोही अस्पतालकी डा. विनिता थापा नेतृत्वको टोली संलग्न रहेको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button