कृषि र किसान

उखु किसानको बक्यौता भुक्तानी तत्काल गर्न माग, आन्दोलनको चेतावनी

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै किसान प्रतिनिधि । तस्बिर पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, वैशाख २९ गते । उखु किसानहरूको वर्षौँदेखि रोकिएको भुक्तानी तत्काल उपलब्ध गराउन माग गर्दै राष्ट्रिय कृषि श्रमिक संघ नेपाल, पश्चिम नवलपरासी जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीमार्फत सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा सरकारले कृषि उपजको उचित मूल्य सुनिश्चित गर्ने तथा खरिद कारोबारको भुक्तानी अधिकतम २५ दिनभित्र अनिवार्य गर्ने निर्णय गरे पनि व्यवहारमा कार्यान्वयन नभएको उल्लेख गरिएको छ । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि चिनी मिल तथा फर्महरूले किसानको रकम भुक्तानी नगरेपछि प्रशासनको शरण लिनुपरेको संघले जनाएको छ ।

ज्ञापनपत्रअनुसार विभिन्न चिनी मिल र फर्महरूले वर्षौँदेखि किसानको भुक्तानी रोकेका छन् । आर्थिक वर्ष २०८१/८२ मा इन्दिरा सुगर मिल (गंगापुर) र तत्वा नेपाल फर्म लिमिटेड (कठहवा) बाट किसानले पाउनुपर्ने रकम पूर्ण रूपमा बाँकी रहेको उल्लेख छ । चालु आर्थिक वर्ष २०८२/८३ मा पनि बागमती खादसारी कुडिया र लुम्बिनी चिनी मिल (सुनवल)ले भुक्तानीमा आलटाल गरिरहेको जनाइएको छ ।

त्यसैगरी पुरानो बक्यौताअन्तर्गत आर्थिक वर्ष २०७७/७८ मा बागमती खादसारी कुडियाले प्रति क्विन्टल ७ रुपियाँ ७७ पैसाका दरले हुन आउने रकम अझै भुक्तानी नगरेको किसानहरूको गुनासो छ । आर्थिक वर्ष २०७९/८० मा प्रति क्विन्टल २० रुपियाँ र २०८०/८१ मा २५ रुपियाँ मात्र भुक्तानी गरेर किसानलाई अल्झाइएको उल्लेख गरिएको छ ।

उखु किसानको समस्या समाधानका लागि यस क्षेत्रका प्रतिनिधिसभा सदस्य विक्रम खनालले विशेष सक्रियता देखाउँदै आउनुभएको छ । उहाँले किसानको रोकिएको भुक्तानीका विषयमा यसअघि नै प्रधानमन्त्रीलाई लिखित रूपमा ध्यानाकर्षण गराइसकेको जनाइएको छ । साथै, जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित चिनी उद्योगलाई किसानको बक्यौता रकम तत्काल चुक्ता गर्न निरन्तर पहल भइरहेको बताइएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले विषयलाई गम्भीरतापूर्वक लिएको बताउनुभयो । उहाँले जिल्लामा सञ्चालित चारवटै चिनी मिलका सञ्चालकलाई प्रशासन कार्यालयमा बोलाएर किसान प्रतिनिधिसँग प्रत्यक्ष छलफल गराई समस्या समाधानको पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लामो समयदेखि भुक्तानी नपाउँदा नवलपरासीका उखु किसान आर्थिक संकटमा परेको संघले जनाएको छ । खेतीको ऋण तिर्नुपर्ने दबाब र दैनिक गुजारामा समस्या भएपछि किसान आक्रोशित बनेका छन् ।

संघले किसानलाई आवश्यक मल, खाद तथा बीउ सहज रूपमा उपलब्ध गराउन पनि माग गरेको छ । तोकिएको समयभित्र सम्पूर्ण बक्यौता भुक्तानी नभए सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी संघले दिएको छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button