मूल खबरहेड लाइन

छोटो सडक सञ्जालबाट जोडिए भारत–नेपाल–चीन

ट्र्याक सम्पन्न भएपछि सडक हस्तान्तरण गरिँदै । इन्सेटमा किमाथाङ्का नाकाआसपासको क्षेत्र । तस्बिर सौजन्य : उत्तर–दक्षिण कोशी (सडक)

सडकको ट्र्याक खोल्ने काम बाँकी नरहेकाले अब स्तरोन्नतितर्फका काम सुरु हुने
त्रिदेशीय व्यापारिक मार्ग निर्माणसँगै चीनको सिगात्सेसँग सिधा व्यापारिक सम्बन्ध जोडिने आशा
नवराज कट्टेल

विराटनगर, जेठ ५ गते । राष्ट्रिय गौरवको त्रिदेशीय ‘लाइफ लाइन’ विराटनगर रानी–सङ्खुवासभा किमाथाङ्का सडक सञ्जालबाट जोडिएको छ । उत्तर–दक्षिण कोशी (सडक) आयोजना अन्तर्गत सङ्खुवासभाको खाँदबारीदेखि भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्मको व्यापारिक मार्ग जोडिएको हो ।

चीन–नेपाल–भारत जोड्ने यो सबैभन्दा छोटो दुरीको सडक सञ्जाल जोडिए पनि यो मार्ग व्यापारिक प्रयोगमा आउन अझै केही समय लाग्ने छ । आयोजना प्रमुख रामबहादुर गुरुङका अनुसार जटिल भिर रहेको च्याम्ताङदेखि घोङ्गम्पासम्मको १०.८१ किलोमिटर सडकको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको थियो । नेपाली सेनाले गत वैशाख २८ गते उक्त कार्य सकेर आयोजनालाई सडक हस्तान्तरण गरेको छ । त्यसपछि घोङ्गम्पादेखि किमाथाङ्कासम्मको १२ किलोमिटर सडक आयोजनाले मर्मत गरेको थियो । अनि किमाथाङ्कामा सवारी पुगेका हुन् । रानी–किमाथाङ्का सडकको दुरी ३४५ किलोमिटर रहेको छ तर यसको नयाँ दुरी कायम हुन बाँकी छ ।

आर्थिक वर्ष २०६५/६६ देखि सुरु भएको यो सडकको रानी–खाँदबारीखण्डको १८३ किलोमिटर यसअघि नै सम्पन्न भएर सडक विभाग अन्तर्गत डिभिजन सडक कार्यालयमातहतमा गइसकेको आयोजना प्रमुख गुरुङले जानकारी दिनुभयो । अहिले उत्तर–दक्षिण (कोशी) सडक आयोजना अन्तर्गत खाँदबारी–किमाथाङ्काको १६२ किलोटिमरमा विभिन्न चरणका काम भइरहेका छन् । चालु आर्थिक वर्षका लागि समेत ६१ करोड बजेट विनियोजन भएकोमा हालसम्म ६५ प्रतिशत वित्तीय प्रगति भएको प्रमुख गुरुङले जानकारी दिनुभयो । तर अब सडकको ट्र्याक खोल्ने काम बाँकी नरहेकाले स्तरोन्नतितर्फका काम सुरु हुने छन् ।

हालसम्म खाँदबारीदेखि देउरालीसम्मको २८ किलोमिटर दुरी कालोपत्रे भइसकेको छ । देउरालीबाट मकालु गाउँपालिकाको नुम (वरुण) सम्मको ५२ किलोमिटर ग्राभेल र वरुणदेखि च्याङ्तानसम्मको ५४ किलोमिटर सडक ग्राभेलमा स्तरोन्नति गर्ने काम भइरहेको आयोजना प्रमुख गुरुङले जानकारी दिनुभयो । अब ट्र्याक खोलिएको च्याङ्तानदेखि घोङ्गम्पा १०.८१ किलोमिटर र घोङ्गम्पादेखि किमाथाङ्का १२ किलोमिटरसमेत स्तरोन्नतिको प्रक्रियामा जाने उहाँको भनाइ थियो । “बाह्रैमास पानीका कारण काम गर्न कठिन छ,” आयोजना प्रमुख गुरुङले भन्नुभयो, “कालोपत्रे गर्न साइतै जुराउनु पर्छ, ग्राभेलका लागि पनि घाम पर्खनुपर्ने हुन्छ ।”

त्रिदेशीय व्यापारिक मार्ग निर्माणसँगै चीनको सिगात्सेसँग सिधा व्यापारिक सम्बन्ध जोडिने आशा गरिएको छ । किमाथाङ्कादेखि नजिकै रहेको चीनको छेन्दुङसम्म चिनियाँ रेलको सेवा विस्तार भइसकेको छ । त्यसको लाभ नेपालले लिन सक्ने सम्भावना देखाउँदै यो सडकमा राज्यले लगानी गर्दै आएको छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button