
न्युयोर्क, जेठ १४ गते । अमेरिका र इरानको कूटनीतिक सम्बन्ध चिसो छ, दुवै देश एकअर्काविरुद्ध युद्धमा होमिएको अवस्था छ । यद्यपि इरानले खेल्ने–नखेल्ने हल्लाबिच अमेरिकामा हुने विश्वकपमा सहभागिता जनाउँदै छ । इरान रहेको समूह ‘जी’ मा बेल्जियम, न्युजिल्यान्ड र इजिप्ट पनि रहेका छन् ।
अमेरिकामा इरानलाई खेल्न सहज भने हुने छैन । गत मार्चमा इरानले आफ्ना सबै खेल अमेरिकाबाट मेक्सिकोमा सार्न अनुरोध गरेको थियो तर फिफाले सबै खेल पूर्वनिर्धारित तालिका अनुसार नै अगाडि बढ्ने जानकारी गराएर इरानको अनुरोध स्वीकार गरेन । यद्यपि इरानले आफ्नो प्रशिक्षण शिविर भने मेक्सिकोमा गर्नेमा फिफा सहमत भएको छ । युद्धअघि नै समूह ‘जी’ अन्तर्गत एक खेल विवादमा थियो । इरानले इजिप्टसँग जुन २६ मा सियाटलमा खेल्ने तालिका छ । जुन समय ‘प्राइड विक’ परेको छ । जुन समलिङ्गीले स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिन्छ । सो खेललाई ‘प्राइड म्याच’ को संज्ञा पनि दिइएको छ । इरान र इजिप्ट दुवैले धार्मिक र सांस्कृतिक आधारमा ‘प्राइड म्याच’ को संज्ञा दिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए । दुवै देशमा समलिङ्गीलाई मान्यता छैन । इरानमा त झन् समलिङ्गीलाई कडा सजायको व्यवस्था गरिएको छ ।
बेल्जियम
बेल्जियम १५ औँ पटक विश्वकपमा उपस्थिति देखाउँदै छ । सन् २०१८ मा रुसमा भएको विश्वकपमा बेल्जियमले तेस्रो स्थान हासिल गरेको थियो । जुन बेल्जियमको विश्वकपमा अहिलेसम्मको उत्कृष्ट नतिजा हो । सो समय च्याम्पियन बनेका फ्रान्ससँगे सेमिफाइनलमा बेल्जियम पराजित भएको थियो । पछिल्ला संस्करणमा उपाधि दाबेदारमध्ये एकका रूपमा विश्वकपमा पुगे पनि बेल्जियम समूह चरणबाटै बिदा भएको थियो ।
पछिल्ला दुई संस्करणमा बेल्जियम उपाधि दाबेदारमा छुटाउन नहुने टिम थियो । सो समय बेल्जियमको टिमलाई सुनौलो पुस्ता पनि भनिन्थ्यो । जसमा केभिन डी ब्रुयन, इडेन हजार्ड र रोमेलु लुकाकु जस्ता खेलाडी हुनुहुन्थयो तर यो सुनौलो पुस्ता प्रमुख प्रतियोगितामा खरो उत्रन सकेन । अहिले पनि बेल्जियमको टिममा डी बु्रयन हुनुहुन्छ । उहाँले चौथो पटक विश्वकप खेल्नुहुने छ । स्ट्राइकर लुकाकु चोटले एक महिनादेखि फुटबलबाहिर हुनुहुन्छ । उहाँ विश्वकप खेल्नेमा अझै शङ्का छ । यद्यपि यस टिममा म्यान्चेस्टर सिटीका उदीयमान खेलाडी जेरेमी डोकु हुनुहुन्छ । कागजमा बेल्जियमको टिम अहिले पनि सशक्त छ । गत मार्चमा भएको मैत्री खेलमा बेल्जियमले अमेरिकालाई उसकै मैदानमा ५–२ ले नराम्ररी हराएको थियो । रुडी गार्सियाको प्रशिक्षकत्वमा रहेको बेल्जियमले आफ्नो पहिलो खेल जुन १५ मा इजिप्टविरुद्ध सियाटलमा खेल्ने छ ।
इजिप्ट
इजिप्टले तीन पटक विश्वकपमा खेलिसकेको छ । यद्यपि इजिप्टले अहिलेसम्म विश्वकपमा एक खेल पनि जित्न सकेको छैन । पछिल्लो पटक इजिप्टले सन् २०१८ मा विश्वकप खेल्दा कप्तान मोहम्मद सलाह सानदार लय हुनुहुन्थ्यो । त्यसैले सो विश्वकपमा इजिप्टबाट ठुलो अपेक्षा गरिएको थियो तर पहिलो खेलमै उहाँ घाइते भएपछि इजिप्टले सो संस्करणमा पनि राम्रो खेल्न सकेन । इजिप्टको प्रशिक्षकमा पूर्वखेलाडी हासम हसन हुनुहुन्छ । उहाँ इजिप्टका सर्वाधिक गोलकर्ता पनि हुनुहुन्छ । उहाँको नाममा ६९ अन्तर्राष्ट्रिय गोल छ । विश्वकप खेल्नुअघि नै हासम खेलाडी र प्रशिक्षकका रूपमा इजिप्टलाई विश्वकपमा पु¥याउने पहिलो व्यक्ति बनिसक्नुभएको छ ।
विश्वकप छनोट चरणमा इजिप्ट १० खेलमा अपराजित रहेको थियो । सो यात्रामा इजिप्टले मात्र दुई गोल बेहो¥यो । त्यसैले पनि इजिप्ट उच्च मनोबलमा विश्वकपमा खेल्ने छ । यस विश्वकपमा पनि सलाहमै सबैको ध्यान केन्द्रित हुने छ । सलाहले नौ सत्रपछि गत हप्ता लिभरपुल छोड्नुभएको छ । यो विश्वकपमा सलाहको व्यावसायिक फुटबलको अर्को गन्तव्यका बारेमा राम्रै चर्चा हुने छ । गत मार्चमा भएको मैत्री खेलमा इजिप्टले बलियो स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो । सो खेलमा चोटका कारण सलाहले खेल्नुभएको थिएन ।
इरान
इरान कुल सातौँ र लगातार चौथो पटक विश्वकपमा चयन भएको हो । यद्यपि इरानले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन । फिफा वरीयतामा २१ औँ स्थानमा रहेको इरानले यसपालि भने यो असफलतालाई चिर्ने प्रयास गर्ने छ । पूर्वखेलाडी अमिर घालेनोयलको प्रशिक्षकत्वमा रहेको इरानले एसियाली छनोट चरणमा १६ मध्ये एक खेल मात्र गुमाएको थियो । इरानी टिमको नेतृत्व स्ट्राइकर मेहदी टारेमीले गर्नुहुने छ । टारेमीले १०२ अन्तर्राष्ट्रिय खेलमा ५७ गोल गर्नुभएको छ । उहाँ अहिले ग्रिस क्लब ओलम्पियाकोसका लागि खेल्नुहुन्छ । उहाँसँग पोर्टो र इन्टर मिलानसँग खेलेको अनुभव पनि छ । मिडफिल्डर अलिरेजा जहाँबख्स पनि बेल्जियममा व्यावसायिक फुटबल खेल्नुहुन्छ ।
न्युजिल्यान्ड
यस विश्वकपमा न्युजिल्यान्ड फिफा वरीयतामा सबभन्दा तल्लो स्थानमा रहेको छ । फिफा वरीयतामा ८५ औँ स्थानमा रहेको न्युजिल्यान्डले तेस्रो पटक विश्वकप खेल्न योग्य भएको हो । यसअघि उसले सन् १९८२ र २०१० मा विश्वकप खेलेको थियो । न्युजिल्यान्डले अहिलेसम्म विश्वकपको समूह चरण पार गर्न सकेको छैन । न्युजिल्यान्डको प्रमुख खेलाडी कप्तान क्रिस उड हुनुहुन्छ । प्रिमियर लिग क्लब नटिङ्घम फरेस्टबाट खेल्ने वुडको नाममा ४५ अन्तर्राष्ट्रिय गोल छ । यद्यपि उहाँ अहिले दुरुस्त हुनुहुन्न । विश्वकपमा खेल्नका लागि उहाँले आफ्नो फिटनेस सुधार्न निकै मेहनत गरिरहनुभएको छ । अल ह्वाइट्सको नामले पनि चिनिने न्युजिल्यान्डको प्रशिक्षकमा डारेन बेज्ली हुनुहुन्छ । उहाँले सन् २०२२ देखि निरन्तर न्युजिल्यान्डको टिम हेर्दै आउनुभएको छ । एपी
गोरखापत्र अनलाइन



