
बुढीगण्डकी बाढीबाट क्षतिग्रस्त धादिङ–गोरखा जोड्ने आरुघाट पुल निर्माणका लागि बेलिब्रिज बोकेका मालवाहक ट्रक । इन्सेटमा क्षतिग्रस्त पुल ।
भउचप्रसाद यादव
काठमाडौँ, असोज २८ गते । बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण गोरखाको आरुघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरुद्ध बनेको सडक यातायात पुनः सञ्चालन गर्न सरकारले तदारुकता देखाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार सो स्थानमा तत्काल अस्थायी बेलिब्रिज निर्माणका लागि सात ट्रक आवश्यक निर्माण सामग्री मङ्गलबार निर्माणस्थल पुर्याइएको छ । बुढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिका–९, नयाँ पुलस्थित गोरखा र धादिङ जोड्ने आरुघाटको पक्की पुल बगाउँदा पुलको तीन खण्डमध्ये गोरखातिरको एउटा खण्ड बगाएको थियो ।
सडक डिभिजन कार्यालय हेटौँडाबाट पठाइएका ती निर्माण सामग्री गोरखा बजार हुँदै आरुघाट पुर्याइएको छ । आइतबार बिहान उत्तरी गोरखाको सिर्गी हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढीले पुलको गोरखातर्फको २२ मिटर ‘आरसिसी’ भाग बगाएपछि दुई जिल्लाबिच सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो ।
टीकाअघि नै यातायात सञ्चालन गरिने
गोरखा सडक योजनाका प्रमुख इन्जिनियर विनोद पुनले दसैँको टीकाअघि नै सो बेलिब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम सुरु गरिएको जानकारी दिनुभयो । केही दिनभित्रै निर्माण सम्पन्न गरी दसैँको समयमा आवतजावतलाई सहज बनाउने लक्ष्य राखिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “उक्त बेलिब्रिज निर्माणका लागि हेटौँडाबाट पठाइएको आवश्यक सात ट्रक सामग्री निर्माणस्थलमा आइपुगेको छ र तीन ट्रक थप सामग्री त्यहाँबाट आरुघाटका लागि हिँडाइसकिएको छ ।” उहाँले बुधबारदेखि पुलको जग खन्ने र ढलानको काम सुरु हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाली सेना र सडक डिभिजनको टोलीले डोजर र एक्साभेटर प्रयोग गरी नदी किनारको लेदो तथा अवरोध पन्छाउने काम सुरु गरिसकेका छन् । बेलिब्रिज निर्माणका लागि आवश्यक सबै सामग्री उपलब्ध गराउने, पुलको जग र ढलानको काम तथा आवश्यक जनशक्ति सडक विभागमार्फत उपलब्ध गराइने छ भने पुल जडानको काम नेपाली सेनाको प्राविधिक फौजबाट हुने योजना प्रमुख पुनले स्पष्ट पार्नुभयो । पुल बगेलगत्तै नेपाली सेनाको रुद्रध्वज गणका प्राविधिक टोली र गोरखा सडक योजनाका अधिकारीले स्थलगत निरीक्षण गरी बेलिब्रिज जोड्ने सम्भाव्यता अध्ययन गरेका थिए । पुलको ६० मिटर लामो ट्रस संरचना अझै सुरक्षित रहेकाले त्यसमै थप भाग जोडेर बेलिब्रिज सञ्चालन गर्न लागिएको योजनाका प्रमुख इन्जिनियर पुनले जानकारी दिनुभयो ।
यातायात ठप्प हुँदा स्थानीय मर्कामा
बुढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित मोटरेबल पुलको एक खण्ड बगाएपछि यस क्षेत्रको यातायात र व्यापारिक आवतजावत पूर्ण रूपमा ठप्प भएको छ । सडकखण्ड ठप्प हुँदा गोरखाका आरुघाट, धार्चे तथा चुमनुब्री गाउँपालिका र धादिङको सल्यानटार क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् । चाडबाडको मुखमा मुख्य मार्ग नै बन्द भएपछि दैनिक उपभोग्य सामग्री ढुवानी र यात्रुको आवतजावत रोकिएको छ । यसका साथै आरुघाट गाउँपालिकाकै सोतीस्थित फलामे पुल पनि बाढीले बगाएकाले उत्तरी गोरखा र मनासलु पदमार्ग क्षेत्रतर्फ जाने बाटोसमेत प्रभावित भएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।



