
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र देखिएका चुनौती र समस्याको सामना गर्न सकिने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले निर्वाचन परिणामले जनतासँगको सम्बन्ध कमजोर भएको संकेत गरेको स्वीकार गर्दै त्यसलाई पुनः मजबुत बनाउन खुला आत्मसमीक्षा, कमजोरीको स्वीकारोक्ति, एकता र अनुशासन आवश्यक रहेको बताएका छन्।
एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किरहेका बेला पोखरेलको यो अभिव्यक्ति अर्थपूर्ण मानिएको छ। अध्यक्ष केपी शर्मा ओली नेतृत्व छाड्ने पक्षमा नदेखिएको अवस्थामा महासचिव पोखरेलले पार्टीलाई संस्थागत र विधिसम्मत प्रक्रियाबाट अघि बढाउनुपर्नेमा जोड दिएका छन्।



