
काठमाडौँ, असार ६ गते । पछिल्ला वर्ष कक्षा १२ को नतिजामा निरन्तर सुधार देखिएको छ । अघिल्लो वर्ष ६१.१७ प्रतिशत रहेको नतिजा यस वर्ष वृद्धि भएर ६९.७५ प्रतिशत पुगेको छ । दुई वर्षअघि कक्षा १२ को उत्तीर्ण प्रतिशत ५२.९१ प्रतिशत मात्रै थियो । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार दुई वर्षको अवधिमा १२ कक्षाको नतिजामा झन्डै १७ प्रतिशत वृद्धि देखिएको छ ।
यस पटक १२ को परीक्षामा नतिजा वृद्धि हुनुमा थुप्रै कारण भए पनि विगत केही वर्षदेखि प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षणमा शिक्षकलाई दिइएको तालिम र विगतका नतिजालाई विश्लेषण गर्दै अपनाइएको सुधारात्मक उपाय मुख्य भएको परीक्षा बोर्डले जनाएको छ । बोर्डले पछिल्लो समय प्रश्नपत्र निर्माणका लागि शिक्षकलाई तालिम दिन थालेको छ ।
परीक्षा बोर्डका नियन्त्रक (कक्षा १२) कृष्ण शर्माका अनुसार यस क्रममा दुई हजारभन्दा धेरै शिक्षकलाई यस्तो तालिम दिइएको छ । बोर्डले विगतका प्रश्नपत्र तथा नतिजाको विश्लेषण गर्दै प्रदेश, जिल्ला र स्थानीय तहसम्म नतिजा सुधारको अभियान चलाएको शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “यस अभियानले शिक्षक, विद्यार्थी, अभिभावक सबैलाई झकझक्यायो । जसको परिणाम नतिजामा देखियो ।”
बोर्डले परीक्षा गत जेठ १४ बाट २७ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए । जसमध्ये नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी रहेका परीक्षा बोर्डले जनाएको छ । सरकारले कक्षा १२ को नतिजा ४५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको थियो । तर बोर्डले निर्देशन भएको समयावधिअगावै नतिजा सार्वजनिक गरेको हो । यसअघि एसइईको नतिजा पनि २९ दिनमै सार्वजनिक गरिएको थियो । कक्षा १२ को नतिजा छिटो सार्वजनिक भएसँगै स्नातक तहमा भर्ना हुन विद्यार्थीलाई सहज भएको छ । विगतमा स्नातक तहको भर्नाको सूचना जारी हुँदासमेत कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक नहुँदा विद्यार्थी मर्कामा पर्ने गरेका थिए ।
सुशासनप्रतिको प्रतिबद्धता : शिक्षामन्त्री
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुशासनप्रति सरकारको प्रतिबद्धताका कारण कक्षा १२ को परीक्षाफल विगतको तुलनामा निकै छिटो सार्वजनिक भएको बताउनुभएको छ । छिटो नतिजा प्रकाशन हुँदा समग्र शैक्षिक क्यालेन्डरमा सकारात्मक प्रभाव पार्ने मन्त्री पोखरेलले बताउनुभयो । मन्त्रीपरिषद्ले तीन महिनामा गरेका बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री पोखरेलले शुक्रबार भन्नुभयो, “विगतमा नतिजा सार्वजनिक गर्न तीन महिनाभन्दा बढी समय लाग्ने गरेको थियो । यस पटक प्रशासनिक प्रक्रियालाई चुस्त बनाउँदै छोटो अवधिमै काम सम्पन्न गरिएको हो ।’
विगतमा नतिजा ढिलो आउँदा विश्वविद्यालयको भर्ना, कक्षा सञ्चालन र परीक्षासमेत पछाडि धकेलिने गरेको उल्लेख गर्दै उहाँले यस पटक सहज हुने बताउनुभयो । कक्षा १२ को नतिजा छिटो सार्वजनिक भएका कारण अब विश्वविद्यालयलाई पनि समयमै परीक्षा लिन र नतिजा प्रकाशन गर्न मद्दत पुगेको छ । त्रिभुवन विश्वविद्यालयलगायतका अन्य विश्वविद्यालयले यस वर्षदेखि भर्ना र पठनपाठनको कार्यतालिका अगाडि नै सुरु गर्ने तयारी गरिसकेको पनि मन्त्री पोखरेलले जानकारी दिनुभयो । बोर्डले दुई विषयमा ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका परीक्षार्थीका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ ।गोरखापत्र अनलाइन



