खबर

आयातनिर्यात दुवै बढ्दा व्यापार घाटा पनि उच्च

काठमाडौँ, असार ९ गते । मुलुकमा आयातनिर्यात दुवै बढेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा आयात १५.१६ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब ९८ करोड ८७ लाख रुपियाँ भएको छ । गत वर्ष सो अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपियाँको आयात भएको थियो । यस्तै ११ महिनामा निर्यात १२.२८ प्रतिशतले बढेर दुई खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपियाँ पुगेको छ ।

गत वर्ष सो अवधिमा दुई खर्ब ४७ अर्ब ५७ करोड तीन लाख रुपियाँ रहेको थियो । ११ महिनामा व्यापारघाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड १६ लाख पुगेको छ । गत वर्ष सो अवधिमा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपियाँ पुगेको छ ।

यस वर्ष कुल वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढेर २१ खर्ब ७२ अर्ब ६६ करोड १३ लाख पुगेको छ । गत वर्ष सो अवधिमा १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख रहेको थियो । आयातनिर्यात दुवै बढ्दा वैदेशिक व्यापारमा समेत उच्च वृद्धि भएको हो ।

विभागका अनुसार ११ महिनामा सबैभन्दा धेरै दुई खर्ब ९७ अर्ब १४ करोड ४४ लाख रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यस्तै एक खर्ब १९ अर्ब ६३ करोड २० लाख रुपियाँ बराबरको भटमासको कच्चा पदार्थ र ५५ अर्ब ९३ करोड ३७ लाख रुपियाँको खाद्यान्न आयात भएको छ । सो अवधिमा मुलुकबाट सबैभन्दा धेरै भटमासको तेल निर्यात भएको छ । ११ महिनामा एक खर्ब २२ अर्ब ८६ करोड ६३ लाख रुपियाँ बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले तेस्रो मुलुकबाट कच्चा आयात गरी प्रशोधन गरेर भटमासको निर्यात गर्ने गरेका छन् ।

यस्तै १२ अर्ब एक करोड रुपियाँ बराबरको अलैँची निर्यात भएको छ जुन गत वर्षको वार्षिक निर्यातभन्दा झन्डै दोब्बर धेरै हो । गत वर्ष कुल सात अर्ब ६८ करोड रुपियाँको अलैँची निर्यात भएको थियो ।

यस्तै नौ अर्ब ३८ करोड बराबर कार्पेट निर्यात भएको छ । सात अर्ब ९९ करोडको सूर्यमुखी तेल निर्यात भएको तथ्याङ्क छ । छ अर्ब १४ करोड रुपियाँ बराबरको पाम आयल निर्यात भएको तथ्याङ्क छ ।

११ महिनामा सबैभन्दा धेरै भारतबाट १० खर्ब ९२ अर्ब २२ करोड ४४ लाख रुपियाँको आयात हुँदा त्यहाँ दुई खर्ब २८ अर्ब १३ करोड १८ लाख रुपियाँको निर्यात भएको छ । भारतबाट आयात धेरै भए पनि निर्यात कम हुँदा आठ खर्ब ६३ अर्ब ८९ करोड ५९ लाख रुपियाँ व्यापार घाटा रहेको छ ।

यस्तै चीनबाट तीन खर्ब ८२ अर्ब २४ करोड ९६ लाख रुपियाँ आयात हुँदा नेपालबाट १५ खर्ब ९४ करोड ४४ लाख रुपियाँको निर्यात भएको छ । चीनसँग आयातको तुलनामा निर्यात न्यून हुँदा तीन खर्ब ८० अर्ब ६५ करोड ५१ लाख रुपियाँ व्यापारघाटा रहेको छ । मुलुकको विभिन्न १५८ मुलुकसँग वैदेशिक व्यापार रहेको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button