
काठमाडौँ, असार १८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमको आर्थिक र व्यवस्थापकीय सुधारसँगै पुनर्जागरणका लागि सबै कर्मचारीलाई इमानदार भएर लाग्न निर्देशन दिनुभएको छ ।
निगमको ६८ औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा उहाँले इमानदार, नैतिक र जिम्मेवार कर्मचारीको वृत्तिविकासमा मन्त्रालयले सहयोग गर्ने र नातावाद, कृपावाद र अनियमितता गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिँदै राष्ट्रिय ध्वजावाहकको विकासका लागि सबै कर्मचारीलाई एकताबद्ध भएर लाग्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “मेरो कार्यकालमा निगमभित्र राजनीतिक नियुक्ति, सरुवाबढुवालगायतका काममा दबाब, हस्तक्षेप हुँदैन । निगमको सञ्चालक समितिलाई राष्ट्रिय हितमा केन्द्रित भएर निर्णय गर्ने स्वतन्त्रता रहन्छ । भेन्टिलेटरमा रहेको बिरामी जस्तै अवस्थामा रहेको निगमलाई यस वर्ष वार्डमा सार्ने र अर्को वर्ष घर लैजान सक्ने अवस्थामा ल्याउन सबै कर्मचारी इमानदार भएर लाग्नु पर्छ । सहयोगी सरकार र सहज वातावरण पाउँदा पनि निगमले प्रगति गर्न नसकी निगममा भ्रष्टाचार वा अनियमितताको गन्ध आए आफू दृढतापूर्वक अवरोधका रूपमा खडा हुने छु ।”
राजनीतिक हस्तक्षेप र व्यवस्थापन लापर्बाहीले निगम पछिल्लो समय घाटामा रहे पनि देशभित्र र देशबाहिरका विभिन्न मुलुकमा उडान भर्दै आएको जनाउँदै उहाँले निगमलाई जागिर खाने थलोका रूपमा मात्रै नहेरेर संस्थाको प्रगतिका लागि एकजुट भएर लाग्न निर्देशन दिनुभयो ।
मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले निगमलाई बलियो बनाउन वर्तमान अवस्थाको समीक्षा गर्दै सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले विभिन्न चुनौतीका बिच पनि पछिल्लो समय यात्रुको सङ्ख्या र आम्दानी वृद्धि हुनु सकारात्मक पक्ष रहेको बताउनुभयो ।गोरखापत्र अनलाइन



