खेलकुद

युरोपमा ‘मुकुम्लुङ कप–२०२६’ को तयारी तीव्र : विजेतालाई ५ हजार युरो, टोली दर्ता खुला

माल्टा। युरोपमा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता, भाइचारा र सामाजिक सद्भावलाई थप सुदृढ बनाउने उद्देश्यसहित ‘युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुकुम्लुङ कप फुटबल प्रतियोगिता–२०२६’ आगामी अक्टोबर ३ र ४ मा माल्टामा आयोजना हुने भएको छ।

किराँत याक्थुङ चुम्लुङ माल्टा तथा केवाईसी फुटबल क्लब माल्टा को संयुक्त आयोजनामा हुने प्रतियोगिता मोस्टा फुटबल ग्राउण्ड मा बिहान १० बजेदेखि सञ्चालन हुनेछ। आयोजकले प्रतियोगिताका लागि टोली दर्ता (Team Registration) खुला गरिसकेको जनाउँदै युरोपभरिका इच्छुक फुटबल क्लबहरूलाई समयमै दर्ता गराई सहभागी हुन आग्रह गरेको छ।

आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदलाई केवल प्रतिस्पर्धाको माध्यममा सीमित नराखी युरोपभर छरिएर रहेका नेपाली समुदाय, संघ–संस्था तथा फुटबल क्लबहरूबीच आपसी सम्बन्ध, सहकार्य र मित्रतालाई अझ मजबुत बनाउनु हो। साथै, स्वस्थ प्रतिस्पर्धा, अनुशासन र सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने लक्ष्य पनि प्रतियोगिताले लिएको छ।

प्रतियोगितामा सहभागी प्रत्येक टोलीले ५०० युरो प्रवेश शुल्क तिर्नुपर्नेछ। विजेता टोलीले ५ हजार युरो नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई २ हजार ५ सय युरो प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताका लागि प्रत्येक टोलीमा ७ जना मुख्य खेलाडी र ५ जना अतिरिक्त खेलाडी गरी अधिकतम १२ जना खेलाडी रहने व्यवस्था गरिएको छ। खेलहरू फिफाका प्रचलित नियम अनुसार सञ्चालन हुनेछन्। सबै खेलाडी शारीरिक रूपमा स्वस्थ हुनुपर्ने, निर्धारित खेल पोशाक अनिवार्य रूपमा लगाउनुपर्ने तथा खेल सुरु हुनुभन्दा कम्तीमा ३० मिनेटअघि मैदानमा उपस्थित भइसक्नुपर्ने नियम राखिएको छ।

खेल अवधिभर अनुशासन, खेल भावना र आपसी सम्मान कायम राख्नुपर्ने तथा हिंसा, झगडा वा अनुचित व्यवहार गर्ने टोलीलाई तत्काल प्रतियोगिताबाट निलम्बन गरिने आयोजकले स्पष्ट पारेको छ। साथै, सीमित सङ्ख्यामा मात्र टोली सहभागी गराइने भएकाले पहिले दर्ता गर्ने टोलीलाई प्राथमिकता दिइनेछ।

माल्टाबाहिरबाट प्रतियोगितामा सहभागी हुने टोलीहरूका लागि प्रतियोगिता अवधिभर दुई रातको आवास आयोजकले निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ। यद्यपि, अन्य व्यक्तिगत खर्च सम्बन्धित टोलीले आफैं व्यवस्थापन गर्नुपर्नेछ। प्रतियोगिताका क्रममा रेफ्रीको निर्णय अन्तिम र सर्वमान्य हुने नियम पनि लागू हुनेछ।

आयोजकले प्रतियोगितामा सहभागी हुने क्लबहरूसँगै सम्पूर्ण खेलप्रेमी, नेपाली संघ–संस्था, सामाजिक अभियन्ता, विशिष्ट व्यक्तित्व तथा शुभेच्छुक महानुभावहरूलाई समेत प्रतियोगितामा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन हार्दिक निमन्त्रणा गरेको छ।

प्रतियोगिताको संक्षिप्त विवरण
प्रतियोगिता: युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुकुम्लुङ कप फुटबल प्रतियोगिता–२०२६
मिति: ३–४ अक्टोबर २०२६
समय: बिहान १०:०० बजेदेखि
स्थान: मोस्टा फुटबल ग्राउण्ड, माल्टा
प्रवेश शुल्क: प्रति टोली €५००
प्रथम पुरस्कार: €५,०००
द्वितीय पुरस्कार: €२,५००
सम्पर्क
दर्शन लिम्बू – +356 9993 4586
किरण कुमार लिम्बू – +356 9903 6621
प्रकाश आङ्देम्बे – +356 7714 6990
गजिन्द्र लिम्बू – +356 7751 7152
प्रेमराज लिम्बू – +356 7715 9647

“आउनुहोस्, खेलमार्फत एकता, मित्रता र सामाजिक सद्भावलाई अझ मजबुत बनाऔँ।”

(प्रायोजित समाचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button