
मीनराज भण्डारी
आरोग्य पर्यटनको हब बनाउन पर्यटन रणनीति र कार्ययोजना तयार
नेपाल आरोग्य वर्ष २०२७ मनाउन मसौदा तयार
प्रथम आरोग्य दिवस भव्यताका साथ सम्पन्न
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्न मसौदा तयार
नेपाल वायुसेवा निगमको पुनर्संरचनाको स्वरूप निर्धारण गर्न प्रतिवेदन तयार
इयुको कालो सूचीबाट हटाउन
सुधारात्मक कार्ययोजना तयार
थप पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा समावेश
सरकारले सार्वजनिक गरेका एक सय शासकीय सुधार कार्ययोजनामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट केही काम कार्यान्वयनको चरणमा प्रवेश गरेका छन् भने केही काम तोकिएको समयसीमाभित्रै सम्पन्न भइसकेका छन् ।
गत चैत १३ गते गठन भएको वर्तमान सरकारले सय दिनमा गर्ने भनेर सार्वजनिक गरेका एक सय शासकीय सुधार कार्ययोजनामध्ये बुँदा नम्बर ७२ र ७३ मा पर्यटनका विषय समेटिएका थिए । बुँदा नम्बर ७२ मा उल्लेख थियो, “उदयपुर (कोशी नदीआसपास), अछाम (रामारोशन), बाजुरा बडिमालिका, अपि हिमाल ट्रेकिङ रुट, दोर्दी हिमाल ट्रेकिङ रुटलगायत क्षेत्रमा व्यवस्थित पर्यटनका लागि आवश्यक अध्ययन गरी एक महिनाभित्र कार्यान्वयनयोग्य खाका प्रस्तुत गर्ने ।”
यस्तै बुँदा नम्बर ७३ मा उल्लेख थियो, “नेपाललाई आरोग्य पर्यटन (पूर्वीय दर्शन, ध्यान, योग, प्राकृतिक चिकित्सालगायत) को हब बनाउन १५ दिनभित्र आरोग्य पर्यटन रणनीति जारी गर्ने । साथै नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घले १५ अप्रिललाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेकामा उक्त प्रस्तावमा मतदान गर्ने सबै सदस्य राष्ट्रलाई धन्यवाद ज्ञापन गर्ने । आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाका रूपमा लिई नेपाल आरोग्य वर्ष २०२७ मनाउन अन्तरनिकाय समन्वय गर्ने ।”
शासकीय सुधार र पर्यटन प्रवर्धनका लागि नेपाल आरोग्य वर्ष २०२७ मनाउने र नेपाललाई योग, ध्यान र प्राकृतिक चिकित्साको हब बनाउने लक्ष्यसहितका प्राथमिकतामा नेपाललाई आरोग्य पर्यटनको हब बनाउन राष्ट्रिय आरोग्य पर्यटन रणनीति (सन् २०२६–२०३५) तथा कार्ययोजना (सन् २०२६–२०३०) जारी गरी कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । कार्यान्वयनको पहिलो चरणमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई कार्यार्थ पठाइएको छ ।
त्यसै गरी आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाका रूपमा लिई नेपाल आरोग्य वर्ष २०२७ मनाउन अवधारणापत्रसहितको कार्ययोजनाको प्रारम्भिक मसौदा तयार भई मन्त्रालयसमक्ष पेस भएको छ । प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस गत वैशाख २ गतेका दिन काठमाडौँको टुँडिखेलमा भव्यताका साथ सम्पन्न भएको र नेपाल आरोग्य वर्ष २०२७ लाई भव्यताका साथ सम्पन्न गर्न मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा अन्तरनिकाय समन्वय संयन्त्र गठन भई समन्वयका कार्यहरू भइरहेको छ।
निर्माणाधीन बाजुरा बडिमालिका, अपि हिमाल ट्रेकिङ रुटको निर्माण कार्य निरन्तर भइरहेको छ । थप कार्यका सम्बन्धमा पर्यटन विभागबाट गहन अध्ययन गरी कार्यान्वयनयोग्य खाका तयार भई आव २०८३/८४ को बजेट कार्यक्रममा समावेश भएको छ ।
उदयपुर (कोशी नदीआसपास), अछाम (रामारोशन), दोर्दी हिमाल ट्रेकिङ रुट, सिकलेस–कोरी–कहुपुचे–हुगु–दुधपोखरी–मनाङलगायतका सम्बन्धमा अध्ययन गरी सम्भावित ट्रेकिङ रुटहरूको पहिचान गरी व्यवस्थित पर्यटनका लागि कार्यान्वयनयोग्य खाका तयार भई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यक्रममा समावेश गरिएको छ ।
छाया क्षेत्र, रारा, पाथीभरालगायत नेपालका अन्य पहिचान भएका गन्तव्य समावेश गरी एकीकृत विकास खाका तयार भई आगामी आव २०८३/८४ को बजेट कार्यक्रममा समावेश गरिएको मन्त्रालयको सय कार्यदिने प्रगति विवरणमा उल्लेख छ ।
सरकारका समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन प्रत्येक मन्त्रालयले सात दिनभित्र १० वटा प्रमुख कार्य कार्यान्वयनमा लैजाने निर्देशन दिइएको थियो । यस अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक तथा नियामक निकायका रूपमा रूपान्तरण गर्न गत चैत २४ गते समिति गठन भएको थियो । समिति गठनपछि वैशाख मसान्तसम्म पहिलो ड्राफ्ट तयार गरी पेस गर्ने तथा गत जेठ १५ सम्म अन्तिम ड्राफ्ट पेस गर्ने योजना बनाई सोका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट विधेयकउपर राय प्राप्त गरी अन्तिम मसौदा तयार भएको छ ।
त्यस्तै नेपाल वायुसेवा निगमको पुनर्संरचनाको स्वरूप निर्धारण गर्न उपसमिति गठन भई प्रतिवेदन तयार भएको छ । धेरै यात्रु र सामान ओसारपसार हुँदै आएका सुविधायुक्त हवाई रुटहरूमा नेपाली तथा विदेशी नागरिकलाई हवाई भाडादर समान गर्ने सम्बन्धमा अध्ययन समिति गठन भई कार्य भइरहेको छ । नेपाली वायुसेवा कम्पनीको जहाजलाई युरोपेली सङ्घ अन्तर्गतका देशमा हवाई उडानमा जारी प्रतिबन्ध हटाउन युरोपेली सङ्घले उठाएका विषयका सम्बन्धमा सुधारात्मक कार्ययोजना तयार गरी सम्बन्धित निकायमा पठाइएको छ । नेपालका लागि युरोपेली सङ्घका राजदूत र नयाँ दिल्लीस्थित युरोपेली सङ्घ सदस्य राष्ट्रका राजदूतसँग नेपाली वायुसेवा कम्पनीको जहाजलाई युरोपेली देशमा हवाई उडानमा लागेको प्रतिबन्ध हटाउने सम्बन्धमा छलफल भएको छ ।
सय दिनमा अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण कार्यक्रम अन्तर्गत पाँच वटा सम्पदालाई सूचीकरण गर्ने कार्य सम्पन्न भएको छ । आन्तरिकतर्फका विमानस्थलबाट यात्रुको आवागमनमा सहजताका लागि नेपालगन्ज/सुर्खेत/धनगढी विमानस्थलमा एक/एक थान र लुम्बिनीमा दुई थान विद्युतीय बस सञ्चालनमा आएका छन् । यसअघि पर्यटन विभागबाट सम्पादन हुने कार्यमा ८० प्रतिशतभन्दा बढी डिजिटल माध्यमबाट सम्पादन हुने गरेकामा आगामी आवबाट पूर्ण रूपमा डिजिटल माध्यमबाट सेवा प्रवाहको आधार तयार भएको, रामजानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरी चार किल्ला तोक्ने विषयमा नेपाल सरकार (मन्त्रीपरिषद्) समक्ष प्रस्ताव पेस गर्ने तयारी भइरहेको छ ।
विदेशी नागरिकलाई भिसा सिफारिससम्बन्धी कार्यमा नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिस आवश्यक नपर्ने गरी दु्रत कार्यान्वयनबाट गर्ने कार्य सुरु भएको र निषेधित क्षेत्रको सिफारिस नेपाल नागरिक उड्डयन प्राधिकरणबाटै जारी गर्ने व्यवस्था गरिएको छ । पोखरा क्षेत्रीय विमानस्थलमा सन् २०२६ को सेप्टेम्बरदेखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा ल्याउने तयारी अनुसार फ्लाई दुबईको समय सेड्युल र विन्टर सेड्युल स्वीकृत गरिसकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत अन्य अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलको सरसफाइमा गुणात्मक सुधार ल्याइएको छ ।
त्यसै गरी पशुपति क्षेत्रको समग्र सरसफाइलाई प्रभावकारी र नियमित बनाउन कोषमा कार्यरत सरसफाइकर्मीलाई दुई सिफ्ट तथा १२ वटा रुटमा परिचालन गरी दैनिक सरसफाइ कार्य व्यवस्थित रूपमा सञ्चालन भइरहेको, कोषको हाताभित्र रहेको बगैँचा सौन्दर्यकरण, मूर्तिको संरक्षण, घाट व्यवस्थापन, पार्किङ व्यवस्थापनका साथै पशुपतिनाथको भेटी व्यवस्थापनलाई पारदर्शी र उत्तरदायी बनाउन दैनिक भेटी सङ्कलनको विवरण कोषको वेबसाइट तथा फेसबुकमार्फत सार्वजनिक गर्ने गरिएको र भेटी गणना डिस्प्ले बोर्डमार्फत समेत सार्वजनिक गर्ने कार्यका लागि आवश्यक पहल गरिएको छ ।
मन्त्रालयले पशुपति क्षेत्रभित्र अतिक्रमित क्षेत्र पूर्ण रूपमा खाली गराएको छ । यसको संरक्षण, व्यवस्थापन र भावी उपयोगका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । बागमतीपारि १५ वटा शिवालय क्षेत्रमा सञ्चालन भइरहेको आरती कार्यक्रम उक्त क्षेत्रको संरक्षण, संवर्धन तथा सुरक्षालाई दृष्टिगत गरी रामघाटपरिसरमा स्थानान्तरण गरेको छ
लुम्बिनी विकास कोष अन्तर्गत सरसफाइ, सौन्दर्यकरण, दान व्यवस्थापन, खानेपानी, शौचालय व्यवस्थापका साथै मायादेवी मन्दिरभित्र प्रभावकारी रूपमा सुरक्षाकर्मी परिचालन गरी वृद्ध, अशक्त, भिक्षु भिक्षुणीलाई विशेष प्राथमिकता दिई छरितो रूपमा दर्शन गराउने व्यवस्था मिलाइएको छ ।
पदयात्रा, जलयात्रा, पर्वतारोहण तथा अन्य साहसिक पर्यटकीय क्रियाकलापमा सहभागी हुने पर्यटकलाई प्राकृतिक तथा अन्य विपत्तिबाट पर्न सक्ने प्रभावलाई न्यूनीकरण गरी पर्यटन खोज उद्धार तथा उपचार कार्यलाई छिटो छरितो, सहज, सरल र व्यवस्थित बनाउन पर्यटक खोज, उद्धार उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५ को परिमार्जित मसौदा तयार गरिएको छ । साथै पर्यटन बोर्ड अन्तर्गत पर्यटनको सन्तुलित र दिगो विकासका लागि नेपालका प्रमुख सहरमा प्रादेशिक पर्यटन मेलाको आयोजना गरिएको, देशभर नै पर्यटनलक्षित उत्सव, महोत्सव, रैथाने खाना महोत्सवलगायत १० वटा कार्यक्रमको प्रवर्धन गरिएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।



