
अशोक अधिकारी
सरकारले १०० दिनमा भ्रष्टाचारीविरुद्ध महत्वपूर्ण कारबाही अघि बढाएको छ । सरकारसँगै रास्वपाले देखाएको यो प्रतिबद्धता र नयाँ राजनीतिक संस्कार अभ्यासले नेपालको लोकतन्त्रलाई थप सबल, सक्षम र सुदृढ बनाउन मद्दत पुग्ने विश्वास गर्न सकिन्छ ।
काठमाडौँ, असार २० गते । सुशासन, शासकीय सुधार, भ्रष्टाचार न्यूनीकरण एवं सम्पत्ति शुद्धीकरणका मुद्दामा अनुसन्धान र राज्य प्रणालीलाई जवाफदेही बनाउने सङ्कल्प कार्यान्वयनतर्फ प्रस्थान गर्दै सरकारको १०० दिन पूरा भएका छन् । सरकारले शासकीय सुधारको १०० बुँदे कार्यसूची एवं सुशासनको मार्गचित्र कार्यान्वयनमा ल्याएर संरचनागत सुधार गरी समग्र रूपान्तरणको दृढ अठोटसाथ सरकारले १०० दिन पूरा गरेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार समालेपछि सुशासनका लक्ष्य प्राप्तिका लागि दूरगामी अवधारणासहित कार्यक्रम घोषणासँगै कार्यान्वयन अघि बढाएको छ । सीमित स्रोतसाधन परिचालनमार्फत आर्थिक सन्तुलन कायम गर्दै नवीनतम लक्ष्य हासिल गर्ने दूरदृष्टि राखेको सरकारले यस अवधिमा नागरिकमा भरोसा जगाउने गरी महत्वपूर्ण कार्यसम्पादन गरेको छ ।
प्रधानमन्त्री शाहले १०० दिनको अवधिमा सङ्घीय सांसदसँगै मुख्यमन्त्रीसँग संवाद गर्नुभयो । उहाँले तत्काल र दीर्घकालीन विकास निर्माण एवं समुन्नतिका आयामबारे विमर्श गर्दै सुझाव लिनुभयो । सोही अनुरूप सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा आर्थिक रूपान्तरणको लक्ष्यसहितका कार्यक्रम ल्याएको छ । त्यसै गरी अव्यवस्थित बसोबासीको व्यवस्थापनसँगै आर्थिक स्थायित्वको कार्यभार पूरा गर्नेतर्फ द्रुततर सुधारका काम आरम्भ गरेको छ ।
१०० दिनको अवधिमा सरकारले ढिलासुस्ती तथा सेवाग्राहीप्रति असहज व्यवहार जस्ता प्रवृत्ति अन्त्य गर्ने, राहदानी र सवारीचालक अनुमतिपत्र छपाइमा तीव्रता दिने तथा राज्यको सेवा प्रवाह जनमुखी बनाउन सङ्कल्प कार्यान्वयन गरिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वकोषाध्यक्ष एवं नेतृ लिमा अधिकारी र राजनीतिशास्त्री प्राडा मीना वैद्य मल्लले सरकारको प्रारम्भिक कार्यसम्पादन उत्साहजनक रहेको विश्लेषण गर्नुभयो । प्राडा वैद्यले भन्नुभयो, “रास्वपाले यस अवधिमा महाधिवेशन पनि सम्पन्न गरेको छ । सरकारले १०० दिनमा भ्रष्टाचारीविरुद्ध महत्वपूर्ण कारबाही अघि बढाएको छ । सरकारसँगै रास्वपाले देखाएको यो प्रतिबद्धता र नयाँ राजनीतिक संस्कार अभ्यासले नेपालको लोकतन्त्रलाई थप सबल, सक्षम र सुदृढ बनाउन मद्दत पुग्ने विश्वास गर्न सकिन्छ ।”
राजनीतिशास्त्री प्राडा राजेश गौतमले वर्तमान सरकारको कार्यशैली जनआकाङ्क्षा अनुरूप हुनुपर्ने बताउँदै सरकार गठनको सुरुवाती चरणमा केही आशा पलाएको बताउनुभयो । यद्यपि हालको स्थितिमा सरकारले जनताको इच्छा र लोकतान्त्रिक पद्धतिलाई सही ढङ्गले अवलम्बन गर्न नसकेको सन्देश गइरहेको उहाँको विश्लेषण छ । उहाँले भन्नुभयो, “सरकार र पार्टी नेतृत्वबिचको समन्वय हुनु पर्छ । एकातर्फ सरकार र अर्कातर्फ पार्टी नेतृत्व जस्तो देखिएको छ । द्वैध परिस्थितिले राजनीतिमा अन्योल सिर्जना हुन्छ । त्यसैले दीर्घकालमा देशको राजनीतिलाई सकारात्मक दिशा दिने गरी सरकार र रास्वपा अघि बढ्नु पर्छ ।”
राज्यको अनुभूति
नेतृ अधिकारीले नागरिकलाई राज्यको अनुभूति गराउने गरी प्राथमिकता निर्धारण गरेर सरकारले १०० दिन पूरा गरेको बताउनुभयो । उहाँले विशेष गरी सार्वजनिक सेवा प्रवाहमा सुधार र सुशासनको क्षेत्रमा सरकारले स्पष्ट मार्गचित्र बनाएको, नागरिकले सार्वजनिक सेवा प्राप्त गर्न भोग्नु परेका झन्झट र सास्ती अन्त्य गर्ने गरी कार्य आरम्भ गरेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सरकारले नागरिकको आत्मविश्वास बढाउने काम गरिरहेको छ ।”
नेतृ अधिकारीले सरकारले सुशासनलाई सबैभन्दा बढी महत्व दिएको बताउँदै भ्रष्टाचार नियन्त्रण, दण्डहीनता अन्त्यसँगै नागरिकमा राज्यप्रतिको भरोसा र आत्मविश्वास जगाउन सरकार सफल हुँदै गएको बताउनुभयो । उहाँले ३५ वर्षदेखिको बेथिति र अराजकतालाई सुशासन र भ्रष्टाचार न्यूनीकरणमार्फत जवाफ दिँदै सरकारले निर्मम भएर कदम चालेको प्रस्ट पार्नुभयो । उहाँले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिलाई वडा तहदेखि केन्द्रसम्मै प्रभावकारी बनाइएको र बजेटले निजी क्षेत्रको खस्किएको मनोबल उकास्न मद्दत गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “बजेट रूपान्तरणकारी छ । १०० दिनको काम उत्कृष्ट छ । आर्थिक क्षेत्रको सुधारले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने छ । र देश सही मार्गचित्रमा अगाडि बढ्ने छ ।”
नेतृ अधिकारीले अब सरकारको ध्यान आर्थिक समृद्धि र नागरिकको जीवनस्तरमा प्रत्यक्ष परिवर्तनतर्फ अघि बढ्ने बताउनुभयो । उहाँले सरकारको कामको प्रभाव नागरिकको घर र चुलोसम्मै पु¥याउने गरी योजना कार्यान्वयन गर्ने र उद्यमशील वातावरण निर्माण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकका अपेक्षा पूरा गर्न सरकार पूर्ण प्रतिबद्ध छ । आगामी लक्ष्य आर्थिक रूपान्तरणतर्फ केन्द्रित हुने छन् ।”
‘प्रमाण जुटाएर काम होस्’
राजनीतिशास्त्री राजेश गौतमले सरकारको कार्यशैली जनआकाङ्क्षा अनुरूप हुनुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा सरकारले व्यवस्थित ढङ्गले प्रमाण जुटाएर मुद्दामा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जसलाई गिरफ्तार गरिएको छ, ऊ अदालतबाट छुटिरहेको अवस्था छ । यसको अर्थ अभियोगपत्र उपयुक्त र बलियो रूपमा तयार हुन सकेका छैनन् । सरकारले प्रचारमुखी हुनुहुँदैन । आफ्ना प्रतिबद्धतामा इमानदार हुनु पर्छ । १०० दिनमा भएका कमजोरी सुधार्दै जनअपेक्षा र लोकतान्त्रिक मूल्यमान्यता अनुसार सरकार अघि बढ्नु पर्छ ।”गोरखापत्र दैनिकमा खबर छ ।



