मूल खबरहेड लाइन

अफवाह र द्वेषपूर्ण प्रचारप्रति आईजीपी कार्कीको चिन्ता, संयम र सद्भाव कायम राख्न अपील

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पछिल्लो समय सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिरहेका अफवाह, उत्तेजक अभिव्यक्ति र द्वेषपूर्ण प्रचारप्रति चिन्ता व्यक्त गर्दै नागरिकलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन्।

नेपाल प्रहरीले सार्वजनिक गरेको भिडियो सन्देशमार्फत आईजीपी कार्कीले नेपाल विविधतामा एकता बोकेको गौरवशाली र सुन्दर देश भएको स्मरण गराउँदै धर्म, भाषा, जातजाति तथा संस्कृतिमा विविधता भए पनि नेपाली समाज आपसी सम्मान, सहिष्णुता र भाइचाराका साथ लामो समयदेखि एकताबद्ध भएर बस्दै आएको उल्लेख गरेका छन्।

पछिल्लो समय विशेषगरी पूर्वी तराईलगायत केही स्थानमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने र नागरिकमा डर तथा त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिएको भन्दै उनले त्यस्ता घटनाप्रति दुःख व्यक्त गरेका छन्।

आईजीपी कार्कीले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक भाषण वा अभिव्यक्ति दिने तथा कानुन उल्लङ्घन गर्ने गतिविधिले कसैको पनि हित नगर्ने स्पष्ट पारेका छन्।

उनले संवेदनशील परिस्थितिमा यस्ता गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन बढाउने खतरा रहेको उल्लेख गर्दै अफवाह र घृणाको साटो विवेक, संयम र सद्भावको बाटो रोज्न सबैलाई आग्रह गरेका छन्।

“यस्ता गतिविधिहरूले समाजमा तनाव, अविश्वास र विभाजन मात्र बढाउँछन्। यो संवेदनशील समयमा अफवाह र घृणाको साटो विवेक, संयम र सद्भावको बाटो रोज्नु हामी सबैको साझा कर्तव्य हो,” आईजीपी कार्कीले भनेका छन्।

नेपाल प्रहरीका तर्फबाट अपील गर्दै महानिरीक्षक कार्कीले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न तथा राष्ट्रिय एकता र आपसी भाइचारालाई अझ मजबुत बनाउन सबै नागरिकबाट सहयोगको अपेक्षा गरेका छन्।

उनले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट प्राप्त कुनै पनि अपुष्ट सूचना तथा उत्तेजक सामग्री तत्काल विश्वास नगर्न र त्यसलाई थप प्रचार–प्रसार नगर्नसमेत सचेत गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button