
राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटवार्ता गर्नुहुँदै प्रधानमन्त्री वालेन्द्र शाह । तस्बिर : राष्ट्रपतिको कार्यालय
अशोक अधिकारी
घटनाको छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने छ । घटनामा संलग्न दोषी जोकोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।
सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्ने दायित्व छ ।
धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो । संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन । सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो ।
काठमाडौँ, साउन १५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले शान्ति सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने वा सदियौँ पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत रहेको प्रस्ट पार्नुभएको छ । कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा प्रदर्शनका क्रममा झडप भएपछि बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सामाजिक सद्भाव खलबल्याउने गतिविधिमाथि कडा कदम चालिने बताउनुभएको हो ।
उहाँले प्रत्येक नागरिकको जिउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहने छ । प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्र अहोरात्र खटिने छन् ।”
प्रधानमन्त्री शाहले केही दिनअघि सुनसरीको देवानगन्ज, सिरहालगायत स्थानमा भएका दुःखद घटना र त्यसपछि केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको जानकारी दिनुभयो । उहाँले यो दुःखद घटनामा परी निधन भएका नागरिक जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभयो । उहाँले घटनामा घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायलाई स्पष्ट निर्देशन दिइसकिएको बताउनुभयो ।
प्रधानमन्त्री शाहले घटना भएलगत्तै सबै सुरक्षा निकायले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेको प्रस्ट पार्नुभयो । उहाँले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने छ । घटनामा संलग्न दोषी जोकोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ।” प्रधानमन्त्री शाहले अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीयस्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील रहेको प्रस्ट पार्नुभयो ।
परिस्थिति सामान्यीकरण गर्न केन्द्रस्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरु, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वसँग निरन्तर संवाद भइरहेको छ।”
प्रधानमन्त्री शाहले स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायका उच्च अधिकारीसहित घटनास्थलतर्फ प्रस्थान गर्नुभएको जानकारी दिनुभयो । उहाँले देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर परिस्थिति अनुसारका आवश्यक निर्णय गरिसकिएको बताउनुभयो ।
‘प्रतिशोध न्यायसङ्गत हुँदैन’
प्रधानमन्त्री शाहले देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसङ्गत नहुने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो इतिहास साक्षी छ, कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रा सबैभन्दा ठुला शक्ति बनेका छन् ।”
सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्ने दायित्व रहेको पनि प्रधानमन्त्री शाहले स्मरण गराउनुभयो । उहाँले नेपालको संविधानले प्रत्येक नागरिकलाई आआफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको उल्लेख गर्दै यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो । संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन । सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो ।”
आधिकारिक सूचना लिन आग्रह
प्रधानमन्त्री शाहले संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबिच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचारप्रसार नगर्न र नगराउन अनुरोध गर्नुभएको छ । उहाँले सरकारी निकायबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न विशेष आग्रह गर्नुभयो ।
उहाँले सम्बोधनको अन्त्यमा मैथिली भाषामा पनि नागरिकलाई शान्ति र सामाजिक सद्भावका लागि अपिल गर्नुभयो । उहाँले भन्नुभयो, “हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार सञ्चारके माध्यम सबके धैर्यता आ संयमता अपनाक शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राखके लेल सरकारके तरफ सँ हार्दिक अपिल करहल छी।”
राष्ट्रपति र उपराष्ट्रपतिसँग प्रधानमन्त्रीको संवाद
राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहीबार साँझ भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार राष्ट्रपति पौडेलसँग भेट गर्न प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय शीतल निवासमा जानुभएको हो । भेटवार्ताका क्रममा उहाँहरूबिच मुलुकको समसामयिक विषयमा छलफल भएको छ ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहसँग मुलुकका विभिन्न भागमा भएको विषम् घटना र परिस्थितिका बारेमा जानकारी लिनुभयो । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई बिहीबार शीतल निवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराउनुभयो । भेटमा राष्ट्रपति पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव कायम गर्न सुझाव दिनुभयो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधानमन्त्री शाहले बिहीबारै टेलिफोनमार्फत संवाद गर्नुभएको छ । उहाँहरूबिच मुलुकको वर्तमान अवस्थाबारे कुराकानी भएको छ । प्रधानमन्त्रीका सञ्चार सहजकर्ता बजगाईका अनुसार संवादका क्रममा आपसी समन्वय र राष्ट्रिय हितका विषयमा विचार विमर्श भएको छ ।
सुरक्षाबारे विस्तृत समीक्षा
प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार राष्ट्रिय सुरक्षा परिषद्को ४३ औँ बैठक सम्पन्न भएको छ । बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा सार्वजनिक शान्ति कायम राख्न सुरक्षा निकाय र सम्बन्धित सबै सरोकारवालाबिचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकमा साउन १० गते सुनसरीमा भएको घटनासहित मुलुकको समग्र सुरक्षा अवस्थाबारे विस्तृत समीक्षा गरिएको थियो । परिषद्का तर्फबाट प्रस्तुत ब्रिफिङमा राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, प्रशासन तथा सुरक्षा निकायको संयुक्त प्रयासबाट सुनसरीको अवस्था क्रमशः सामान्यतर्फ उन्मुख भएको जानकारी गराइएको थियो ।
सुरक्षा परिषद्का सदस्यसचिव तथा रक्षा सचिव केदारनाथ शर्माका अनुसार बैठकले यस्ता प्रकृतिका घटना पुनः दोहोरिन नदिन सबै सरोकारवाला निकायबिच निरन्तर समन्वय, संवाद र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ । परिषद्ले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकता तथा सार्वजनिक सुरक्षामा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधिप्रति सुरक्षा निकायलाई थप सतर्क रहन निर्देशन दिएको छ ।
बैठकले मनसुनजन्य विपत्को जोखिमलाई मध्यनजर गर्दै खोज, उद्धार, राहत तथा पुनः स्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबिच समन्वय सुदृढ गर्ने निर्णय पनि गरेको छ । विपत्का समयमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन, प्रभावित नागरिकलाई तत्काल राहत तथा आवश्यक सेवा उपलब्ध गराउने विषयमा विशेष जोड दिइएको परिषद्ले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री शाह, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल सरकारका मुख्य सचिव गोविन्द कार्की तथा प्रधान सेनापति अशोक सिग्देल सहभागी हुनुहुन्थ्यो ।गोरखापत्र दैनिकमा खबर छ ।



