
भउचप्रसाद यादव
काठमाडौँ, भदौ ७ गते । सहरी क्षेत्रमा सवारीसाधन तीव्र रूपमा बढ्दै जाँदा प्रदूषण र ट्राफिक जाम मुख्य चुनौती बनेको छ । यसले नगरवासीको स्वास्थ्य र दैनिकीमा गम्भीर असर पारिरहेको छ । उपत्यका तथा ठुला सहरको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) हानिकारक तहमा पुगेको तथ्याङ्क छ ।
पुराना र अत्यधिक सवारीसाधनले विषाक्त धुवाँ फाल्दा श्वासप्रश्वास, मुटुरोग र मानसिक तनावका बिरामी बढेका छन् । त्यसै गरी जथाभाबी हर्न बजाउने प्रवृत्तिले सहरीक्षेत्र कोलाहलपूर्ण बन्दै गएको छ । सडकको क्षमताभन्दा बढी सवारीसाधन हुँदा दैनिक घन्टौँ जाम हुन्छ । काठमाडौँ उपत्यकामा अहिले दुईदेखि तीन किलोमिटर यात्रा गर्दा करिब १० मिनेट जाममा बस्नुपर्ने बाध्यता छ । यसले समय र इन्धन दुवैको बर्बादी गराइरहेको छ । काठमाडौँलगायत मुलुकका अन्य सहरमा पनि जाम र सवारीसाधनबाट सृजित प्रदूषण घटाउन यहाँका चोकको सुधार आवश्यक रहेको सरोकारवालाको सुझाव छ ।
सडक विभागका पूर्वमहानिर्देशक इन्जिनियर नरेश शाक्यले सवारीसाधनको सङ्ख्या बढेको अनुपातमा सडकको लम्बाइ वा चौडाइ बढाउने प्रावधान संसारको कुनै पनि ठाउँमा नरहेको र त्यो सम्भव पनि नहुने स्पष्ट पार्दै भएका सडक र चोकको सुधारको विकल्प नरहेको बताउनुभयो । सडकको लम्बाइ र चौडाइ बढाउँदैमा ट्राफिक व्यवस्थापन नहुने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापनका लागि सडक चोकको सुधार पहिलो प्राथमिकतामा राख्नु प¥यो । केही वर्षयता चोकमै धेरै समय लागेको अवस्था छ । काठमाडौँको कलङ्की चोककै उदाहरण लिने हो भने त्यहाँ ‘अन्डरपास’ निर्माण नहुँदासम्म बल्खुदेखि सीतापाइला र ढुङ्गेअड्डादेखि सोल्टीमोडसम्म जाम हुन्थ्यो तर अहिले त्यस्तो अवस्था छैन । एउटा चोकमा ‘अन्डरपास’ हुँदा सो क्षेत्रकै ट्राफिक जाममा व्यापक सुधार आएको छ ।” सडक जाम कम भएपछि सवारीसाधनबाट सृजित हुने प्रदूषणमा पनि कमी आउने उहाँको भनाइ छ ।
नयाँ बानेश्वर चोकको उदाहरण दिँदै उहाँले भन्नुभयो, “नयाँ बानेश्वर चोकमा १० लेनकै सडक निर्माण गरे पनि माइतीघरबाट तीनकुने जाने सवारीसाधनलाई नपठाएसम्म शङ्खमूलबाट मध्यबानेश्वर जाने सवारीसाधन पठाउन मिल्दैन । तबसम्म सवारीसाधन कुर्नुपर्ने अवस्था रहन्छ । सो चोकमा ‘अन्डरपास’ वा ‘ओभरपास’ निर्माण गर्ने हो भने सवारीसाधन रोक्नु पर्दैन । त्यहाँ सवारीसाधन रोक्नु नपरेमा माइतीघरदेखि तीनकुने र शङ्खमूलदेखि मध्यबानेश्वरसम्मको ट्राफिक व्यवस्थापनमा सहज हुन्छ ।” यसै गरी राजधानीका चोक सुधार गर्दै जाने हो भने सवारीसाधनको सङ्ख्या बढ्दै गए पनि जामको समस्या न्यून हुँदै जाने उहाँको भनाइ छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले काठमाडौँलगायतका सहरमा ट्राफिक व्यवस्थापनको सहजता र वायुप्रदूषण घटाउन निजी सवारीसाधनको सङ्ख्या न्यूनीकरण र सार्वजनिक यातायातलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला दुईपाङ्ग्रे सवारीसाधनको न्यूनीकरण गर्नु प¥यो । काठमाडौँ उपत्यकामा निजी सवारीसाधन २३ लाख पुगिसक्यो । निजी सवारीसाधन खरिदमा नियन्त्रण गरिएन भने काठमाडौँमा जामले आँधीबेहरी ल्याउन सक्छ । निजी सवारीसाधनको दर्ता रोक्नु प¥यो, सार्वजनिक सवारीसाधनको होइन ।”
अन्य मुुलुकको तुलनामा पर्याप्त सडक
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति तथा यातायातविज्ञ इन्जिनियर आशिष गजुरेलले विश्वका अन्य मुलुकको तुलनामा नेपालमा भएका सवारीसाधनका लागि प्रशस्त सडक पूर्वाधारको विकास भए पनि सवारीसाधन सहरकेन्द्रित भएका कारण ट्राफिक जाम र प्रदूषण बढी देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य मुलुकमा रहेका सवारीसाधन देशभरि नै छरिएर रहेका हुन्छन् तर यहाँका सवारीसाधन केही सहरमा मात्र थुप्रिएका र त्यहाँ बढी चाप हुुनुका साथै ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ ।” अहिले नेपालभरि कुल ५८ लाख सवारीसाधनको दर्ता छ भने एक लाख किलोमिटरभन्दा बढी सडक सञ्जाल सञ्चालनमा छन् ।
“काठमाडौँ उपत्यकामा सडकमा मात्र १५ लाख सवारीसाधन गुड्छन् तर मनाङ, मुस्ताङलगायतका हिमाली र कतिपय पहाडी जिल्लाका सडक र राजमार्गमा सवारीसाधन नै भेटिँदैनन् । कतिपय गाउँबस्ती सडक सञ्जालले जोडिएका छन् तर त्यहाँ सवारीसाधन छैनन्,” उहाँले भन्नुभयो, “यदि सवारीसाधन मुलुकको हरेक ठाउँमा समानुपातिक वितरण गर्ने हो भने केही सहरमा देखिएको सवारीसाधनको चाप स्वतः घटेर जान्छ तर जहाँ जनघनत्व हुन्छ, त्यहाँ नै सवारीसाधनको चाप हुने स्वाभाविक हो ।”
‘कार फ्री जोन’ बनाउन प्रस्ताव
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तयार पारेको ‘काठमाडौँ भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान’ मा काठमाडौँ उपत्यकाका प्रमुख ऐतिहासिक तथा सांस्कृतिक र व्यापारिक क्षेत्रलाई ‘कार फ्री जोन’ बनाउन प्रस्ताव गरिएको छ । काठमाडौँको वसन्तपुर र ठमेल तथा ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रलाई ‘कार फ्री जोन’ बनाउन प्रस्ताव गरिएको पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले जानकारी दिनुभयो । त्यसै गरी विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई साइकल लेनले जोड्ने योजना अन्तर्गत काठमाडौँमा ५८ किलोमिटर सडकमा डेडिकेटेड साइकल लेन बनाउने प्रस्ताव गरिएको छ । यी तीन क्षेत्रमा ‘कार फ्री जोन’ कार्यान्वयन भइसकेपछि यहाँको ट्राफिक व्यवस्थापन सहज हुने विश्वास गरिएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।



