
भउचप्रसाद यादव
काठमाडौँ, असोज २९ गते । तीव्र रूपमा बढ्दै गएको जनसङ्ख्याको चापलाई सडक यातायातले मात्र धान्न नसक्ने अहिलेको अवस्थामा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित ‘रत्नपार्क–भक्तपुर मेट्रो रेल’ परियोजना अगाडि बढाइएको छ ।
सरकारले यस परियोजनालाई अगाडि बढाउन ‘काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना २०५०’ तयार गरी सार्वजनिकसमेत गरिसकेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा तीन वर्ष लगाएर सो गुरुयोजना तयार गरिएको हो ।
पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा विकास सहायता समन्वय महाशाखा प्रमुख सुशीलबाबु ढकालले काठमाडौँ उपत्यकाको यातायात प्रणालीको सुधार गर्न जाइकाको सहयोगमा गुरुयोजना तयार पारिएको र सोही गुरुयोजना अन्तर्गत ‘रत्नपार्क–भक्तपुर मेट्रो रेल’ परियोजनालाई अगाडि बढाइएको जानकारी दिनुभयो ।
अहिलेको विद्यमान अवस्थालाई मात्र नभएर भविष्यको ट्राफिक माग, भविष्यमा हुने जनसङ्ख्या वृद्धि र बजार विस्तारको आकलनलगायत विषयलाई समेटेर सो गुरुयोजना तयार पारिएको बताउँदै उहाँले ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन साना सवारीसाधनलाई ठुला सवारीसाधनबाट विस्थापित गर्नु पर्छ भन्ने गुरुयोजनाको सुझाव अनुसार ‘रत्नपार्क–भक्तपुर मेट्रो रेल’ परियोजना अगाडि बढाइएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार गुरुयोजनाले काठमाडौँको कुन कुन ठाउँमा मेट्रो रेल, कुन ठाउँमा बस ¥यापिड ट्रान्जिट (बिआरटी) बनाउनेलगायत सुझाव दिएको छ ।
छ महिनाभित्र प्रतिवेदन
गुरुयोजनाले पहिलो चरणमा काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको जगातीसम्म मेट्रो रेल सञ्चालन गर्न सुझाव दिएको जानकारी दिँदै महाशाखा प्रमुख ढकालले भन्नुभयो, “गुरुयोजनाले सो मार्ग (एलाइनमेन्ट) मा मेट्रो रेल उपयुक्त हुन्छ भने पनि त्यसको सञ्चालन सम्भव छ÷छैन, सामाजिक तथा वातावरणीय प्रभावलगायत विषयमा सम्भाव्यता अध्ययन आवश्यक छ । त्यसै अनुसार जाइकाले टोली खटाएर अध्ययन सुरु गरिसकेको छ ।”
उहाँका अनुसार जाइकाको टोलीले मेट्रो रेल निर्माण गर्ने क्रममा कस्ता कस्ता संरचना निर्माण गर्नु पर्छ, ती संरचना बनाउँदा के असर गर्छ, वित्तीय हिसाबले प्रतिफल दिने खालका हुन्छन् कि हुँदैनन्, प्रतिफलमूलक बनाउन के के गर्नु पर्छ ? लगायत विषयमा समग्र अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाउने छ । प्रतिवेदन दिएपछि मात्र ‘रत्नपार्क–भक्तपुर मेट्रो रेल’ परियोजना कार्यान्वयनमा जान सक्छ । टोलीले अबको छ महिनाभित्र प्रतिवेदन बुझाउने छ ।
प्रस्तावित उक्त मेट्रो रेल कसरी, कुन डिजाइनमा निर्माण गर्ने विषय विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारपछि मात्र स्पष्ट हुने बताउँदै सहसचिव ढकालले अहिले गुरुयोजना अनुसार भक्तपुरको जगातीदेखि अरनिको राजमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छेउसम्म जमिनमाथि, विमानस्थल क्षेत्रमा जमिनभित्र, विमानस्थलदेखि माइतीघरसम्म जमिनमाथि र माइतीघरदेखि रत्नपार्कसम्म जमिनमाथि उक्त मेट्रो रेल निर्माण गरी सञ्चालन गरिने गुरुयोजनामा उल्लेख गरिएको जानकारी दिनुभयो ।
त्यसै गरी सम्भाव्यता अध्ययनका क्रममा प्रस्तावित मेट्रो रेलमार्गको कहाँ कहाँ ‘डिपो’ बनाउने, कहाँ कहाँ ‘हल्ट’ बनाउने, कहाँ कहाँ स्टेसन बनाउने, यात्रु चढ्ने र ओर्लने कसरी बनाउने, कस्तो पार्किङ क्षेत्र बनाउनेलगायत विषयमा समेत प्रतिवेदन बुझाउने उहाँले बताउनुभयो ।
सतहत्तर किलोमिटरमा मेट्रो रेल
काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन तथा सुन्दर र स्वच्छ सहर निर्माण गर्ने उद्देश्यसहित एक दशकदेखि काठमाडौँमा मेट्रो तथा मोनो रेल सञ्चालन गर्ने विषय चर्चामा रहे पनि यस क्षेत्रमा देखिने गरी उपलब्धि भएको देखिँदैन । काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन गर्न सकिने सम्भाव्यताबारे सन् २०१२ मा नै कोरियन कम्पनी चुङसुङ इन्जिनियरिङले सम्भाव्यता अध्ययन गरेको थियो । सो अध्ययन प्रतिवेदनले सम्भव देखाएका अधिकांश ‘एलाइनमेन्ट’ को आजसम्म पूर्वसम्भाव्यता अध्ययनसमेत हुन सकेको छैन ।
सो अध्ययनले काठमाडौँ उपत्यकाको कुल ७७ किलोमिटर सडकखण्डमा मेट्रो रेल सञ्चालन गर्न मिल्ने देखाएको थियो, जसमध्ये कुल ५२ किलोमिटरमा आकासे र २५ किलोमिटरमा भूमिगत मेट्रो रेलको सम्भावना देखाएको थियो ।
प्रतिवेदनले सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोक १२ किमी, कीर्तिपुर–कालीमाटी– नयाँ बानेश्वर– विमानस्थल ११ किमी र कोटेश्वर– चाबहिल– स्वयम्भू २९ किमीमा आकासे तथा स्वयम्भू– डिल्लीबजार– बौद्ध १२ किमी र धोबीघाट– सिंहदरबार– नक्साल– गोङ्गबु १४ किमीमा भूमिगत बनाउन सिफारिश गरेको थियो ।
विभिन्न यातायातका साधनको तुलना गर्दा बसमा प्रतिघण्टा प्रतिलेन आठ हजार व्यक्तिले यात्रा गर्न सक्छन् । केवल मेट्रोमा प्रतिघण्टा प्रतिलेन दुईदेखि तीन हजार यात्रुले यात्रा गर्न सक्छन् तर मेट्रो रेलमा प्रतिघण्टा प्रतिलेन २५ देखि ५० हजार यात्रु यात्रा गर्न सक्छन् ।
अबको ५० वर्षको यातायातको सहज व्यवस्थापनका लागि प्रतिघण्टा ५० हजार यात्रुले छिटो समयमा यात्रा गर्न सक्ने भूमिगत काठमाडौँ मेट्रोको निर्माण गर्नुको अर्को कुनै विकल्प हुन नसक्ने रेल विभागको दाबी छ । भूकम्प जाँदा जमिनमाथिको संरचनाभन्दा जमिनमुनिको संरचना बढी सुरक्षित हुने भएकाले भूकम्पीय दृष्टिकोणले अति जोखिमपूर्ण अवस्थामा रहेको काठमाडौँ उपत्यकामा भू–मार्गभन्दा सुरुङमार्ग सुरक्षित हुने देखिएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।



