
फाइल तस्बिर
काठमाडौँ, असोज २९ गते । भोटेकोशी–त्रिशूलीमा आएको बाढीले बालबालिकाले अभिभावक गुमाउँदा उनीहरूको दैनिकी नै परिवर्तन भएको छ । एकातिर साथीभाइसँगको बिछोड अर्कातर्फ विद्यालय जान नपाएको पीडा । बाढी प्रभावित बालबालिका यतिबेला काठमाडौँका विभिन्न गुम्बामा आश्रय लिएर बसिरहेका छन् ।
काठमाडौँमा गोसोक गुम्बा, मुस्ताङ गुम्बा र नुब्रो समाज गुम्बा गरी तीन वटा गुम्बामा बालबालिकालाई राखिएको छ । ती गुम्बामा २८६ जना बाढी प्रभावित बालबालिका रहेका छन् । जसमध्ये आमाबुवा दुवै गुमाएका बालबालिकाको सङ्ख्या ११ छ । आमा मात्र गुमाएका बालबालिका १९ तथा बुवा गुमाएका १०६ जना छन् । यसै गरी बुवाआमा जीवितै भए पनि १५० जना बालबालिका आश्रय लिएर गुम्बामा बसेका छन् ।
गुम्बामा बालिकाको सङ्ख्या धेरै छ । राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बाढीपछि सरोकारवालासँगको समन्वयमा काठमाडौँका तीन वटा गुम्बामा बालबालिका राखिएको बताउनुभयो ।
काठमाडौँको स्वयम्भूमा रहेको पहेँलो गुम्बाका सञ्चालक ग्युर्मी तामाङले भोटेकोशी बाढी प्रभावित रसुवाका विभिन्न बालबालिकालाई गुम्बामा आश्रय दिइरहेको बताउनुभयो । “रसुवा बाढी प्रभावित धेरै जसो बालबालिका हाम्रो गुम्बामा रहेका छन् । उनीहरूको सम्पूर्ण रेखदेख हामीले गरिरहेका छौँ,” तामाङले भन्नुभयो । सूचना अधिकारी चन्दले जन्मदर्ता तथा नागरिकता गुमाएका बालबालिकालाई स्थानीय तहबाटै सम्बन्धित स्थानीय बालअधिकार समिति तथा बालकल्याण अधिकारीको सिफारिसमा छोटो प्रक्रियाबाट निःशुल्क प्रतिलिपि दिइने छ । यसै गरी पढाइलेखाइलाई निरन्तरता दिन आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइने छ ।
उहाँका अनुसार परिवार भएसम्म परिवारलाई नै आवश्यक सहयोग गरी दीर्घकाल संरक्षण एवं व्यवस्थापन गर्ने सरकारको तयारी छ । पारिवारिक वातावरणमा बालबालिकाको संरक्षण गर्ने सम्भावना नभएमा मात्र परिवारमा आधारित हेरचाह गर्ने संस्थामा र अन्तिम विकल्पका रूपमा संस्थागत हेरचाह र संरक्षणको व्यवस्था मिलाइने छ ।
यसबाहेक विशेष संरक्षणको आवश्यकता भएका बाढी प्रभावित बालबालिकालाई ललितपुरको ठेचोमा स्थापना गरिएको अस्थायी संरक्षण सेवा केन्द्रको सेवा लिन आवश्यक भएमा सरोकारवाला निकायले राष्ट्रिय बालअधिकार परिषद्लाई सिफारिस गरी सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।
गोरखापत्र अनलाइन



