
गोविन्द न्यौपाने
मध्यरातमा लगातार बज्ने विभिन्न प्रकारका साइरन, मानिसको कोलाहल र युद्धलाई नै बिर्साउने गरी पड्किने पटाकाको आवाज अहिले सुरु भइसकेको छ। यो अवस्था कुनै युद्ध क्षेत्रको होइन, झापाको मेचीनगर, पूर्वोत्तर बाहुण्डाँगी क्षेत्रमा भारतबाट नेपाल प्रवेश गर्ने जंगली हात्तीका कारण उत्पन्न अवस्था हो।
यो समस्या बाहुण्डाँगीमा मात्र सीमित छैन। मित्र दीपक ढकालका अनुसार मेचीनगर १४ दुहागढी र चन्द्रगढीका केही भागमा पनि यस्तै अवस्था छ। धानबाली खेतमा हुँदासम्म हरेक रात यस्तै त्रासमा यहाँका मानिसको जीवन बित्छ। बालबालिका र वृद्ध मात्र होइन, वयस्क समेत राम्ररी सुत्न सकेका छैनन्। । बिहानै सञ्चालन हुने उच्च मावि प्लस टु कक्षाका कारण विद्यार्थीलाई बिहान विद्यालय जाँदा हात्तीसँग जम्काभेट हुने हो कि भन्ने ठूलो त्रास छ। कतिपय उच्च माविका कक्षाहरु क्रमशः बन्द हुने अवस्थामा पुगिसकेका छन्।
विशेष गरी मकै पाक्ने जेठ(असार र धान पाक्ने असोजदेखि मंसिरसम्म साविक बाहुण्डाँगी भारतीय क्षेत्रबाट आउने जंगली हात्तीको चरण क्षेत्र बनेको छ। अहिले साँझ नपर्दै मेची किनारमा हुलका हुल हात्ती देखिन्छन्। आफ्नो बाली जोगाउन किसानहरु बेलैमा खाना खाएर मेची किनारमा बनाइएका टुङ (मचान) मा रात बिताउन बाध्य छन्। घरमा बसेका परिवार भने हात्ती धपाउन गएको सदस्य सकुशल फर्कन्छ कि फर्कँदैन भन्ने त्रासमा निदाउन सक्दैनन । बाली जोगाउन उनीहरुसँग एउटा टर्च, केही थान पटाका र आत्मविश्वास बाहेक केही छैन।
पहिले हात्तीको हुल खेदाउन प्रयोग गरिने ट्याक्टर आजभोली देखिँदैन। ठूला जमिनदारसँग हुने ट्याक्टरहरु छैनन्, किनकि उनीहरुले अन्नबालीको विकल्पमा चिया खेती गरिसके। ऋण गरेर किनिएका साना व्यवसायीका ट्याक्टरहरु नदीजन्य सामग्रीको ट्रिपर सिन्डिकेटको मारमा परेर न्यून मूल्यमा बिक्री भइसके। सबै ट्याक्टर व्यवसायी बैंकको किस्ता बुझाउन विदेशमा पसिना बगाउन बाध्य छन्।
मेचीनगर ४ र १ को चौकीलाइन र माथिल्लो भेगमा झुल्ने धानका बालाहरुले दिने भरोसा अब हराएको छ। मंसिरमा सुनौलो र मनमोहक देखिने फाँटहरु अहिले चिया र तेजपात जस्ता वनस्पतिका कारण जंगलमा परिणत भइसकेका छन्। हात्तीबाट हुने क्षतिले धान र मकै बालीमा गरेको मजदुरी समेत नउठ्ने भएपछि कसैले चिया र तेजपत्ता लगाएका छन तर निम्न आय भएका केही किसान भने हात्तीसँग निहत्था संघर्ष गरेर पनि अन्न खेती गरिरहेका छन्।
हात्तीको प्रवेशलाई निरुत्साहित गर्न मेची किनारमा लगाइएको करिब १७ किलोमिटर सौर्य तारबारको अवस्था चुस्त हुने हो भने पनि किसानले केही राहत महसुस गर्ने थिए। तर समुदायको जिम्मा लगाइएको यो तारबार चुस्त हुन सकेको छैन। यसमा प्रयोग हुने तार, ब्याट्री र इनरजाइजर अद्यावधिक राख्नुपर्नेमा त्यो हुन सकेको छैन। मर्मत सम्भारका लागि दिइएको बीउ पुँजी समेत निरन्तर घट्दै गएको छ। स्थानीय, प्रदेश सरकार र प्रकृति संरक्षण कोषले दिने मर्मत अनुदान समयमा नआउने, आए पनि खरिद प्रक्रिया पु¥याउन समय लाग्ने भएकाले समयमा मर्मत हुन सकेको छैन। यो कुरा आम किसानलाई थाहा छैन।
हात्तीबाट हुने क्षतिको वर्षेनी दिइने क्षतिपूर्ति समेत अब यस क्षेत्रमा रोकिने पक्का भएको छ। हाल यस क्षेत्रमा घर(गोठ र अन्नबालीको क्षतिको जोखिम वहन गर्ने नाममा बिमाको प्रावधान ल्याइएको छ। हरेक घरले बिमा गरे क्षतिपूर्ति पाइने, नगर्नेहरुले कुनै पनि क्षति नपाउने पक्का छ। पहिलो वर्ष बिमा प्रिमियमको ठूलो हिस्सा सरकार र दातृ निकायले बेहोर्ने, दोस्रो र तेस्रो वर्ष अनुदान कम गर्ने र चौथो वर्षदेखि सबै प्रिमियम किसानले नै बेहोर्नुपर्ने प्रावधानले सरकारले क्षतिपूर्तिको जिम्मेवारी बिमा कम्पनीलाई सुम्पेर आफू पन्छिने पक्का भएको छ।
विश्वव्यापी रुपमा जोखिम वहन गर्ने बिमा एक उत्तम उपाय हो भन्नेमा शंका छैन। तर यहाँको अवस्था फरक छ। बिमाको प्रिमियम उमेर अनुसार, वस्तुको मूल्य अनुसार फरक हुनुपर्ने हो, तर यहाँ हरेक किसानका लागि समान प्रिमियम लागू हुने छ। धेरै जमिन भए पनि थोरै भए पनि बराबर प्रिमियम हुनु न्यायोचित होइन, किनकि क्षतिपूर्ति क्षतिको आधारमा दिने तर प्रिमियम बराबर राख्नु गलत हो। यस विषयमा केही सोचिएको देखिँदैन।
हरेक निर्वाचनमा यस क्षेत्रमा किसानले भोग्दै आएको हात्ती समस्या समाधान गरिने विश्वास बाँडिन्छ। यही आशा र भरोसामा यहाँका नागरिकले मत दिएका छन्। तर हरेक निर्वाचित नेतृत्वले हात्ती समस्या समाधानका लागि बेलामौकामा संसददेखि अन्य मञ्चहरुमा आवाज उठाए पनि कुनै तात्विक फरक देखिएको छैन।
तपाईंहरुको निर्वाचित पद केही समयका लागि मात्रै हो, त्यो स्थायी हुँदैन। तर किसानहरु स्थायी रुपमा हुन्छन्, जो वर्षौंदेखि कृषि कर्ममा लागेका छन्। उनीहरुको मेहनतमा नै हामी बाँचेका छौं। किसानले अन्न उत्पादन नगरे के खाने भन्ने बारेमा कहिल्यै छलफल भएको छैन। अहिले नै अन्न उत्पादन घटेका कारण खाद्यान्न र तरकारी आयात हुने गरेको छ। दैनिक रुपमा भारतबाट खरिद गरी ल्याइने सामग्रीका लागि सीमामा पाइने दुःख र हण्डर बयान गरी साध्य छैन।
न पद स्थायी हुन्छ, न जीवन नै। पद समाप्त भएपछि यही किसानहरुका माझमा बस्नुपर्ने होला। तपाईंहरु सहअस्तित्व भन्नुस् या द्वन्द्व न्यूनीकरणका लागि करिडोरको कुरा गर्नुहोस, आखिर त्यसको मार किसानले नै खेप्ने हो। तपाईंहरुको कामले नै तपाईंलाई समाजमा पूँजीकृत गर्ने हो। जीवन त एक दिन जान्छ नै भन्ने सोचेर किसान र मानव(वन्यजन्तु द्वन्द्वको मारमा पिल्सिएका नागरिकका पक्षमा खडा हुने कि?



