
डम्बर बराल
काँकरभिट्टा / साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको प्रतिमा निर्माण गरिएको देवकोटा पार्क परिसरमा देवकोटा जयन्ती मनाइने भएको छ ।
देवकोटा १ सय ११ औं जन्म जयन्ति समारोहलाई विशिष्ट ढंगबाट मनाउन आवश्यक तयारी तीव्र पारिएको देवकोटा पार्क व्यवस्थापन समिति र कार्यक्रम आयोजक समितिले जनाएको छ ।
देवकोटाको जन्म जयन्तिको अवसरमा यहि कात्तिक १० गते लक्ष्मी पूजाका दिन पार्कस्थलमा साहित्यिक कार्यक्रम र रात्रीकालीन साँगीतिक कार्यक्रम आयोजना गरिने आयोजक समितिका अध्यक्ष बाककृष्ण थापाले बताए ।
साहित्यिक समारोहमा भाग लिन नेपाल तथा भारतका विभिन्न विधाका साहित्यकारहरुको जमघट हुने उनको भनाई छ । उक्त समारोहको उद्घाटन एक नम्बर प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतले गर्ने बताइएको छ । रात्रीकालिन कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च पूर्वानूमान गरिएको आयोजकको भनाई छ । त्यसका लागि मेचीनगर नगरपालिका, ६ नम्बर वडा कार्यालय र र स्थानीय दाताहरुबाट आर्थिक संकलन सुरु गरिएको अध्यक्ष थापा बताउँछन्।
जन्म जयन्ति विशेष समारोहलाई लक्षित गरेर सरसफाई, रंगरोगन, झिलिमिली बत्तीलगायतले देवकोटा पार्क परिसर सुसज्जित र आकर्षणको केन्द्रविन्दू बनेको छ ।
पार्क क्षेत्र सजिसजावट गरिरहँदा आन्तरिक तथा बाह्य आगन्तुकहरुको दृश्यावलोकनको एक मुख्य गन्तव्यका रुपमा पार्कले पहिचान स्थापित गरेको छ ।
समितिले पार्क परिसरमा फूलबारी गोडमेलदेखि रंङरोगनसँगै सयौं पाहुनालाई स्वागतका लागि आकर्षक मञ्चसँगै मञ्को आसपासमा विभिन्न फूलका गुच्छा र मालाले झकिझकाउ पारिने बताएको छ ।
संरक्षणको अभावमा केहीवर्ष अघिसम्म पार्कस्थल गौचरन, लागुऔषध प्रयोगकर्ता र तास खेल्नेहरु र फोहोरमैला फयाँक्ने डम्पिङ साइड बनेको थियो ।
तर, पछिल्लोसमय यस क्षेत्रका सचेत युवाहरुको अग्रसरतामा पार्क संरक्षणसँगै भौतिक संरचना निर्माण र आकर्षक पर्यटकीयस्थलका रुपमा परिणत गर्दै पर्यटन प्रवद्र्धन र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्दै अहिले नेपाल–भारत सीमावर्ती क्षेत्रका नागरिकको आकर्षक गन्तव्यस्थल बन्दै गएको छ ।
‘संरक्षणको अभावमा सुन्दर काँकरभिट्टा निर्माणका लागि पार्क चुनौति बनेको थियो’ अध्यक्ष थापाले भने–‘पहिला पार्क परिसरमा अर्धकदको शालिक थियो, शालिक पटक —पटक तोडफोड भयो ।’
पूर्णकदको शालिक निर्माणमा यस क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरुको महत्वपूर्ण सहयोग रहेको बताउँदै उनले भने–‘स्थानीय तहको त्यत्तिकै योगदान छ, राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज सबैको उत्तिकै योगदान छ ।’
पूर्वी प्रवेशद्धारमा देवकोटाको शालिकसँगै सु्न्दर पार्क निर्माणले सिंगो काँकरभिट्टाको काँचुली फेरिएको स्मरण गर्दै अध्यक्ष थापाले थपे–‘बढ्दो जनसंख्या र साँघुरिँदो सार्वजनिकस्थलको अभावलाई पार्कले केही न केही सहज बनाएको छ ।’janasamsadonline



