मूल खबरविचार

कमरेड बेलामै पो सोच्ने होकी ?


अहिले यस्तो लाग्छ के नेपालका कम्युनिष्टहरुले त्यो बेला भनेका कुरा मान्छेलाई भावानात्मक रुपमा बहकाउन मात्र गरिएको नाटक मात्र थियो त ? त्यो बेलाका कम्युनिष्टका अगुवाहरुको बोली र ब्यबहार जनताका अघि देखाउने झुठको कलाले परिपूर्ण गरिएको लिला मात्रै पो हो त ? कहिलेकाँही मनले भन्छ होइन उनीहरुको बोलीमा उति धेरै देखावटी र बनावटी चतुरे कला छैन । लाग्छ उनीहरुको जिवनको त्याग पनि त छ जसले जिवनको सम्पूर्ण समय देश र जनताका लागिनै लगाए फेरि मनले भन्छ के गरे त ? के गरे देशका लागि , के गरे जनताका लागि ?
हिजोदेखि आज सम्मको कम्युनिष्ट नेतृत्वको मार्ग चित्रलाई हेर्दा लाग्छ गर्छु भनेर लागेका मान्छेहरु तर गरे जनताका लागि भनेर राजनीति गरेका त्यो पनि सर्वहाराको नाममा तर गरे जे गरे आफ्नै लागि हिजोका संकल्प र अठोट पुरा गरे तर आफु र आफ्नै अगुवा र पछुवाहरुका लागि मात्रै गरे आजका दिनमा पनि जनतालाई उही सपनाको महल देखाईरहेकाछन् जो सधै त्यही सपनाको पर्खाईमा रहेकाछन् जो पुरा कसैले गर्दैनन् ।
गैर कम्युनिष्टहरुसँग मेरो यस लेखमा गुनासो पनि छैन हुनत कम्युनिष्टका नाममा रहेका पार्टी र त्यसका नेताहरुसँग पनि गुनासो गर्नुको अर्थ छैन किनपनि भने यो देशमा कम्युनिष्टका नाममा विद्रोह, संर्घष र आन्दोलन भए भन्दा पनि निर्धा र निमुखाका नाममा उनीहरु माथि घात गरिएका बेइमान नाटकको मञ्चन भएको रहेछ भन्दा कसैले रिसाउनु र यो सत्यतालाई ढाक्न कसैले अर्को कपटले भरिएको तर्क पेश गर्न आबाश्यक छैन जो आज घाम भन्दा पनि स्पष्ट देखिएको छ । ब्यक्तिगत रुपमा भन्दा मलाई अलिकति आशा थियो प्रचण्ड र नारायणकाजीबाट अर्थात उनीहरुको कमाण्डमा एक पटक सरकार बन्न सक्यो भने जसका लागि भनेर यो देशमा बिद्रोह,जनयुद्ध, आन्दोलन र संर्घष भएको थियो उनीहरुको जिवनमा एक प्रकारले देखिने गरि परिविर्तन आउँछ होला, तस्कर, माफिया, चाकडि, राजनीतिमा पसेको अपराधिकरणले जबरजस्त किनारा लाग्नु पर्छ र यी मान्छे मन र मस्तिष्कबाटै आन्दोलनमा होमिएका हुन् भन्ने । तर, यो पनि आफैलाईनै अर्को ठूलो भ्रम भन्ने लाग्न थालेको छ ।
अहिले नेपालमा कम्युनिष्ट नाम गरेको सरकार बिराजमान छ, अहिले पनि बेलाबेला जनता र देशका लागि केही गर्ने भनेको कम्युनिष्ट हो भन्ने सुनिन्छ लाग्छ सरकारको काम हे¥यो भने आफ्नो भजन मण्डली बाहेकलाई यो सरकारको महशुष भएको शायदै सरकारकै पार्टीमा पनि होला कि नहोला । दोबाटोमा सलाई र साबन राखेर गुजारा गर्ने दुखिया नेपालीले तैँ चुप मैँ चुपका तालमा कर तिर्नु पर्छ तर हेमानका महाजनहरुले अरबौँ तिर्न नर्पने सौभाग्य प्राप्त गर्दछ । तस्करी ,माफियागिरि, र छोटा डनहरुको जगजगी छ फेरि देशमा सरकार कम्युनिष्टको छ ! लोकतान्त्रिक गणतन्त्र र कम्युनिष्ट सरकारको महशुष केही थान मान्छेहरुलाई पक्कै छ तर आम नागरिकमा औडाह बाहेक केही छैन र बाहिर आए अनुसार करिब सात दर्जन जनप्रतिनिधी ज्युहरु अहिले बिभिन्न आरोपमा तानिएकाछन् । कतिलाई सुनपानीले चोख्याउने खेलपनि शुरु भएको छ कतिको कर्तुत आउन बाँकी होला जो राजनीतिक दललेनै हिजो निर्वाचनमा योग्यको पदक र प्रमाणपत्र भिराएर पठाएका थिए। यसो भनिरहँदा मैले कम्युनिष्ट अर्थात सम्माननिय खड्गप्रसाद ओली ज्युको नेतृत्वको सरकारको बिरोध गरेको होइन मेरो कम्युनिष्टहरुप्रतिको गलत बुझाईको उद्घाटन मात्र गर्न खोजेको हुँ किनकी मलाई कम्युनिष्ट भनेको हेपिएका, पिल्सीएका, पछाडि पारिएका, भोका, घरबारबिहिन, निर्धा मान्छेहरुको पक्षमा काम गर्ने मान्छे हुन् भन्ने भ्रम र भा्रन्ति थियो । मलाई कम्युनिष्ट पार्टी भनेको शोषित र पीडीत जनताको मुक्तिका लागि लड्ने उनीहरुको पक्षमा काम गर्ने संगठन होला भन्ने लाटो बुझाई रहेको थियो । मलाई कम्युनिष्ट भनेका हेलाँहोचा परेका मान्छेका पक्षमा बोल्ने मान्छेहरुको समूह होला भन्ने मूर्ख बुझाई थियो तर आज बल्ल म त्यो भ्रमबाट मुक्त हुन पाएको सन्दर्भमात्र मैले उल्लेख गरेको हुँ ।
सरकारमा रहेको नेकपाकै कुरा गर्ने हो भने त्यो एउटै पार्टी जस्तो देखिए पनि गुट र उपगुटमा रहेको कुरा कसैले भन्न पर्दैन । नेकपा भित्रैकै अधिकांश नेता र कार्यकर्ता सरकारको कामकारबाहीबाट चित्त बुझाउने पक्षमा छैनन् । त्यही पार्टी भित्र एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने जुहारी पनि सुनिदैछ । स्पष्ट भन्न पर्दा दुईवटा फरक राजनीतिक सिद्धान्तबाट जोडिएको भनिएको नेकपामा अहिले पनि पूर्व एमाले र पूर्व माओवादी केन्द्रको धारनै देखिने गरि चलेको आभाष हुन्छ भने एमाले भित्र पनि खड्गप्रसाद ओलीको धारले एमालेका बाँकी गुटलाई ढिम्कन दिएको छैन । सरकार र नेकपा भित्रको अन्तर राजनीतिक चलायमानलाई मिहिन रुपमा हेर्ने हो भने सम्माननिय प्रधानमन्त्रि ज्युको समूहलेनै अहिले पार्टी र सरकारमा आफ्नो दबदबा कायम गरेको छ ।
भलै यो सरकार बहुमतको छ झण्डै दुईतिहाईको छ । यो सरकार कुनै अनौठो राजनीतिक खेल भएन भने पाँच वर्ष चल्छ तर ईतिहासमा कसैले न स्विकारे पनि कम्युनिष्टको बहुमतको सरकारका नामले दर्ज हुन्छ नै तर पहिलो वर्षलाई आधार वर्ष मानेको सरकारको आज सम्मको गतिविधिलाई नियाल्दा यसको भाका र पारा कम्युनिष्ट शैलीको मान्न सकिदैन हुन सक्छ सरकारमा रहेका मान्छे र यो पार्टीले भोलीका दिन कम्युनिष्टको परिभाषाको ब्याख्या फरक तरिका गर्न सक्लान तर गीत गाउने चरीको चुच्चोबाट थाहा हुन्छ भने झै पाँच वर्षको अवधिमा यसले के गर्ला र के नगर्ला भन्ने कुरा विहानले दिन देखाउँछ भने झै हेरिदै छ । केही मान्छे बाहेक धेरै ठूलो जनताको तप्का सरकारको जनमुखि सपना र योजनाबाट आजित भएकाछन् र भोलीका दिनमा यो सरकार कम्युनिष्टको सरकार भनेर लेखिएला तर आजको भारी बहुमतबाट अनुमोदित कम्युनिष्टलाई जनताले नामनै सुन्न नसक्ने चिजको रुपमा लिए भने के गर्ने ? विगतका कठोर दिनमा जनताले कम्युनिष्टलाई दिएको भावनात्मक वर्गीय प्रेम र अनवरतको साथ अनि समर्थन भोली तिरस्कारको पात्र जस्तो बन्यो भने के होला ?राजनीतिमा संभावना नहुने भन्ने फेरि पनि होइन कागजात र मौखिक भाषणका हिसाबले जनपक्षिय भन्ने हरुमा फेरि पनि कम्युनिष्ट हुँ भन्ने पार्टीहरुलनै गर्लान् नि त भन्ने आशा मारिहाल्नु पनि किन र ? तर जब सम्म सरकारमा ति मान्छेहरु पुग्दैनन् जसले भोक, प्यास, अन्याय अत्याचार,शोषण, उत्पीडन र बेघरबारको अवस्थालाई आफ्नो मनको ऐनामा हेर्न सक्दैनन् तब सम्म बहुसंख्यक जनताको आशामा तुषारो र सपनामा सपना मात्रै रहन्छ । यो मेरो नितान्त ब्यक्तिगत विचारनै हो भन्नु पर्छ बहुमतको सरकारको नेतृत्व एक पटक प्रचण्ड र नारायणकाजीहरुलेनै गर्नु पर्छ । अहिलेको सरकारको नेतृत्वको पुरै बेठिक भो भन्ने मेरो आशय होइन तर बिकल्पमा प्रचण्डले नेतृत्व लिदा केही राहत हुन्थ्यो कि भन्ने मात्र हो । हुनत खड्गप्रसाद ओलीको नेतृत्व र प्रचण्डको नेतृत्वमा सरकार गठन हुँदा के त्यस्तो फरक पर्छ भन्ने तर्क पनि आउला तर पछिल्लो समयमा प्रचण्डमा आएको परिवर्तनको प्रत्यक्ष अनुभुत नेपाली जनताले पाएको सन्दर्भमा प्रचण्डमा केही वर्गीय जिम्मेवारी बोध पो आएको हो की भनेर लख काट्न सकिन्छ । ब्यक्तिगत रुपमा भन्ने हो भने प्रचण्डसँग मेरो कुनै सम्बन्ध र लेनादेना छैन तर आजको नेपालको समग्र राजनीतिक परिवेशलाई अरुको तुलनामा अघि बढाउने कला प्रचण्डसँग छ भन्न मलाई अफ्ठ्यारो लाग्दैन । र, बिदेशले देखेको नेपालको एउटा राजनीतिक नेतृत्व र ब्यक्तित्व बोकेको नेता भनेको प्रचण्डनै हुन् । अब प्रचण्ड बिगतदेखि वर्तमान सम्मको आफ्नो राजनीतिक यात्रा र हिजोका दिनमा गरेको जनसंकल्पलाई सबै भन्दा अगाडि राखेका आत्मसमिक्षा गरेर अगाडि बढ्नै पर्छ ।
प्रचण्डका बारेमा आज सम्म पनि बिभिन्न धारणा र मान्छेहरुका भनाई आउने क्रम जारीनै छ र भोलीका दिनमा पनि आईनै रहन्छन् होला तर नेपालको युगान्तकारी राजनीतिको छलाङ्गमा प्रचण्ड मात्र त्यस्ता नेताहुन जसको कलापूर्ण राजनीतिक निरन्तरताको महत्व र भुमिकालाई कम आँक्न मिल्दैन । हिजो जस्तै लाग्छ गुलेली र ग्याटिसले जनयुद्ध हुदैन भन्ने हरुलाई प्रचण्ड नेतृत्वले गतिलो जवाफ दिएर आज हामी नागरिकमा रुपान्तरण भएका हौँ तर यसको अर्थ यो होइन कि प्रचण्ड सबैकुराले उत्तम हुन् भन्ने ।समय र कालक्रममा उनले हिजो गरेका धेरै कबोल आज उनै अध्यक्ष भएको पार्टी सरकारमा हुदा पनि भएन र हामीले कम्युनिष्ट सरकारलाई कम्युनिष्ट भन्नेहरुको भन्नु परेको छ । तर, के यसको दोष एउटा प्रचण्डको मात्र होला र ? हुनत बग्ने खोलोनै सुसाउने गर्छ पोखरी सुसाउदैन । चर्चा त्यसको हुन्छ र आशा त्यसमाथिनै गरिन्छ जसले केही गर्र्छ भन्ने लागेको हुन्छ यसर्थ अन्तिम परिक्षणका लागि भएपनि नेकपा पार्टीलाई साच्चैको कम्युनिष्ट पार्टी बनाउन र सरकारलाई साच्चैको कम्युनिष्टको बनाउन कमरेड प्रचण्ड अब तपाई आफै सक्रिय हुनै पर्छ । यदि हिजोको जनयुद्धको बलिदानलाई तपाई आत्मादेखिनै सम्मान गर्नु हुन्छ र त्यो बलिदानको सपनालाई साकार पार्न तपाई राजी हुनुहुन्छ भने तपाईले नसक्ने भन्ने कुनै प्रश्ननै छैन म यो लेख मार्फत पनि आग्रह गर्छु एक पटक तपाई कस्सिनु होस त कसो हुदैन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button