
जी एन शर्मा
नेपाली राजनीतिमा अहिले एउटा बहस शुरु भएको छ । पछिल्ला घटनाक्रमहरुलाई समेत मिहिन गरेर हेर्दा नेपालको राजनीतिमा अपराधीहरुको दबदबा बढेको हो या अपराधीहरुले राजनीतिलाई गुट्मुट्याएकाछन् एउटा अहम् प्रश्न सोझीएकोछ । यसको मेसोलाई थोरै हेर्दा यो अलमलको जस्तो विषय बनेपनि राजनीतिमा अपराधकर्मीहरुको उपस्थिति वा अपराधकर्मीहरुबाटै पो राजनीतिमा हस्तक्षेप भएको छ यसलाई जसरी पनि बुुझे हुनु भएको छ । अहिले राजनीतिको उपल्लो तहमा रहेकाहरुको बिभिन्न मुद्दामा आरोपीको लामो सूचिनै बनेकोछ । यति सम्म कि मानविय संवेदनाले कल्पना गरेको भन्दा ठिक बिपरितका अपराधको पराकाष्ठाका अपराध गर्ने सम्मको पापको मुखुण्डो उदाङ्गो भएका यी र यस्ता घटनाले नेपाली राजनीतिमा र देश संचालन गर्ने निणार्यक निकायमा कस्ता पातकी प्रवृतिहरुको उपस्थिति हुदोरहेछ भनेर सामान्य नागरिकले पनि अनुमान गर्न सक्ने स्थिति बनेकोछ ।
जब सत्ता वा राज्यको उपल्लो निकायलाई जनसेवा भन्दा पनि ब्यक्तिगत सुखभोग र भोगविलासमा प्रयोग गर्न थालिन्छ तब राजनीति भ्रष्टिकरणको बाटो हुदै त्यसले समातेका मुल्य र मान्यताहरु पतनको मार्गतर्फ अग्रसर हुन्छन् र राजनीति गर्नेहरुको ध्यान र ध्याउन्न तामसीतर्फ आकर्षित बन्न जान्छ जसको परिणाम भनेकै राजनीतिमा अपराधीहरु र अपराधीहरु राजनीतिमा प्रबेशको क्रम बढ्छ । बिगतमा भए गरेका सांसद खरिद बिक्रि प्रकरण पनि यसैको एउटा उद्घाटन मान्न सकिन्छ । कतिपय मानिसहरुले असल राजनीति गर्दागर्दै उनीहरु पछि गएर भ्रष्ट वा अन्य यस्तै कुनै आरोपमा मुछिनु पनि स्वअनुशासनको उल्लंघन हो र त्यसले सुस्तरी उसलाई आफ्नो राम्रो दर्शनबाट उपभोग र मस्तीको कुबाटोमा कुदाउन थाल्छ फलत एउटा राम्रो नेता पछि पतित बन्न पुग्छ ।
समाजबाद होस या जनवादको मार्गदर्शक सिद्धान्त बोकेकै पार्टी होस या नेताहरु जब सम्म उनीहरुमा देश र जनताको पक्षमा मात्र केही गर्ने अठोट बलियो हुन्छ उनीहरुको जिवन साच्चै अनुसरण योग्य र नमूनामय लाग्छ तर जब ति नेतामा भोग र बिलासको चाहना उम्रन पुग्छ अपवाद बाहेकले त्यो बिलासी चाहनालाई दमन गर्न सक्दैनन् र उनीहरु आफ्नो वैचारिक धरातल र आफ्नो मार्गबाट क्रमश पर हुदै जान्छन् जतिजति उनीहरु भोगमतर्फ आर्कर्षित हुन्छन् उनीहरुले आफ्नो विरासत, लक्ष्य, उदेश्य र बाटो भुल्छन् उनीहरुमा सत्ता र शक्तिको उन्माद उम्लिन्छ, सत्ता र शक्तिको उन्मादको लहरमा उनीहरु आफुलाई भुलिरहेका हुन्छन् अन्तत उनीहरुको वास्तविक अक्कल बन्द हुन्छ । यो समयमा उनीहरुलाई घेरिरहेका तस्कर र माफियाहरुले आफ््नो शकुनी पासोमा यसरी फसाई दिन्छन् कि डण्डीबियो खेलमा उल्टी चुँ कुदाए जस्तै अपराधीहरुले उनीहरुलाई खेलाउन थाल्छन् । नेपाली राजनीतिको वर्तमानको परिदृश्य आज यो भन्दा पृथक देखिदैन । कुनै नेता स्वयम् अपराधी नहोला तर उसको आडमा कोही अर्को नेता बनेको हुन्छ र कसैले उसको तथास्तुमा अपराध गरेको हुन्छ । अहिले देखिएका केही राजनीतिक वृतका घटनाहरु कुनै आत्मअनुशासन भनौँ या स्वअनुशासनको दायरा बाहिरका जस्ता छन् त केही अपराधको जगमा राजनीतिको बर्को ओडेका जस्तै छन् ।
नेपाली राजनीतिको पछिल्लो श्रृंखलालाई मनन गर्दा यहाँ राजनीतिक र सामाजिक योगदान र राजनीतिसँगै उसको प्रवृति र चरित्र भन्दा पनि माथिल्लो नेतासँग उसको सम्बन्ध र उसको आर्थीक क्षमताले उसको राजनीति र पदको निधो गर्ने खराब परिपाटीको बिकास भएको देखिन्छ । पावर र पैशाको राजनीतिले जन्माउने परिणाम भनको कति हद सम्म समाज र नागरिकको हितमा होला जो कसैले पनि बिचार्न सक्छ । नेताको दुईचार दिन पछि लाग्यो र उसका सबै हर्कतहरुलाई हस् भनेर टाउको झुकायो भने जसले जति बेला पनि जे पद ,पुरस्कार र तक्मा पाउने गतल पात्रहरुको चरम घटिया कुर्मकै कारण तीर्थ गए जस्तै गरेर अपराधी पृष्ठभुमी भएका पात्र र चरित्र आज एकाएक राजनीतिक दलमा हाबी बन्न पुगेकाछन् । राजनीतिक दलमा उनीहरुको पकड बलियो बन्नु भनेको अप्रत्यक्ष रुपमा राज्यका अङ्गमा पनि उनीहरुको उपस्थिति जनाउनु हो जसले एउटा दल वा पार्टीलाई मात्र होइन सिङ्गो राजनीतिलाईनै गलत बाटोमा हिडाउँछ । किन ठूलो पदमा बसेका मान्छेहरुनै आज सुन्न नसकिने अपराधमा आरोपी बनकोछन् भन्दा यसका मुख्य दुईकारणछन् ।एक वैचारिक, सैद्धान्तिक, आत्मअनुशासनबाट बिमुख बन्नु र भोग र बिलासलाईनै एकबारको जुिनको रौस ठान्नु दुई आफ्ना अपराधलाई दलिय मुखुण्डोले ढाक्दै राजनीतिका नाममा अपराधको अखडाको बिकास गर्ने मनशायनै हो ।
जसरी एउटा सन्त आफ्नो सन्त नियममा जति दिन सम्म आफ्नो परिधिमा बसेर आफ्नो आश्रम वा कुटीमा रहन्छ त्यो दिन सम्म उ एक असल सन्तको परिचयमा रहेको हुन्छ ।र, उसलाई सबैले सन्त सम्मान दिन्छन् तर जब त्यो सन्तले आफ्नो सन्त परिधि र अनुशासनबाट बाहिर गएर जसलाई पायो उसलाई मनलाग्दी लोभ, लालच र मोहमा परेर साना सन्त घोषणा गर्न थाल्छ भने न त्यो सन्त सन्तको सम्मानमा रहन सक्छ नत उसको आश्रम वा कुटी सन्तको बासस्थान हुन्छ । त्यो मात्र कथित सन्त र कथित आश्रम रहन्छ त्यस्तै कुनै दल वा पार्टी र त्यसका नेताहरुको हविगत र अबस्था त्यही सन्त र कुटीको जस्तो हुन्छ । अहिले बिशेषगरि ठूला भन्ने पार्टीहरुमा राजनीतिमा अपराधी वा अपराधीहरु राजनीतिमा भन्ने प्रश्न उब्जेको छ । राजनीति देश जनताको पक्षमा राज्य संचालन गर्ने वा संचालनमा महत्वपूर्ण भुमिका खेल्ने औजारका रुपमा राखेर पार्टीका नेताहरु आम नागरिकका अनुसरणका योग्य बन्ने हामीले कल्पना गर्न सम्म सक्छौँ । किनभने समग्र राजनीतिमा सहभागि बनका नेताहरुले पहिला अपराध र अपराधीको संरक्षण गरेकाछन् भन्ने आरोपबाट आफुलाई अलग बनाउन सक्ने हिम्मत गर्नु पर्छ , मेरो राजनीति देश र जनताका लागि हो यो मेरो धर्म र कर्म हो भन्ने मूलमन्त्रलाई जप्न सहास बटुल्न सक्नु पर्छ र सबै पार्टीलाई शुद्धिकरणको अभियान अन्तरगत साना ठूला अपराधीहरुलाई सबै जिम्मेबारी र पदबाट बाहिर गरिनु पर्दछ तब मात्र राजनीतिमा अपराधी वा अपराधीहरु राजनीतिमा ? भन्ने प्रश्न अलि खुकुलो होला । होइन भने शक्ति, सत्ता र दलमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा ठाँट बनेर बसेको अपराध, अपराधी प्रवृति लरतरो हटेर जाने छेकछन्द देखिदैन ।
0 22 3 minutes read



