

जी एन शर्मा
नेपाली काँग्रेस आफ्नो पृथक पहिचान र छाप बोकेको नेपालको पुरानो राजनीतिक दल हो । प्रजातान्त्रिक र परिवर्तनका साना ठूला आन्दोलनमा नेपाली काँग्रेसको आफ्नो खालको भूमिका र महत्व रहेको छ । मुख्य गरि प्रजातान्त्रिक समाजबादको बाटोलाई आफ्नो मार्गदर्शक सिद्धान्तका रुपमा बोकेको नेपाली काँग्रेस आजका मितिमा हेर्दा हारेर भागेर अनि गलेर पनि हत्तु भएको प्राणीको जस्तो अवस्थामा पुगेको छ ।
बैचारिक, राजनीतिक र नेतृत्वको सम्पूर्ण संरचना र यसको गतिविधीलाई हेर्ने हो भने शायदै ईतिहासमा काँग्रेस यति धेरै निरिह हुुदैन जस्तो देखिन्मछ । तर हिजोको त्यो ताजगी काँग्रेस आज आलष्यको कोक्रोमा यसरी सुस्ताएको छ कि यो काँग्रेस हिजोको त्यो काँग्र्रैस हो कि होइन भनेर छुट्टयाउन काँग्रेसीजनलाई नै मुस्किल बन्न पुगेको छ । आज काँग्रेस यति धेरै कमजोर हुनुको कारण मुख्य गरेर उपल्लो नेतृत्वकै कारण हो । कुनै पनि राजनीतिक दलको वेग भनेको त्यसका कमाण्डरहरुमानै निर्भर रहेको हुन्छ । यस अर्थमा आज काँग्रेसको कमाण्डरका रुपमा शेरबहादुर देउवा रहेकाछन् तर दोष सबै उनको मात्र होइन । आज एक थरि काँग्रेसका समर्थक र कार्यकर्र्ताहरु नेपाली काँग्रेस आजको अवस्थामा आउन सबै दोष शेरबहादुर माथि थोपर्ने गर्दछन् तर यसलाई शतप्रतिसत ठिक मान्न सकिन्न ।
कुनैपनि राजनीतिक दलको विचार, सिद्धान्त, मूल्य र मान्यताहरु जब सम्म एक अर्काका परिपूरकका रुपमा मानिएका हुन्छन् । र, यसको जतन र संरक्षण गर्ने काम प्रथमत नेताहरुबाट हुनु पर्दछ । तर जब नेतृत्व पंक्तिनै कुर्सी र पदको आशक्तिमा डुब्न पुग्छ त्यो बेला त्यस राजनीतिकदलका सबै कुराहरु अघोषित रुपमा बिघठन बन्न पुग्छन् यो राजनीतिक रोग नेपालमा काँग्रेसमा मात्र होइन सबै दल भन्नेहरुमा अहिले पनि चलिरहेको छ फरक यति मात्र हो कुन दलमा कति मात्रमा रहेको छ भन्ने मात्र ।
आज नेपाली काँग्रेसको सिङ्गो राजनीतिक रुपलाई नियालेर पर्गेल्ने हो भने हिजोको त्यो चलयामान काँग्रेस आज पोलीयो लागे जस्तो देखिनुमा देउबा एक्लै दोषी होइनन् । तर, यो अर्थमा देउवा जिम्मेवार अरु भन्दा धेरै हुन्छन् कि उनी काँग्रेसको कमाण्डर हुदा पनि उनले पनि गुम्दै गएको काँग्रेसको साखलाई जोगाउनुको उल्टो गुमाउने प्रक्रियामा सामेल हुदै गएको देखिन्छ । कहिले छत्तिसे र चौरत्तरे त कहिले संस्थापन र प्रजातान्त्रिक नाममा गुट र ब्यक्ति स्तुतिको धारमा चलेको काँग्रेस आजका दिनमा आउँदा यसले कार्यकर्ता माझ नयाँ उत्साह र उमङ्ग ल्याउन त कता हो कता अरु थप गुट र उपगुटको जन्म दिएको छ। अहिले लगभग कोमाको अवस्थामा काँग्रेस पुग्नु भनेको गुट र पदको आशक्तिनै मुख्य कारण हो यो रोग कम्युनिष्ट भन्ने पार्टीहरुमा अरु धेरै हौसिदै गएको छ। जब राजनीतिक दल वा पार्टी उसको वैचारिक पथबाट स्खलित हुदै जान्छ र त्यहाँ भित्र सामूहिक सोच भन्दा ब्यक्तिबादी प्रवृति हावी बन्न पुग्छ यो हालत सबै पार्टीमा ढिलो चाडो हुन्छनै जसरी आज काँग्रेस पार्टी यो रोगको शिकार भएको छ। बाचुन्जेल पद आफ्नै लागि बनेको हो र यसमा बस्ने भाग्य मेरो बाहेक अरु कसैको छैन र हुदैन भन्ने चरम महत्वाकाक्षी दभ्भले जब सम्म काँग्रेसको अहिलेको बुढो पुस्तामा यो धङ्धङे हटेर जादैन तब सम्म काँग्रेस यो भन्दा गतिलो बन्न सक्ने आश राख्न्न सकिदैन ।आजका काँग्रेसका नेतारु शेरबहादुर , रामचन्द्र , कुष्णप्रसादहरुले जो आए गए पनि उनीहरुबाट काँग्रेसलाई यो भन्दा गतिलो यात्रामा लान सक्छन् भन्ने छनक देखिदैन । यसर्थ काँग्रेसलाई साच्चैको काँग्रेस बनाउने हो भने वैचारिक राजनीतिक स्पष्टताका साथ नयाँ जोश र जाँगर अनि ईमानका साथ हाँक्नका लागि युवा पुस्ताको काँग्रेसमा हस्तक्षेप अब आबाश्यक भएको छ। तर सडक, चौक र मञ्चमा कुराकानी र भाषणको सिगौरी खेल्ने अनि नेताका सामु परेपछि तैँ चुप मैँ चुप बन्ने आदत पनि युवा नेता भन्नेमा रहेको पाईन्छ । काँग्रेसलाई बचाउन र बनाउन नसकिने होइन काँग्रेसलाई टल्काउन र चम्काउन पनि सकिन्छ तर म मात्र काँग्रेस हुँ , म कुनै गुटको होइन भन्ने भावनाको सोच र चिन्तन बोकेको नेतृत्वको खाँचो छ । नेपाली काँग्रेसमा सामूहिक नेतृत्व भन्दा धेरै परिवार, समूह अर्थात गुटको फन्कोमा काँग्रेस घुमेको देखिन्छ । सामूहिक सोच, एकरुपता र साझा चिन्तनको अभावकै कारण पनि नेपाली काँग्रेस आजको अवस्थामा आएको हो भन्न सकिन्छ ।
काँग्रेसको बिगतकै इतिहाँस हेर्ने हो भने गुट र उपगुटको कोपभाजनमा परेर धेरै नेताहरु निरासको जिवनमा फर्केका छन् । त्याग, समपर्ण, सोच र चिन्तन भन्दा हुनुमान बन्ने हरुको लर्कोले काँग्रेसलाई घेरेपछि धेरै मौन भएर बसेका कार्यकर्ताहरु पनि आज काँग्रेसको छायाँमा रहेकाछन् ।मुख्य गरि माथिल्लो नेतृत्वको पद लोलुपता र कुर्सी मोहलेनै आज काँग्रेस यो हालतमा पल्टेको छ । तर,यसको अर्थ यो होइन कि अब काँग्रेस कहिल्यै पनि नउठ्ने होइन यसलाई उठाउन मात्र होइन कुदाउन सकिन्छ र भोलीका दिनमा काँग्रेसले राजनीतिक दौड जित्ने संभावना रहन्छ तर मुख्य कुरा यो हो कि हामी नेपाली काँग्रस मात्र हौँ र हामी कसैका कारिन्दा होइनौँ भनेर नयाँ सोच र चिन्तनका साथ काँग्रेस हाक्ने नयाँ पुस्ताको संकल्प र नेतृत्वको खाँचो छ । अबको काँग्रेस कस्तो काँग्रेस बनाउने सक्ने कि काँग्रेसलाई सपार्ने यो जिम्मा आफुलाई काँग्रेस हुँ भन्ने जति सबैको काँधमा आएको छ । ,
प्राय चुनाव र सभामा मात्र जय नेपालको नारा लगाउन बानी पारिएका कार्यकर्ता र समर्थकहरुलाई कुनै नेताको तथास्तुका आधारमा नभएर उसको समपर्णता र क्षमताका आधारमा जिम्मेवारी दिएर पार्टी संगठन र निमार्णको काममा खटाउने हो भने आज पनि प्रजातान्त्रिक समाजवादको भावधारा बोकेर काँग्रेस बनेका धेरै मान्छेहरु काँग्रेसलाई बनाउन जान तयारछन् तर माथिका नेताको आर्शीवाद भएन भने काँग्रेस पनि हो कि होइन भन्ने चरम गुटबन्दीले गाँजेको काँग्रेसलाई सपार्न त्यति सजिलो छैन । तर, राजनीतिमा संभावना सकिदैन भनेझै अब एक पटक नेपाली काँग्रेसलाई भित्रबाट मायाँ गर्ने काँग्रेसका कार्यकर्र्ताहरुले हिम्मत बटुल्नै पर्ने समय भएको छ कि नेताको फेर समातेर होइन नयाँ भावधारको बिकास गरेर नयाँ सोच र चिन्तनले मात्र काँग्रेसलाई काँग्रेस जस्तो बनाउन सकिन्छ भनेर लाग्ने बेला भईनैसकेकोछ ।



