मूल खबर

कर वृद्धि विरुद्ध तीन दलको ज्ञापन

इटाभट्टा / स्थानीय सरकारले जनभावना अनुरुपका काम र विकास निर्माण कार्य अघि बढाउन नसकेको भन्दै मंगलबार तीनवटा राजनीतिक दलले मेचीनगर नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र समाजवादी पार्टी मेचीनगरले संयुक्त रुपमा २१ बुँदे ज्ञपापन पत्र नगरपालिकालाई बुझाएका हुन् । जनप्रतिनिधिहरु बहुमत र अल्पमतको गणितिय खेलमा लागेका कारण नगरको गुरुयोजना निर्माण हुन नसकेको, गौरवका योजना अलपत्र परेका र जनभावना विपरीत ढाड सेक्नेगरी कर वृद्धि गरिएकाले ज्ञापन पत्र बुझाउनु परेको नेपाली काँगे्रसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीले बताए ।

सिंहदरबारको अधिकार गाउँमा आउने आशाका साथ मतदानमा सहभागी बनेका जनताले पछिल्लोसमय सुविधाभन्दा बढी मार खेप्नु परेको भन्दै उनले ज्ञापन पत्रमा उल्लेख भएका मागलाई नगरले बेवास्ता गरे सशक्त रुपमा विरोधका कार्यक्रम अघि बढाउने बताए । ज्ञापन पत्रमा १ नं. प्रदेशभित्र एकरुपता ल्याउने गरी प्रदेश सरकारले तोके बमोजिमको नदीजन्य पदार्थको संकलन तथा बिक्री शुल्क अनुसार मेचीनगर नगरपालिका कार्यालयले ठेक्का लगाउँदा नगरपालिकाको राजश्व संकलन विगतको भन्दा कम हुनु र नगरवासीका लागि अत्यधिक कर वृद्धि हुनुले नगरवासीमा संघीयताप्रति वितृष्णा बढ्न थालेकाले तत्काल प्रदेश सरकारले निर्धारण गरेको कर शुल्कमा पुर्नविचार गर्न ध्यानाकर्षण गराइएको छ ।

नगरवासीहरुले नगर क्षेत्रभित्र आफ्नो निजी तथा सार्वजनिक निर्माणका कार्यहरुमा प्रयोग गर्दै आएका नदीजन्य पदार्थहरुमा हाल लगाइएको करको दर घटाई कर समायोजन यथाशिघ्र लागू गर्नुपर्ने तथा ठेक्का लगाउँदा मेचीनगर नगरपालिका र ठेकेदारबीचमा गरिएका सम्झौता अनुसार मात्र नदीजन्य पदार्थको उत्खनन् गर्न दिनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ । नगरपालिकाले गौरवका योजना निर्माण गर्दा व्यापक रुपमा छलफल गरी कार्यान्वयन गर्नुपर्ने, नेपाल चिया विकास निगमले नगरपालिकालाई बुझाउनुपर्ने कर बापतको करोडौं रकम असुल्न नगरपालिका गम्भीर बन्नुपर्ने, थोरै कर धेरै कर दाताको अवधारणामा नगरले ध्यान दिनुपर्नेलगायतका २१ बुँदे माग ज्ञापन पत्रमा समेटिएको छ ।

सो ज्ञापन पत्र नेपाली काँग्रेसका नगर सभापति इन्द्रबहादुर बुढाथोकी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नगर अध्यक्ष सुशील आचार्य र समाजवादी पार्टी मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङले संयुक्त रुपमा मेचीनगर प्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीलाई हस्तान्तरण गरेका थिए ।

उनीहरुले आफ्ना मागलाई बेवास्ता नगर्न अनुरोध समेत गरेका थिए । ज्ञापन पत्र बुझेपछि नगर प्रमुख आचार्य र उपप्रमुख उपे्रतीले आफूहरु नगरको विकासमा निरन्तर सक्रिय रहेको प्रतिक्रिया दिँदै ज्ञापन पत्रले आगामी दिनमा काम गर्न थप सहयोग पुग्ने धारणा राखेका थिए । ज्ञापन पत्रमा उल्लेख भएका विषय बारे अध्ययन गरी समस्याको समाधन गर्न नगरपालिका लाग्ने उनीहरुको भनाई थियो । सो अवसरमा नेपाली काँग्रेसकी महिला नेतृ उषा गुरुङ, दुर्गा खतिवडा, काँग्रेस जिल्ला सचिव प्रेम सम्बाहाम्फे, कोषाध्यक्ष केशवराज पाण्डे, क्षेत्रीय सभापति मणिकुमार उप्रेती, सचिव हरि बुढाथोकी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सदस्य सविना बजगार्इँ, चन्द्र खनाल, शारदा पराजुली, समाजवादीका जिल्ला सदस्य दिलीप आङ्देम्बे, क्षेत्रीय अध्यक्ष तिलकचन्द सम्बाहाम्फे, नगर उपाध्यक्ष पवन मेचे, सचिव सरोज महर्जनलगायत तीनवटै पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।janasamsaddaily

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button