एजेन्सी, संसारका सबैभन्दा धनाढ्य व्यक्तिमध्ये एक बिल गेट्सकी छोरी जेनिफर गेट्सले आफ्ना प्रेमी नायेल नसालसँग इन्गेजमेन्ट गरेकी छिन। जेनिफरले यो कुरा आफ्नो इन्स्टाग्राम ह्यान्डलमा तस्बिर पोष्ट गर्दै दिएकी छिन् ।
२३ वर्षीया जेनिफरलाई २८ वर्षीय नायेलले एक सुन्दर हिउँले ढाकेको स्थानमा लगेर प्रस्ताव गरेको उनले इन्स्टाग्राम मार्फत् जानकारी दिए । नायेलले जेनिफरलाई हिराको औंठी दिँदै ‘जीवन रहुञ्जेल साथ दिन्छौ’ भनेर अनुमती मागे । जेनिफरले तत्काल ‘हुन्छ’ भनिन् । त्यसपछि ती दुईले एक अर्कालाई चुम्बन गरे र अँगालो हाले ।
जेनिफर र नायेल एक अर्कालाई करिब चार वर्षदेखि चिन्छन् । जेनिफर बिल र मेलिन्डा गेट्सकी जेठी छोरी हुन् । नायेल इजिप्टका सबैभन्दा युवा धनाढ्यमध्येका एक हुन् ।
जेनिफरले आफ्नो इन्स्टाग्राम प्रोफाइलमा आफ्नो इन्गेजमेन्टको तस्बिर सेयर गर्दै लेखिन्, ‘नायेल नसार, तिमीले गत हप्ता यहाँ मलाई प्रस्ताव गरेर मैले टेकेको जमिन कम्पन गराइदिएको छौ । म अब आफ्नो पूरा जीवन तिमीसँग बिताउन प्रतिक्षा गर्न सक्दिनँ ।’
जेनिफरले इन्स्टाग्राममा थपिन्, ‘म नायेलसँग आफ्नो पूरा जीवन विकसित गर्दै, सिक्दै, हाँस्दै र एकअर्कालाई प्रेम गर्दै बिताउन चाहन्छु । र म तिमीलाई करोडौं पटक प्रेम गर्न चाहन्छु ।’



