बानरहाट : बानरहाटस्थित राजमार्गमा भर्खरै भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार राष्ट्रिय राजमार्ग 31-मा आज साँझ स्कुटी अनि ट्रक आपस्तमा ठोक्किँदा स्कुटीमा सवार 19 वर्षीय राहुल कामी र 15 वर्षीय बिनिता छेत्रीको घटनास्थलमै मृत्यु भएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा मर्ने युवक बानरहाट थानाको अप्पर केला बारी बस्ती निवासी हुन्।
इस्लामपुर : अखिल भारतीय ब्याङ्क इम्प्लोइज फेडरेशनको आह्वानमा विभिन्न मागहरूलाई लिएर डाकिएको बन्दको दोस्रो दिन पनि जिल्लाभरिमै प्रभाव परेको देखियो। संगठनको तर्फबाट गत 31 जनवरी र 1 फरवरीको दिन ब्याङ्क हड़तालको घोषणा गरेको थियो। आज युनाइटेड फोरम ब्याङ्क युनियनले दिएको जानकारीअनुसार धेरै समयदेखि वेज सेटलमेन्ट, पेन्शन अपडेट र फ्यामेली पेन्शन गराउने, समान कामको समान वेतन आदि मागहरूलाई लिएर दुई दिने देशव्यापी ब्याङ्क हड़ताल गरिएको हो। स्मरण रहोस्, गत शुक्रबारदेखि शुरू भएको उक्त हडताल आज शनिबारसम्म रहे तापनि भोलि आइतबार रहेकोले गर्दा भोलि पनि ब्याङ्क बन्द रहने हुनाले साधारण मानिसहरूले निक्कै असुविधाको सामना गर्न परिरहेको छ।
बजटको विरोधमा सीपीआईएम-द्वारा सिलगढीमा ऱ्याली
सिलगढी : केन्द्रीय बजटको विरोधमा सीपीआईएम आज सिलगढ़ीको सडकमा ओर्लिएको छ। केन्द्रको भाजपा सरकारको बजटको विरोध जनाउँदै आज सीपीआईएम-को तर्फबाट एउटा विक्षोभ ऱ्यालीको आयोजना गर्यो। उक्त विक्षोभ ऱ्याली सिलगढीको हिलकार्ट रोडस्थित पार्टी कार्यालयबाट शुरू गरेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो।
नवाङ्कुर सङ्घलाई पराजित गरेर युकेएफसी सेमिफाइनलमा
सिलगढी : रोमाञ्चक म्याचमा नवाङ्कुर सङ्घ सिलगढ़ीलाई पराजित गरेर युकेएफसी खरसाङ पन्ध्रौँ सुकना गोल्डकप फुटबल टुर्नामेन्टको सेमिफाइनलमा प्रवेश गरेको छ। सुकना गेम्स् एन्ड स्पोर्ट्स एसोसिएसनको तत्वावधानमा सम्पन्न भइरहेको यस फुटबल गोल्ड कप प्रतियोगिता अन्तर्गत आज शनिवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा युकेएफसीले नवाङ्कुर सङ्घलाई 2-1 गोलले पराजित गऱ्यो। आजको म्याच शुरू भएको छैटौं मिनटमा युकेएफसीका खेलाडी सिद्धान्त छेत्री(जर्सी नम्बर 9) ले पहिलो गोल गरेर आफ्नो टोलीलाई बढ़त दिलाए। यसपछि खेलको 25औ मिनटमा युकेएफसीकै खेलाड़ी बिरेन प्रधानले अभाग्यवश् आफ्नै गोलपोस्टमा गोल गर्दा स्कोर बराबरी 1-1 मा पुग्यो।

यसपछि प्रशान्त गुरूङ (जर्सी नम्बर 17) ले म्याचको लगभग अन्ततिर 85औ मिनटमा खुबै दर्शनीय गोल विपक्षी नेटमा छिऱ्याएर आफ्नो टोलीको जीत सुनिश्चित गर्नको साथै टोलीलाई सेमिफाइनलको टिकट पनि दिलाए। विजयी टोली युकेएफसी-का खेलाडी सिद्धान्त छेत्रीलाई आजको खेलमा म्यान अफ् द म्याच चयन गरेर प्रमुख अतिथि टीटी शेर्पाको बाहुलीबाट आकर्षक ट्रफी प्रदान गरियो। यसै प्रतियोगिता अन्तर्गत भोली आइतवारको दिन दोस्रो क्वार्टर फाइनल खेल गोर्खा ब्रदर्श असम बनाम एसएसबी रानीडांगामाझ भिड़न्त हुने भएको छ।
सीएए, एनआरसी र एनपीआर-को विरोधमा तृणमूलको धरना प्रदर्शनी
इस्लामपुर : सीएए, एनआरसी र एनपीआर-को विरोधमा तृणमूल कांग्रेसले इस्लामपुर र ग्वालपोखरमा धरना प्रदर्शनी गरे। ग्वालपोखर 1 नम्बर ब्लक तृणमूल कांग्रेस अध्यक्ष गोलाम रसुलले राज्य सरकारको पञ्चायत र ग्रामोन्नयन राज्य मन्त्री गोलाम रब्बानीको उपस्थितिमा संगठनका कार्यकर्ताहरूलगायत समर्थकहरूले यसको प्रतिवाद जनाए। लगभग साढ़े तीन घण्टासम्म चलेको उक्त धरनामा 20 हजार मानिसहरू सामेल थिए। अर्कोतिर, इस्लामपुरको रामगञ्जमा पनि धरना प्रदर्शनी गरियो। उक्त धरना प्रदर्शनी तृणमूल कांग्रेस अध्यक्ष तथा इस्लामपुर नगरपालिकाका चेयरम्यान कन्हैयालाल अग्रवालको नेतृत्वमा गरिएको थियो। उक्त प्रदर्शनी एक हप्तासम्म चल्ने इस्लामपुर ब्लक तृणमूल कांग्रेसका अध्यक्ष जाकिर हुसेनले बताए।siliguritimes/india








