एजेन्सी – साउथ ह्याम्पटनमाथि सानदार जित निकाल्दै मर्सिसाइड क्लब लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधितर्फ अग्रसर भएको छ । घरेलु मैदानमा लिभरपुलले साउथह्याम्पटनमाथि ४–० को सानदार जित निकाल्दै लिभरपुल उपाधितर्फ अघि बढेको हो ।
प्रिमियर लिगमा अब १४ खेल बाँकी छ । अपराजित रहेको लिभरपुलको २५ खेलबाट ७३ अंक छ । लिभरपुलले २४ खेलमा जित र एक बराबरीको नतिजा निकालेको छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २२ अंकले पछि पारेको हो । यद्दपि सिटीले एक खेल कम खेलेको छ । सिटीको २४ खेलबाट ५१ अंक छ । पराजित साउथह्याम्पटन ३१ अंक जोडेर ११औं स्थानमा छ ।

एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलको सानदार जितमा मोहम्मद सलाहले दुई तथा एलेक्स अक्सलेड चेम्वरलेन र जोर्डन हेन्डरसनले समान एक गोल गरे । ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनोले ४ गोलमध्ये ३ गोलको लागि असिस्ट गरेका थिए ।
घरेलु मैदानमा साउथह्याम्पटनलाई दवावमा राखेपनि लिभरपुलले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । दोस्रो हाफको शुरुमै रोबर्टाे फिर्मिनोको पासमा चेम्वरलेनले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । ६०औं मिनेटमा फिर्मिनोकै पासमा कप्तान जोर्डन हेन्डरसनले गोल गरेपछि लिभरपुलले खेलमा २–० को अग्रता लिन सफल भयो ।
त्यसपछिको दुवै गोल सलाहको नाममा रह्यो । ७२औं मिनेटमा सलाहले कप्तान हेन्डरसनको पासमा गोल गरेपछि लिभरपुल फराकिलो जिततर्फ अग्रसर बन्यो । ९०औं मिनेटमा फिर्मिनोको पासमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४–० को सानदार जित दिलाए ।hamrokhelkud



