
एजेन्सी – युइएफए युरोपा लिगको राउन्ड अफ ३२ को पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले जित हात पार्दा अर्काे इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।
आर्सनलले ग्रीसको ओलम्पियाकोसमाथि १–० को झिनो जित निकाल्दा युनाइटेड बेल्जियन क्लब ब्रुगसँग १–१ गोलको बराबरीमा रोकिएको हो। दुवै टोलीले गोलको केही अवसर गुमाउदा प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
खेल सकिन ९ मिनेट बाँकी रहँदा एलेक्सान्द्रे लाकाजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । त्यही गोल नै निर्णायक बन्यो । उनले बुकायो साकाको पासमा गोल गरेका थिए । दोस्रो लेग आसर्नलको मैदमा २८ फेब्रुअरीमा हुनेछ ।

अर्काे खेलमा गोलरक्षक सर्जियो रोमेरोको ठुलो गल्तीमा म्यानचेस्टर युनाइटेड बेल्जियन क्लब ब्रुगसँग १–१ गोलको बराबरीमा रोकिएको छ । क्लब ब्रुगका इमानुयल डेनिसले तथा युनाइटेडका एन्थोनी मार्सियालले गोल गरे ।
खेलको १५औं मिनेटमा इमानुयल डेनिसले गोल गर्दै क्लब ब्रुगलाई अग्रता दिलाएका थिए । गोलरक्षक सिमोन मिग्नोलेटको दिएको लामो पासमा युनाइटेडका गोलरक्षक सर्जियो रोमेरो पोजेसनमा नरहँदा इमानुयल डेनिसले गोल गर्न सफल भएका थिए । ३६औं मिनेटमा एन्थोनी मार्सियालले बराबरी गोल फर्काए ।
त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो । दोस्रो लेग युनाइटेडको मैदानमा २८ फेब्रुअरीमा हुनेछ । युनाइटेडलाई यही बराबरीको नतिजा प्रि–क्वाटर फाइनल पुग्न पर्याप्त हुनेछ । क्लब ब्रुगलाई अर्काे चरण प्रवेश गर्न कम्तीमा पनि १–० को जित आवश्यक छ ।hamrokhelkud



