
जी एन शर्मा
कम्युनिष्ट पार्टीहरुको परिचय दिने टुप्पाको शब्दमा प्राय लेख्ने गरिन्छ , ‘ संसारका मजदुर एक हौँ ’ बिश्वका मजदुर एक हौँ ’ । अहिले आफ्नै छेउछाउका कम्युनिष्ट पार्टीहरुको टुप्पामा लेखिने यो नारा देखेर यसको सान्दर्भीकता समाप्त भएको हो की जस्तो लाग्न थालेको छ । नेपालका कम्युनिष्टहरुले पनि आजका मिति सम्म आफ्ना शिरानको नाराका रुपमा यो शब्दलाई थमौती गरेर कम्युनिष्ट पशल संचालन गर्दै आएकाछन् । ब्यबहारमा पुराका पुर नव धनाढ्य शैलीको बाहुल्यता र हालीमुहालीले राज मच्चाईरहेका बेला यो मजदुर शब्दको लेखनीले खास गरेर ठूला भन्ने गरिएका कम्युनिष्ट पार्टीहरुलाई बोझ भएको जस्तो लाग्छ ।
हुनत झण्डा हसिया हथौडा र नारामा मजदुर किसानका शब्दको प्रयोगले पनि आफ्ना कुर्सीहरु सुरक्षित रहन्छन् भने दुईचारवटा यस्ता शब्दको प्रयोगले घाटा पार्ने कुरा त भएन तर जगलाई छलकपटमा राखेर सकुनी चालले निमुखाका नाममा मस्ती मार्नु नैतिक र आत्मिक दुबै हिसाबले महापाप मानिन्छ होला । कुनै पनि राजनीतिक दल जब उसले बोकेको विचार र सिद्धान्तबाट बिस्तारै चिप्लन थाल्छ त्यसपछि उसको सक्कल परिवर्तन हुदैजान्छ र सक्कलमा नक्कलको बोलवाल शुरु हुन थाल्छ । जनताले अलिकति आशा र भरोसा गरेका थिए नेपालमा नेपालका कम्युनिष्ट पार्टीलाई कारण यही हो की यीनीहरु अरुले भन्दा धेरै किसान, मजदुर, गरीब र बिपन्नका नारा गाउने गर्थे । यीनको झण्डा पनि हसिया र हथौडाको थियो अनि आफ्नो मूल मन्त्र जस्तो संसार वा बिश्वका मजदुर एक हौ पनि भन्थे । अलिक बढि अरु भन्दा धेरै विचार र सिद्धान्तका भजन गर्थे । सबैको असल रुप हेरे पछि जनताले पनि यीनको हेर्न बाँकी राखेका थिए र पछिल्लो समयमा सरकारमै बहुमतका साथ पु¥याई पनि दिए । तर, यीनको पनि सक्कल लगभग गुमनाम भएको थियो र सक्कलको चारैपटी नक्कलको लेपन लागेको थियो र भयो त्यही जो सत्य थियो ।
नामका हिसाबले अहिले नेपालमा कम्युनिष्ट पार्टीको सरकार छ भनिन्छ हो पनि यीनको झण्डा र टुप्पाको नारा पनि त्यस्तै छ तर शीरदेखि पुच्छर सम्म हे¥यो भने मजदुर र किसानको होइन महाजन र नव धनाढ्य वर्गको चल्ती छ । भाषण र भजनमा अहिले पनि यीनीहरु धकाईधकाई सर्वहाराको राग अलाप्ने गर्छन् तर जनताले पत्याउने छाडेको बुझेकाछन् या बुझेर पनि बुझ पचाउने बानी लगाउन थालेकाछन् त्यो उनीहरुलाईनै थाहा होला । सरकार गठनको दुइ वर्ष बितेर गएकाछन् तर मजदुर किसानका नाममा यीनले उनीहरुको मन जित्ने एउटा पनि काम गरेकाछैनन् । सपना जसरी ठूलाठूला बाँडेकाछन् काम पनि ठूलाबढाकै गरेकाछन् । यसको एउटै मूल कारण हो विचार ,सिद्धान्त , आफ्नो मुल्य र मान्यता पनि कम्युनिष्ट पार्टी जति स्खलित बन्दै जान्छ उसका काम र ब्यबहारहरु पनि उस्तै प्रकारका हुन्छन् जो वास्तविक वर्ग र समुदायसँग ठिक बिपरित बन्न पुग्छन् ।यसको अर्थ यो पनि होइन की यो सरकारले केही गरेकै छैन तर यसको सत्यता यो हो की यो सरकारले जसका लागि जे गर्नु पर्ने थियो त्यो गरेन । यसको तात्पर्य यो होइन की यो सरकारले ठूलाबढा र महाजनहरुकै हितमा मात्र गरेको छ भन्ने यसको वास्तविकता यो पनि हो की यो सरकारले जुन वर्गका लागि हिजो जे जे बोलेको थियो त्यो गरेन भन्ने ।
नेपाली जनताको आजको समस्या भनेको गाँस ,बास र कपासकै हो, बिकासलाई बाटो, बिजुली र बिग हाउससँग मात्र जोडेर यसको परिभाषा यदि कसैले गर्छ भने त्यो अधुरो हुन जान्छ । भोक ,रोग र गरीबीलाई पहिलो स्थानमा राखेर त्यसको अन्तर समिक्षा हुन जरुरी हुन जान्छ । देशमा गरीबी, अशिक्षा र सामाजिक न्याय र अधिकारमा जनताको अवस्था खस्कदो छ तर बाटो, बत्ति, बिजुली र महलको निमार्ण गर्नु भनेको त्यो गरीबी भित्रको पनि चरम गरीबीको निमार्ण हो तर यो सरकार अहिले यस्तै यस्तै भा्रन्तीमय कार्यमा बिकासको भ्रम छरिरहेको छ । जनमतले बहुमतको सरकार छ तर जनबिश्वास टुटिरहेको हेक्का गरेको छैन । झण्डामा हसिया हथौडा र नारामा संसार मजदुर लेख्दैमा कसैले आफुलाई कम्युनिष्ट हुँ भन्ने छुट त होला तर मान्छेले पत्याउँछन् कि पत्याउँदैनन् वा पत्याउन छोडेकाछन् भनेर पनि विचार पु¥याउनु पर्छ क्यार ।कतिपय मानिसहरु सरकारले गरेका राम्रा कामहरुको प्रचार भएन भनेर दुख ब्यक्त गर्छन् जो सरकारले जे गरे पनि नगरे पनि अन्धभक्त भएर समर्थन गर्छन् जसलाई सरकारले जे र जसो गरे पनि शभ लाग्ने गर्छ अक्सर त्यस्ता पात्रहरु नेताहरुका ईमान्दार कारिन्दा हुन् भन्दा धकाउनु पर्दैन तर सरकारले राम्रा काम गरेको कुरो त प्रचार गर्नु पर्दैन होला सरकारले काम गर्ने भनेकै जनताको हो जनताले हाम्रा लागि सरकारले यो ग¥यो भनेर थाहा पाउने साक्षी छ जनतानै छदैछन् नी । आफ्ना लागि सरकारले गरेको कामको स्याबासी जनताले दिन्छन् तर सरकारले मेरा लागि वा हाम्रा लागि यसो गरे छ है भनेर अनुभुत हुने गरिको काम त सरकारले गर्नु प¥यो होला नी ।
कम्युनिष्टको सरकार छ त्यो पनि बहुमतको त्यसमाथि पनि हिजोका दिनमा सबै भन्दा धेरै सर्वहारा र निमुखाका वर्गको नारा लगाउनेहरुको तर लाग्छ शासनमा कतै महाजनहरुको हालीमुहाली त छैन यो सबै सत्य हो म भन्दीन तर यो आभाष सबैलाई भएको छैन भनेर पनि त भन्न सकिदैन होला नी तर एक थरिले भने पक्कै भन्ने गरेकाछन् सरकारको बिरोध गर्नु भनेको बिकास र प्रगतिको बिरोध गर्नु हो तर सबै सरकारका अन्ध समर्थक र नेताका कारिन्दा पनि त नहोलान् नि त । अझै पनि यो सरकारमा भएको पार्टीमा म कारिन्दा भन्दा कार्यकर्ताहरुनै धेर भएको म देख्छु जो काम गर्छन् र आफु पार्टीकै कार्यकर्ताको रुपमा रहन चाहान्छन् । कारिन्दालाई नाफा र नोक्सानसँग मात्र सरोकार हुन्छ तर कार्यकर्ताहरुलाई आफ्नो वर्ग र विचार अनि आफु हिडेको बाटोसँग धेरै सरोकार हुन्छ । कार्यकर्ताहरु नेता र सरकारका कामकारबाहीको खबरदारी गर्छन् तर कारिन्दाहरु जहिले पनि देखावटी पार्टीका भक्त हुन्छन् उनीहरु पार्टी भत्केपनि उस्तै सप्रे पनि उस्तै । कम्युनिष्टका कार्यकर्ताहरु आज पनि संसार भनौ या विश्वका मजदुर एक हौँ भन्ने कम्युनिष्ट आदर्श र सिद्धान्तमा ईस्पाते भएर भावनात्मक रुपमा जोडिन चाहान्छन् तर कम्युनिष्ट बोर्डमा कुर्सी मोहमा डुबेका नेताहरु र उनका कारिन्दाहरुलाई संसारका महाजन एक हौँ भन्ने नारा बदले पनि खासै फरक पर्दैन यसको एउटै कारण हो जो कम्युनिष्टनै होइन भने उसलाई कम्युनिष्टको विचार ,सिद्धान्त र दर्शनसँग सरोकार राख्नु पर्ने कुनै कारणनै हुदैन ।
0 27 4 minutes read



