
हरि खनाल
मेरो सिंगो परिवार कोभिड संक्रमणमा आएको विश्वास मलाई त्यतिखेर भयो, जब सबैभन्दा तन्दुरुस्त मेरी श्रीमतीको जाँच गराउँदा ‘पोजिटिभ’ रिजल्ट आयो । परिवारका हामी सबै टाउको दुख्ने र खोकी लाग्ने अनि ज्वरो आउने समस्यामा थियौं ।
अमेरिकाको स्प्रिङ्ग फिल्डमा रहेर यी हरफहरु लेखिरहँदा विश्वमा कोरोना भाइरसले झण्डै डेढ लाख नागरिकको ज्यान लिइसकेको छ, लाखौं संक्रमितजीवन बाँच्ने संघर्षमा छन् । यसलाई अदृश्य शत्रुसँगको तेस्रो विश्वयुद्ध भनेपनि हुन्छ । जेहोस्, यस विश्वयुद्धबाट मेरो परिवार आजसम्म सकुशल छ । यद्यपि हामीलाई यसले आफ्नो संक्रमणमा लिइसकेको छ । हामीले आफूलाई भाग्यमानी ठान्नुपर्छ, मेरो परिवारले कोभिड–१९ संगको युद्ध जितेरै छोड्यो ।
म र मेरी श्रीमती यशोदा स्थानीय अस्पतालमा जागिर खान्छौं । अरू बेलाजस्तै त्यस दिन पनि नियमित रूपले काममा गइरहेका थियौ। कुरा गत २७ मार्च, शुक्रबार बेलुकीको हो, कामबाट घर फर्किएसंँगै मलाई हल्का घाँटी खस्खसाउन थाल्यो र खोकी पनि लाग्यो। शनिबार र आइतबार अर्थात मार्च २८ र २९ मेरो नियमित बिदा परेको हुँदा छोराछोरीहरूसंँग घरमै आराम गरेर बसें। श्रीमती यशोदा भने शनिबार र आइतबार दुवै दिन काममा थिइन्।
मलाईभने कम्मरभन्दा मुनिको भाग कर–कर दुखिरहेको र भतभती पोलिरहेको थियो। श्रीमती यशोदाले पनि आइतबार बेलुकी कामबाट फर्किएपछि त्यसरी नै जीउ दुखेको र पोलेको कुरा सुनाउदा मेरो मनमा शंका बढेर गयो।
उता सोही दिन राती मेरी ८ वर्षीया छोरीलाई अत्यधिक ज्वरो आयो। १४ वर्षीय छोराले पनि सोमबार अर्थात् मार्च ३० को बिहान दुवै आँखाको तल र माथिको भाग अनि छातीसमेत दुखेको कुरा बतायो । मेरो घरमाथि सिंगै पहाड खसेर हामीलाई पुरेको जस्तो लाग्यो । म शारीरिकभन्दा पनि मानसिक रुपले विचलित भएँ । खासगरी दुवै छोरा–छोरीमा देखिएको विमारीको संकेतले मलाई कमजोर पारेको थियो ।
मैले सोही दिन बिहान करिब १० बजेतिर नानीहरूकै चिकित्सकसँग सम्पर्क गरी ज्वरो र दुखाई कम गर्ने औषधी दिन अनुरोध गरें। चिकित्सकको सुझाव अनुसारनै फार्मेसीबाट औषधी ल्याएर नानीहरूलाई खान दिएँ, औषधीले ज्वरो र दुखाई कम गर्न राम्रैसँग सहयोग ग¥यो। आवश्यकताअनुसार दुवै छोरा–छोरीलाई औषधी खुवाई रह्यांै, अप्रिल १ सम्ममा दुवै छोरा–छोरीका लगभग सबै लक्षणहरू हराएर गए ।
तर, हामी श्रीमान–श्रीमतीलाई भने जीउ दुख्ने र पोल्ने कुराले सताइनै रहेको थियो। यतिकैमा हामीले पनि मार्च ३१, मंगलबारका दिन दिउँसो फोन सम्पर्क गरी आफ्ना चिकित्सकसँग सबै कुरा राख्यौं र लक्षणहरूको बारेमा परामर्श ग¥र्यौं। सबै कुरा सुनेपछि चिकित्सकले हामीलाई कोभिड–१९ सम्बन्धी मार्गदर्शनको पूर्ण पालना गरी घरमै सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिए ।
चिकित्सकले यशोदालाई उनी काम गर्ने अस्पतालले कोभिड– १९ को परीक्षण गर्छ कि भनेर सोध्नसमेत सुझाएको हुँदा सोही दिन सम्पर्क गरी उनको परिक्षणसमेत गरियो। त्यसको भोलिपल्ट १ अप्रिलको दिन परीक्षणको नतिजा आयो । हामी मानसिक रुपले तयारै थियौं, तरपनि ‘कोरोना भाइरस पोजिटिभ’ लेखेकै देखेपछि मृत्यु ढोकैमा आएर उभिएजस्तो अनुभूति भयो ।
अस्पतालले अरुलाईजस्तै सेल्फ क्वारेन्टाइनमा घरमै बस्न सुझाव दियो । अस्पताल भरिभराउ थियो, त्यहाँ बस्न भनेको भएपनि ईच्छा थिएन ।
यसको लगतै मैले पुनः छोरा–छोरी र आफ्नो चिकित्सकसँग सम्पर्क गरी श्रीमतीको परिक्षणको नतिजाबारे जानकारी गराउँदा परिवारका अन्य सबै सदस्यहरूको जाँच गर्न पर्याप्त सामग्री नभएको तर सबैले संक्रमित भएकै सरह सेल्फ क्वारेन्टाइनमा बस्नू भनियो । दुवै चिकित्सकले समय–समयमा सम्पर्क गरी लक्षणहरूको बारेमा नियमित जानकारी गराउन सुझाए । हामीले पनि सोहीअनुरूप उनीहरूलाई सम्पर्क गरेर सुझाव लिइरह्यौ।
यस बेला हरेक रात म एकै प्रकारको सपना देख्थें– अँधेरी रातमा अग्लो भीरबाट सपरिवार एकैसाथ अनन्त खाडीमा झरिरहेका हुन्थ्यौं । मलाई आफ्नोभन्दा छोराछोरीको माया लाग्थ्यो । सपनामा पनि म उनीहरुकै लागि तड्पिरहेको हुन्थें ।
मैले क्वारेनटाइनमा रहेकै बेला आत्म–मनोपरामर्श गरें, आफैले आफैलाई सम्झाएँ । म किन बीस–बाईसलाखलाई छोडेर एक लाखतिर केन्द्रित भइरहेको छु ! पञ्चानव्यको ठूलो परिमाण बिर्सेर पाँच प्रतिशतको सानो जमात हेरेर म पनि मर्छु कि भनेर किन चिन्तित भइरहेको छु । के मलाई चिन्तले बचाउँछ र, बरु मर्न सघाउँछ ! मैले मजाले आफैले आफैलाई सम्झाएँ र सम्झिएँ पनि ।
संक्रमणबाट सिकिस्त बनेर अस्पताल भर्ना भएका मानिसहरू उपचारपछि घर फर्केर सामान्य जीवन बिताई रहेका हजारौं, लाखौं दृष्टान्तहरूले मलाई हतास नबन्न र हरेस नखान उत्साहित गरिरहन्थ्योह्यो। अन्ततस् यही उत्साहले आफ्नो स्वास्थ्यको पनि ख्याल गर्दै र परिवार सदस्यहरूको मनलाई पनि दह्रो बनाउंदै रोगसँग डटेर लड्नु पर्छ भनी सबै डर र त्रासलाई फालेर सोहीअनुसार लड्ने पारिवारिक माहोल स्थापित गर्नमा मलाई यशोदाको सहयोगले सफलतामिल्यो ।
मेरो परिवारलाई राम्रैसँग थाह थियो कि विभिन्न अनुसन्धानहरू भइरहेका भए तापनि कोभिड–१९ को रोकथाम वा नियन्त्रण गर्न कुनै ओखती वा खोप पत्ता लागेको छैन्। त्यसैले यो रोगबाट बच्न एक मात्र विकल्पको रूपमा हामीले जन–स्वास्थ्यका आधारभूत नियमहरूको पूर्ण रूपमा पालना गर्नुपर्छ ।
यो रोगले संक्रमित भएका विश्वका अन्य धेरै शहरका उदाहरणहरू र अनुभवहरूले पनि हामीलाई यही कुरा सिकाइरहेको थियो । संक्रमणबाट पूर्ण रूपमा मुक्त भएर पूर्ववत रूपमा सामान्य जीवनमा फर्कनको लागि हामीले पनि क्रमशः सामाजिक एवं भौतिक पृथकीकरण, व्यक्तिगत सरसफाइ, कोभिड– १९ बिरुद्ध लड्ने पारिवारिक अठोट र, स्वस्थजस्ता कुराहरू अक्षरसः पालना ग¥यौं ।
उदाहरणहरूका निम्तिस हामी परिवार सदस्यबीचमा पनि बिगत तीन साताभन्दा पनि बढी समयदेखि ६ फीटको दुरी कायमै राखीरहेका छौ। व्यक्तिगत सरसफाइमा पनि अघि पछिको तुलनामा अत्यधिक मात्रामा ध्यान दिने गरेका छौ। जे छोए पनि साबुन पानीले हात धुने एउटा नियमित बानी नै बसेको छ ।
यस्तै, खोकी लाग्दा वा हाच्छ्यौ गर्दा पेपर टावल प्रयोग गर्ने वा हातको कुहिनुको भित्री भागले राम्ररी ढाक्ने या त फेस मास्क प्रयोग गर्ने, अनि खानापिनको समयमा पनि आ–आफ्नो थाल–बटुकाहरू प्रयोग गर्ने, अलग–अलग बसेर खाने र अरूले प्रयोग गरेको कुनै पनि सामग्री सफा नगरी पुनः प्रयोग नगर्नेजस्ता कुराहरूमा परिवारका सानादेखि ठूला सबै सदस्यले जहिले पनि ध्यान पु¥याउने काम भइनै रहेको छ ।
यस्तै रोगसंग लड्नको लागि परिवारमा सबैको आत्मबल दह्रो बनाउने र एकले अर्काको अवस्था कस्तो छ भनी बारम्बार बुझ्ने, आवश्यक सहयोग गर्ने सामाजिक परिपाटी नै बसालेका छौं । यसका अतिरिक्त यस्तो बेलामा रोगसंग लड्न शारीरिक उर्जा अति आवश्यक हुने भएका कारण हामीले खानपिनमा पनि विशेष ध्यान दियौं। कोभिड–१९ को संक्रमणका कारण खानाको स्वाद हराएर गएको भए तापनि हरेक दिन अनिवार्य रूपमा कम्तिमा तीन पल्टसम्म शुद्ध खाना खाने बानी बसालेका छौं ।
खाने कुराहरूमा सुबिधा अनुसार बिभिन्न फलफुल, घरमै बनाएको ताजा दाल–भात, तरकारी, सुखा रोटी, प्रसस्त मात्रामा गेडागुडीको सुप, तुलसीको पत्ता वा थोरै भए पनि मौरीको मह राखेर उमालेको गरम पानी, मिठो भए वा नभए पनि आ–आफ्नो सुबिधाअनुसार ज्वानो, अदुवा, लसुन आदिको झोल नियमित रूपले पिउने काम गर्यौ, अहिले पनि गर्दैछौं । यसका अतिरिक्त लालचनको फूल पानीमा उमालेर हल्का महराखी दिनमा दुई तीन पल्ट नियमित रूपले पिउने, स्वास–प्रश्वासमा समस्या नआवोस् भनी उमालेको पानीमा भिक्स अथवा सन्चो राखेर वा नभए पानीको मात्र भए पनि हरेक दिनमा एक–दुई पल्ट बाफ लिने काम गथ्र्यौं ।
यसैगरी चिकत्सकहरूको सल्लहअनुसार औषधी पसलबाट किनेर खोकीको लागि १२ घण्टासम्म काम गर्ने डेलसियम नामक झोल औषधी र ज्वरोको लागि टाइलिनल आवश्यकताअनुसार सेवन ग¥यौं । सबैभन्दा मुख्य कुरा हामी कोही पनि घरबाट बाहिर निस्किएर अन्य मानिससँग घुलमेल गरेनौं जसका कारण हामीबाट अरू कोही पनि व्यक्ति संक्रमित हुनु परेन।
मैले माथिका पंक्तिहरूमा उल्लेख गरेका कतिपय घरेलु उपचारका विधीहरूले चिकित्सकीय पद्धति अनुसार कोभिड(१९ लाई ठिक गर्छ भन्ने आधारहरू नभए पनि यसले अप्रत्यक्ष रूपले रोगसँग लड्न उर्जा थप्ने काम गर्यो । म र मेरो परिवारको व्यक्तिगत अनुभव यही नै हो। तर म, हामीले जे ग¥यौं तपाईं पनि त्यही गर्नुस् भन्दिनँ । किनभने, कतिपय मानिसहरूलाई बिभिन्न चिजहरू प्रयोग वा सेवन गर्दा एलर्जी हुने वा अतिरिक्त असरहरू गर्ने भएकाले त्यस्ता समस्याहरू हुने व्यक्तिहरूले आफ्ना डाक्टरहरूसंग परामर्श गरेर मात्र कुनै पनि घरेलु विधिहरू प्रयोग गर्नु राम्रो होला ।
जेहोस्, दुई साता लामो तनाव र सुझबुझ पछि पुनः यशोदाको स्वाब परीक्षण गर्दा कोरोना भाइरस संक्रमण नेगेटिभ आइसकेको छ । मैले जाँचेको छ छैन, मलाई त पोजिटिभ वा नेगेटिभ के छ, आजसम्म पनि प्रामाणिक रुपमा थाहा छैन । तर, मनको अगाडि प्रमाणको अर्को आधार के चाहिंदो रहेछ र ! मैले आफूलाई स्वस्थ अनुभव गरेको छु । परिवारका सबै सदस्यमा स्फूर्ति बढेको पाएको छु । तर पनि क्वारेन्टाइन बसोबास हाम्रो परिवारको कल्चर बनिसकेको छ । जीवन रक्षाका लागि वा भनौं युद्ध जित्नका लागि यति त्याग हामीले खुसी–खुसी गरिरहेका छौं !
लेखक परिचयः
खनाल नेपालबाटै अमेरिका गएका पूर्व भूटानी शरणार्थी हुनुहुन्छ । तेस्रो देश पुनःस्थापन कार्यक्रम अन्तर्गत सन् २००८ मा अमेरिकाको मेसाचुसेट्स राज्य अन्तर्गत स्प्रिङ्ग फिल्डमा पुनःस्थापित हुनुहुन्छ । खनाल आफू बसेको राज्यद्वारा मान्यता प्राप्त सामुदायिक स्वास्थ्यकर्मीको रूपमा केयरिङ्ग हेल्थ सेन्टरमा कार्यरत हुनुहुन्छ । भूट्निज सोसाइटी अफ वेस्टर्न मेसाचुसेट्सको संस्थापक अध्यक्ष खनाल सो संस्थाको संचालक समितिको वर्तमान सभापति पनि हुनुहुन्छ । खनाललाई hkhkhanal27@gmail.com मासम्पर्क गर्न सकिन्छ ।newsofnepal/from




