
१४ पुष २०७७
चौतारी पोष्ट अनलाइन, ललितपुर । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले ओली सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका छन् ।
मंगलबार चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी)ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल(आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमति भएको बताईएको छ ।
चारै दलका नेताद्वारा हस्ताक्षरित विज्ञप्तिमा मा उल्लेख भए अनुसार, ‘ ओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ ।’

विज्ञप्तिमा मोर्चाको अवधारणा, संरचना र आगामी कार्यक्रम चाँडै नै घोषणा गरिने समेत उल्लेख गरिएको छ । विज्ञप्तिमा वैदेशिक शक्तिको आड भरोसा र इसारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको आरोप समेत उनीहरुले लगाएकाछन् ।
उक्त विज्ञप्तिमा भनिएको छ, ‘दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर संकटलाई फासीवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरुप तथा वैदेशिक शक्तिको आड भरोसा र इसारामा केपी ओली सरकारले संसद् विघटन गरेको हो भन्ने हाम्रो ठम्याई रहेको छ ।’



