खबर

संस्कृति मुलुकको मौलिक पुँजी

पुष १५, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता नै मुलुकको मौलिक पुँजी भएको बताउनुभएको छ । तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “हाम्रा प्रचलित भाषा धर्म, संस्कृति, भेषभूषालगायतका विविधता हाम्रा बहुमूल्य पुँजी हुन् ।” उहाँले एकता र सहिष्णुताको यस पुँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “विभिन्न संस्कृतिमा आधारित पर्वहरू राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् ।” नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको चर्चा गर्नुहुँदै उहाँले भन्नुभएको छ, “विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान गर्दै भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ ।”
प्रधानमन्त्री ओलीले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै एकता, सद्भाव र सहिष्णुतासहित समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा सरकार रहेको चर्चा गर्नुभएको छ । उहाँले तमु समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै अघि बढ्न यस पर्वले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button