
पुस १६, २०७७
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पुर्व फरवार्ड लुइस सुआरेजको निर्णायक गोलमा स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले गेटाफेलाई १–० ले पराजित गरेको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा सुआरेजले पहिलो हाफमा गरेको गोल नै एट्लेटिकोको जितमा निर्णायक बन्यो । उनले खेलको २०औं मिनेटमा यान्निक कारास्कोको पासमा गोल गरेका थिए ।
त्यसअघि १५औं मिनेटमा थोमस लेमारको प्रहार पोस्टमा लागेर फर्किएको थियो । २६औं मिनेटमा सुआरेजले अर्काे सुवर्ण अवसर खेर फाले । ३५औं मिनेटमा गेटाफेले बराबरीको अवसर गुमायो । ३७औं मिनेटमा गेटाफेले अर्काे अवसर खेर फाल्यो ।
दोस्रो हाफमा दुवै टोलीले प्रयास गरेपनि थप गोल निस्कन नसक्दा पहिलो हाफको गोल नै एट्लेटिकोको जितमा पर्याप्त बन्यो । यो जितसँगै एट्लेटिकोको १४ खेलबाट ३५ अंक पुगेको छ ।
उसले दुई खेल बढी खेलेको रियल म्याड्रिडलाई २ अंकले पछि पारेको छ । दोस्रो स्थानको रियलको ३३ अंक छ । रियल बुधबार राति नै इल्चेसँग १–१ गोलको बराबरीमा रोकिएको फाइदा एट्लटिकोलाई पुगेको छ ।hamrokhelkud/from



