खबर

दलहरुकै कारण संक्रमणको जोखिम झन् बढ्यो, कोरोना गाउँ–गाउँमा तीव्र हुने जनस्वास्थ्यविद्को चिन्ता

पुस २३, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमण घटेको छ, टरेको छैन। तर, विभिन्न राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढेको छ। सहरी क्षेत्रमा तीव्र देखिएको संक्रमण गाउँ–गाउँसम्म पुग्ने चिन्ता जनस्वास्थ्यविद्ले गरेका छन्।

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी कोठे बैठक, कार्यकर्ता भेला, ¥याली र आमसभालगायत कार्यक्रमले कोरोना संक्रमण बढाउने बताउँछन्। ‘पहिलो चरणमा लकडाउन र चाडपर्वमा भएका गतिविधिले संक्रमण बढायो’, डा.मरासिनी भन्छन्, ‘दोस्रो चरणमा राजनीतिक दलका गतिविधि र चुनावी माहोलले संक्रमण व्यापक रूपमा बढ्ने सम्भावना छ।’

नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध सहरी क्षेत्र हुँदै गाउँ–गाउँसम्म प्रदर्शनको कार्यक्रम तय गरेको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको विपक्षी कांग्रेसले पनि वडासम्म जाने कार्यक्रम बनाइसकेको छ। नेकपाको केपी शर्मा ओली पक्षधरले पनि भेलालगायत राजनीतिक कार्यक्रम अघि सारेको छ। जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले पनि विरोध प्रदर्शनलगायत कार्यक्रम गरिरहेका छन्।अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशकसमेत रहेका डा. मरासिनी होलीको आसपासमा संक्रमण व्यापक हुन सक्ने बताउँछन्। पहिलो चरणको कोरोना संक्रमण तिहारपछि न्यून हुन पुगेको हो।

संक्रामक रोग विशेषज्ञ डा.अनुप सुवेदीका अनुसार सुरक्षा मापदण्ड नपनाई विभिन्न कार्यक्रम गर्न लागिएकाले संक्रमणको जोखिम रहेको बताउँछन्। ‘खुला ठाउँमा नभई समूह जम्मा हुने र बन्द कोठा तथा हलमा कार्यक्रम गर्दा संक्रमणको जोखिम हुन्छ’, डा. सुवेदी भन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button