पुस २५, २०७७
एजेन्सी – दुई गोलको अग्रता जोगाउन नसक्दा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा बोरुसिया मोन्चेनग्लाडवाकसँग ३–२ को हार बेहोरेको छ।
बुन्डेसलिगामा बायर्नको यो दोस्रो हार हो । बायर्न यसअघि होफेनहाइनसँग ४–१ ले पराजित भएको थियो । यससँगै बायर्नको २१औं खेलमा अपराजित यात्रामा पुर्णविरामा लागेको छ । होफेनहाइनसँग पराजित भएयता अपराजित रहेको बायर्नले १६ जित र चार बराबरीको नतिजा निकालेको थियो ।
मोन्चेनग्लाडवाकको घरेलु मैदानमा शुक्रबार राति भएको बायर्नले खेलको २०औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । पेनाल्टी बक्समा नेउहउले ह्यान्ड गरेपछि रेफ्रीले बायर्नलाई पेनाल्टी दिएको थियो । २६औं मिनेटमा लियोन गोरेट्जकाले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।
तर, बायर्नले दुई गोलको अग्रतालाई जोगाउन सकेन । ३६औं मिनेटमा जोनास होफमानले गोल गर्दै मोन्चेनग्लाडवाकलाई खेलमा फर्कने संकेत दिए । पहिलो हाफको इन्ज्युरी समयमा होफमानले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
४९औं मिनेटमा फ्लोरियन नेउहसले गोल गर्दै मोन्चेनग्लाडवाकलाई ३–२ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न पराजित हुन पुग्यो ।
यो हारले बायर्न शीर्षस्थानमा यथावत रहेपनि अंक दुरी बढाउने मौका गुमाएको छ । बायर्नको १५ खेलबाट ३३ अंक रहेको छ । एक खेल कम खेलेको आरबी लाइप्जिगको ३१ अंक रहेको छ । मोन्चेनग्लाडवाक २४ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ ।hamrokhelkud/from



