जनादेश विश्लेषण ।
प्रधानमन्त्री केपी ओलीले सबैतर्फ सेटिङ मिलाएर संसद भंग गरेपछि सुरु भएको तानाशाही रोक्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले राजनीतिक मिसन थालेका छन् ।
जुनसुकै अवस्थामा पनि ओली तानाशाही रोक्ने र परास्त गरेर संसद पुनर्स्थापना गर्ने भन्दै प्रचण्ड-नेपालले वृहत राजनीतिक अभियान थालेका हुन् ।
अभियान अन्तर्गत बुधबार राति उनीहरुले विपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेटवार्ता गरे ।
प्रचण्ड र नेपालले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका हुन् ।
प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र पुनःस्थापित भएको अवस्थामा देउवा नै प्रधानमन्त्री बन्न सक्नेसम्मको लचक प्रस्ताव प्रचण्ड-नेपालले लगेपछि देउवा पनि त्यसका लागि राजी भएको बताइएको छ । तर भेटघाट र सहमतिको कुरालाई गोप्य राखेर मात्र आफू अघि बढ्नतयार रेहको उनको भनाई छ ।
पहिले प्रतिनिधिसभा पुनःस्थापनाका लागि आन्दोलनको आँधीबेहरी सृजना गर्ने र संसद आएपछि देउवालाई प्रधानमन्त्री बनाउन समेत तयार रहेको प्रचण्डले बताएका थिए ।
देउवाले नेकपा नफुटेको र फेरि पनि एक हुने सम्भावना रहेकाले आफू कसैको पक्षमा पनि खुलेर नलाग्ने बताएका थिए । प्रचण्ड र माधव नेपालले भविष्यमा धोका दिन सक्ने पनि चिन्ता उनले व्यक्त गरेका छन् ।
कांग्रेसभित्र एकमत गराउन देउवालाई सजिलो
प्रचण्ड नेपालको प्रस्तावपछि पार्टीभित्र दबाबमा रहेका देउवालाई केही राहत हुने देखिएको छ । पार्टीमा बरिष्ठ नेता रामचन्द्र पौडेल र गगन थापा जस्ता युवा नेताहरु संसद विघटनविरुद्ध खुलेर सडकमा जानु पर्ने पक्षमा छन् । तर देउवाले अदालतको फैसला कुर्नुपर्ने भन्दै संसद पुनर्स्थापना वा चुनाव दुवैका लागि तयार रहनुपर्ने बताउँदै आएका छन् । दोधारे रणनीतिका कारण दबाबमा रहेका देउवालाई प्रचण्डको प्रस्तावपछि उत्साह मिलेको छ । उनी अब संसद नरहेपनि रहेपनि सत्तामा जाने बाटो सुनिश्चित हुनेमा ढुक्का देखिएको श्रोतको भनाई छ । संसद विघटन भएमा ओलीले पनि आफूसँग सत्ता सहकार्य गर्नेमा ढुक्क रहेका देउवा प्रचण्ड माधवसँग सहकार्य गर्दा लोक लाज बच्नेमा पनि कन्भिन्स भएका छन् । प्रचण्डसँग सहकार्य गर्दा संविधानको उल्लंघनविरुद्ध पनि लागिने र सत्ता पनि साझेदारी गर्न पाइने उनको बुझाई छ ।
वृहत मोर्चाबन्दीको रणनीतिमा प्रचण्ड
ओलीलाई परास्त गरेरै छोड्ने सार्वजनिक दृढता व्यक्त गरेका प्रचण्डले पूर्वएमालेहरुलाई एकतृत राख्ने र बाँकी लोकतान्त्रिक र क्रान्तिकारी शक्तिहरुलाई पनि गोलबद्ध गर्ने प्रयास जारी राखेका छन् । बाबुराम भट्टराई मात्र होइन नेपाली कांग्रेसबाटै गगन थापा लगायका नेताहरुले केपी ओली र विद्या भण्डारीलाई महाअभियोगसहित लज्जाजनक अवस्थामा विदाइ गर्नुपर्ने बताइरहेका छन् ।
जस अनुसार संसदमा तेश्रो शक्तिकोरुपमा रहेको जनता समाजवादी पार्टी जसपा सडक आन्दोलनमा होमिइसकेको छ भने कांग्रेस पनि सडकमै छ । कांग्रेसलाई थप सशक्त पार्ने र भूमिगत अवस्थामा रहेका नेत्रविक्रम चन्द विप्लव लगायतका शक्तिहरुलाई पनि पुनः एकतृत गरेर अघि बढ्ने सम्मको योजना प्रचण्डको छ । जसका लागि उनले विभिन्न पक्षसँग फरक फरक श्रोतमार्फत कुराकानी अघि बढाइरहेको जानकारी जनादेशले पाएको छ । विप्लवले यस अघि नै व्यवस्थामा सुधारका लागि आफूसँग पनि सहकार्य गर्न लोकतान्त्रिक शक्तिहरुलाई आह्वान गरेका थिए ।



