
जनादेश वाच ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिकरुपमै सोधे- के दिल्लीले भनेर संसद विघटन गर्नु भएको हो ओली जी !
गत असारमा आफूलाई हटाउन भारत लागेको र त्यसमा पार्टीका केही मान्छे समेत रहेको आरोप लगाएका ओलीले अहिले आएर हठात् संसद विघटन गरेपछि उनले दिल्लीसँग कुरा मिलाएर कदम चालेको परिदृष्यहरुले पुष्टि गरेका छन् ।
जि न्यूजको टिमलाई बालुवाटारमा बोलाएर दिइएका दुई अन्नर्वार्ता र त्यस लगत्तै सगरमाथामा पुगेर जि न्यूजले मच्चाएको ताण्डवले दिल्लीप्रति ओलीको सदासयताबारे सबै स्पष्ट भैसकेको छ ।
पुस लागेदेखि नेपालमा विकसित राजनीतिक सरगर्मीसँग दक्षिणको गहिरो नाता रहेको विश्लेषकहरू बताउँछन् ।

बालुवाटार निकट श्रोत भन्छ- जब भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल काठमाडौं आए, त्यसअघिका केपी ओली र त्यसपछिका केपी ओलीमा फरक देखियो । गोयल आउनुअगाडिको केपी ओली संविधानमा जे हो, त्यसैमा अडिएका र सुवास नेम्वाङ, अग्नि खरेलहरूलाई सन्ने गर्थे । तर, सामन्त गोयल आएपछि केपी ओली फरक हुनुभयो, सुवास र अग्निहरूको समेत नियन्त्रणमा रहेनन् ।
अहिले केपीको सम्भावित कदमबारे एकजना भारत निकट विश्लेषकले एक वर्षअघि नै छनक दिएका थिए । डा.रामवरण यादव राष्ट्रपति हुँदाका सल्लाहकार र दक्षिणी कनेक्सनका खास मानिने डा. सूर्यप्रसाद ढुंगेलले धारा ८५ को हवाला दिँदै संसद विघटन हुनसक्छ भनेर एक वर्षअघि लेखेको धेरैले विर्सेका छैनन् ।
अर्का भारतपक्षधर विश्लेषक अरुण सुवेदीले संविधान र संघीयतालाई समाप्त पार्ने मौकाको रूपमा यो कदमलाई चित्रित् गरिरहेका छन् । उनले त सबै दलका बलिया गुटले ओलीसँग मिलेर यो व्यवस्था फाल्नुपर्छ भन्नेसम्मको टिप्पणी लेखिसकेका छन् ।
बुद्धिजीवीले ओलीको कदम एक रातमा विकास नभएको बताउँछन् । संसद विघटन गरेर देशमा नितान्तरुपमा एक्लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा आफूलाई तुच्छ भाषामा गाली गरेको एक भारतीय मिडियालाई दुई भाषामा अन्तर्वार्ता दिएपछि उनले कहाँबाट ग्रिन सिग्नल पाएका थिए भन्ने स्पष्ट भैसकेको छ ।
ती अन्तर्वार्तामा दिएका अभिव्यक्तिलाई लिएर उनलाई राष्ट्रवादी मान्नेको लर्को बढिरहेकै बेला ओलीले बेचेको नयाँ राष्ट्रवाद बजारमा पुग्न नपाउँदै ओलीलाई अन्तर्वार्ता लिएका भारतीय जी न्यूजका सुधीर चौधरीले भने ओली राष्ट्रवादको लंगौटी खुस्काइदिएका थिए।
भारतीय पूर्वविदेश सचिव श्यामशरणले नेपालको वर्तमान राजनीतिक संकटमा भारतको सदासयतामात्र नभएर अमेरिकी भूमिका समेत रहेको खुलासा गरिसकेका छन् ।



