
१० माघ २०७७
चौतारी पोष्ट अनलाइन डेक्स
धुलाबारी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड—नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले समयमा पछुताउनु पर्ने बताएकाछन् । झापाको धुलाबारीमा आज (शनिबार)नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड—माधव समूहले आयोजना गरेको विरोध कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले भने‘ ओलीको प्रतिगमन र फािसष्ट शैलीको जनविरोधी गतिविधिको जवाफ दिन झापा तयार भईसकेको छ’ । पाण्डेले ओलीको वर्तमानको कदमले देश र जनताको हित नहुने जिकिर गर्दै संस्थापन पक्ष भनेको प्रचण्ड माधव नेतृत्वको रहेको र मूल घर छाडेर कोही बाहिर जान्छ भने उसलाई आफ्नो छुट्टै घर बनाउने अधिकार रहेको बताए । मन्तब्यका कम्रमा नेता पाण्डेले केपी शर्मा ओलीले एमाले एक्लो पार्टी हुदा देखि नै पार्टीमा हुकुमी शासनको शुरुवात गरेको समेत आरोप लगाएका थिए। नेकपा मेचीनगर नगर कमिटीले आयोजना गरेको सो विरोध कार्यक्रममा सो पार्टीका नेताहरु राम कार्की , रबिन कोईराला, चन्द्रा श्रेष्ठ लगायतले आ आफ्नोे धारण राखेका थिए ।

प्रदेश कमिटी सदस्य श्यामबिर लिम्बुको सभापतित्वमा सम्पन्न सो कार्यक्रमा सो पार्टीका जिल्ला स्तर र नगरका कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरेले गरेका थिए ।



