
जनवरी 26, 2021
सिलगढी : 72औँ गणतन्त्र दिवसको दिन नयाँ कृषि कानुनको विरोधमा आज दिल्लीमा कृषक संगठनले ट्र्याक्टर र्याली निकाल्यो। यसै क्रममा आज सिलगढीमा पनि ट्र्याक्टर र्याली निकालिइयो। कङ्ग्रेस समर्थित श्रमिक संगठन आईएनटीयुसी एवम् सीपीआईएम-को श्रमिक संगठन सीआईटीयु-ले कृषकहरूको समर्थनमा सिलगढी सहरमा ट्र्याक्टर र्याली निकाल्यो। उक्त ट्र्याक्टर र्याली मल्लागढीदेखि शुरू भएर जङ्क्शन, एयरभ्यु मोड़, कोर्ट मोड़ हुँदै पुनः सिलगढी जङ्क्शनमा पुगेर समापन गरियो। उक्त र्यालीमा लगभग 30 वटा ट्र्याक्टर सामेल गरिएको थियो। उक्त ट्र्याक्टर र्यालीमा खोरीबारी, नक्सलबारी, फाँसीदेवा एवम् मतिगढाको चियाकमानका श्रमिकहरू लगायत महिलाहरूले पनि सामेल थिए। आईएनटीयुसी नेता आलोक चक्रवर्तीले बताएअनुसार आज कृषक संगठनले दिल्लीमा ट्र्याक्टर र्याली निकाल्यो। यसैको समर्थनमा आज आफूहरूले पनि सिलगढीमा ट्र्याक्टर र्याली निकालेको हो। यसको साथै केन्द्र सरकारले कृषि कानुन रद्द गर्नुपर्ने बताउँदै तिनले यदि यसो नगरेको खण्डमा आफूहरूद्वारा आन्दोलन जारी राख्ने चेताउनी दिएका छन्।
सिलगढी पुलिस कमिश्नरेट-द्वारा मनाइयो गणतन्त्र दिवस

सिलगढी : सिलगढी पुलिस कमिश्नरेटमा 72औँ गणतन्त्र दिवस पालन गरियो। यस अवसरमा सिलगढी पुलिस कमिश्नर डीपी सिंहले राष्ट्रिय झण्डा उत्तोलन गरे। गणतन्त्र दिवसको अवसरमा सिलगढी मेट्रोपलिटन पुलिसद्वारा केही ट्याबलो निकाल्नकोसाथै परेडको पनि आयोजना गरियो। राष्ट्रिय झण्डा उत्तोलन गरेपछि पुलिस कमिश्नरले हुड नभएको जीपमा सवार भएर परेड ग्राउन्डको भ्रमण गरे।
यस अवसरमा सिलगढी मेट्रोपोलिटन पुलिसका डिप्टी कमिश्नर लगायत डीसीपी, एसीपी र्याङ्कका पुलिस अधिकारीहरू उपस्थित थिए। पुलिसकर्मीहरू लगायत स्थानीय मानिसहरू पनि गणतन्त्र दिवस कार्यक्रम हेर्नको लागि एकत्रित भएका थिए।
मिरिक मरमामा भूतपूर्व सैनिक संगठन-द्वारा 72औँ गणतन्त्र दिवस पालन

मिरिक : मिरिक मरमा चियाबारीका भूतपूर्व (अवकाश प्राप्त) सैनिक संगठनले 72औँ गणतन्त्र दिवस गाउँका वयोवृद्ध नागरिकहरूको उपस्थितिमा पालन गर्यो। मरमा प्रेम सुन्दर उच्चत्तर माध्यमिक विद्यालयका भूतपूर्व प्रधानाध्यापक पीसी देवसाले राष्ट्रपिता महात्मा गाँधीको तस्विरमा माल्यार्पण गरे भने गाउँका वयोवृद्ध नागरिक बीएल सुब्बाले द्वीप प्रज्ज्वलन गरे। भारतीय सेनाको वायु डिफेन्सका अवकाशप्राप्त अनरेरी लेफ्टिनेन्ट डीबी लिम्बुको बाहुलीबाट भारतको राष्ट्रिय ध्वज उत्तोलन गरे। यसपछि उपस्थित नागरिकहरूले श्रद्धापूर्वक राष्ट्रिय गीत गाए अनि राष्ट्रिय ध्वजलाई ससम्मान सलामी दिए। यस अवसरमा अवकाशप्राप्त क्याप्टन मोक्तानले गणतन्त्र दिवसको महत्वबारे प्रकाश पारे। भूतपूर्व सैनिक सङ्गठनका सचिव दिपक फागोले बताए अनुसार सन् 1999-मा स्थापित यस संस्थाले अवकाशप्राप्तपछि पनि देशको गरिमामय पर्वहरू गौरवको साथमा पालन गर्दै आइरहेको छ।
गोजमुमो खरसाङ महकुमा समितिद्वारा 72औँ गणतन्त्र दिवस पालन

खरसाङ : भारतको 72औँ गणतन्त्र दिवस गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिद्वारा पार्टी कार्यालयमा पालन गरियो। यस अवसरमा गोजमुमो खरसाङ महकुमा समितिका कार्यकारिणी अध्यक्ष समीरदिप ब्लोनले राष्ट्रिय झण्डा उत्तोलन गरे। उक्त समारोहमा विशेष गरी खरसाङ महकुमा समिति प्रतिनिधिहरू, नारी मोर्चाका प्रतिनिधिहरू, जुस्लो अनि अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। झण्डा उत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समिति कार्यकारी अध्यक्ष समीरदिप ब्लोनले आज आफूहरूले देशको 72औँ गणतन्त्र दिवस पार्टी कार्यालयमा पालन गरेको जानकारी गराउँदै वर्षमा दुईपल्ट देशको स्वतन्त्रता दिवस र गणतन्त्र दिवस पार्टी कार्यालयमा पालन गर्नेगर्छौं भनी बताए।siliguritimes/from,india



