स्वास्थ्य

कोरोना खोप लगाएपछि शरीरमा आउन सक्छन् यस्ता समस्या

माघ १४, २०७७
काठमाडौं । सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुधबार खोप अभियान सुरु गर्दै छ। ढुक्क भएर खोप लगाउन सरकारी निकायका अधिकारीले आग्रह गरेका छन्। यो अभियान बुधबार बिहान १० बजे सातै प्रदेशबाट सुरु गरिँदै छ।

‘खोप लगाएपछि कसैलाई कुनै असर देखिँदैन। कसै–कसैलाई सामान्य असर देखा पर्न सक्छ। जीउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, अल्छी लाग्ने, कमजोरी महसुस हुन सक्छ। खोप लगाएको ठाउँमा दुख्न सक्छ। डाबर देखिन सक्छ। ती असर केही समयपछि आफैं हराएर जाने हुन्छ’, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव एवं कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘कतिपय अवस्थामा यदाकदा औषधि पनि आवश्यक देखिन सक्छ। केही असर देखिए पनि आत्तिनु पर्दैन।’

परिषद्ले खोप भण्डारण, ढुवानी, खोप लगाउँदा र लगाइसकेपछिको प्रभावबारे निर्देशिका बनाएर अनुसन्धान गर्दै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६२ अस्पताल र १ सयभन्दा बढी खोप केन्द्रमा खोप लगाइने जनाएको छ।अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले बुधबार ६५ भन्दा बढी जिल्लामा एकसाथ खोप लगाउन थालिने बताए। मुलुकभर ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य राखी सातवटै प्रदेशमा खोप ढुवानी भइसकेको डा. गौतमले बताए। काठमाडौंमा सरकारी र निजी गरी ११ वटा ठूला अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button