स्वास्थ्य

कोभिड दोस्रो लहरः नेपालमा अस्पताल भर्ना हुने गम्भीर बिरामीको सङ्ख्या बढ्दै

२९ चैत्र २०७७

काठमाडाैं, २९ चैत । केही दिन यता नेपालमा कोरोना सङ्क्रमणको दर बढेसँगै अस्पताल भर्ना हुने गम्भीर बिरामीको सङ्ख्या पनि लगातार बढिरहेको छ ।

हिजो मात्रै ३ सय ३७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यसअघि शुक्रबारपनि २ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने बिहिबार ३ सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

छिमेकी देश भारतमा कोरोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको हो । सङ्क्रमण बढ्दै गएपछि सरकारले स्वास्थ्य मापदण्ड पालनामा जोड दिँदै आएपनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय अस्पताल भर्ना हुने सिकिस्त बिरामीको संख्या पनि बढ्दै गएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप वास्तोलाले अहिले अस्पताल भर्ना हुने गम्भीर बिरामीमा ५० वर्ष मुनिका झन्डै ५० प्रतिशत रहेको भन्दै सावधानी नअपनाए स्थिति भयावह बन्न सक्ने बताए।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, पोखरा, नेपालगञ्ज, विराटनगर, वीरगञ्ज लगायतका ठूला सहरका विद्यालयमा अनलाइन कक्षा सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्रको शनिबारको बैठकमा यस विषयमा छलफल भएपनि निणर्य भने भइनसकेको प्रवक्ता खगराज बरालले जानकारी दिए ।Ratopati News/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button