स्वास्थ्य

सेरमले तत्काल खोप नदिने

काठमाडौं, जेठ ६, २०७८
कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ उत्पादन गरेको भारतीय कम्पनी सेरम इन्स्टिच्युटले सन् २०२१ भरि देशबाहिर खोप दिन नसक्ने जनाएको छ। त्यसले गर्दा नेपालको कोभिड–१९ विरुद्धको खोप अभियान अन्योलमा पर्ने देखिएको छ। कोभिसिल्डको पहिलो डोज लिएका ६५ वर्षमाथिको उमेर समूहका नागरिकका लागि दोस्रो डोज कसरी उपलब्ध गराउने भन्ने अन्योल उत्पन्न भएको छ।

मंगलबार सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले कोभ्याक्स र अन्य मुलुकलाई यो वर्षको अन्त्यतिरबाट मात्रै खोप दिन सकिने आशा व्यक्त गरेका छन्। भारतमा महामारी फैलिएपछि आफ्नो देशका नागरिकलाई चाहिने खोप सुरक्षित नगरी विदेशमा निर्यात गरेको भन्दै नरेन्द्र मोदी सरकारको चर्को आलोचना हुँदै आएका बेला सेरमले तत्काल देशबाहिर खोप नदिने निर्णय लिएको हो।

नेपालमा कोभिसिल्डको पहिलो डोज खोप लगाएकाले १२ सातभित्र दोस्रो डोज लिनुपर्छ। सेरमले दिएको जानकारीले नेपाललाई जेठभित्रै प्राप्त भइसक्नुपर्ने १० लाख डोज खोप आउने स्थिति नदेखिएको कोभिड–१९ विरुद्धका खोप संयोजक डा.श्यामराज उप्रेतीले बताए। एक महिनाअघि नै नेपाल आइ सक्नुपर्ने खोप भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि निर्यातका लागि प्रतिबन्ध लगाएसँगै रोकिएको थियो। नेपालले यो खोपका लागि अग्रिम भुक्तानी गरिसकेको छ। कोभ्याक्सले मेभित्रै दिने भनेको खोप पनि कम्पनीको जानकारीले अन्योलमा परेको डा.उप्रेतीको भनाइ छ। नागरिक दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button