स्वास्थ्य

कोभिड बिरामीको आँखामा देखिने समस्या म्युकरमाइकोसिस (कालो ढुसी) के हो?

प्राडा नरमाया थापा

ब्याक्टेरिया र भाइरस जस्तै ढुसी पनि एक सूक्ष्म जिवाणु हो। केहि ढुसी जस्तै इष्ट लाभदायक हुन्छन् भने केहि ढुसी हानिकारक। ढुसी माटो, पानी, हावा जहाँ पनि हुन सक्छ तर माटो, मल, कुहेको चिजमा बढी हुन्छ।

ढुसीले कान, नाक, घाँटीमा बिभिन्न समस्या ल्याउन सक्छ। कानमा हुने ढुसीको संक्रमणलाई अटोमाइकोसिस भनिन्छ। मुखमा हुने ढुसीको संक्रमणलाई ओरल थ्रस भनिन्छ। त्यस्तै ढुसीले नाक र वरिपरिको साइनसमा पनि विभिन्न किसिमको समस्या ल्याउन सक्छ। केही ढुसीले घातक किसिमको समस्या ल्याउन सक्छ अर्थात वरिपरिको हड्ढी खाएर आँखा तथा दिमागमा समेत पुग्न सक्छ। त्यस्तो जटिल समस्या मध्ये एक हो म्युकरमाइकोसिस।

यो रोग Mucor वा Rhizopus नामक ढुसीले गर्दा हुन्छ। विशेषत यो रोगले हाम्रो शरीरको रोगसँग लड्ने क्षमता कम भएको अवस्था जस्तै मधुमेहको बिरामी, मिर्गौला सम्वन्धि दिर्घरोगी, अंग प्रत्यारोपण गरेका विरामी वा स्टेरोइड, किमोथेराप्युटिक एजेन्टस प्रयोग गरिरहेका बिरामीलाई असर गर्दछ।

हाल कोरोना भाइरसले गर्दा हुने निमोनियाको लागि स्टेरोइड प्रयोग भइरहेको छ। यो औषधिको अत्याधिक प्रयोगले रगतमा चिनीको मात्रा बढाउनुको साथै रोगसंग लड्ने क्षमता कम गराउँदछ। कोभिड-१९ को बिरामीलाई निमोनिया ठीक हुने तर यसको अत्याधिक प्रयोगले गर्दा छिमेकी देश भारतमा म्यूकरमाइकोसिसको बिरामीको संख्या ह्वात्तै बढेको र धेरैको ज्यान समेत गएको समाचारहरु आइरहेको छ। हामीकहाँ यो समस्या लिएर आउने बिरामी धेरै नभएपनि फाटफुट बिरामीहरु आइरहेको अवस्था छ। हामी सबै समयमा सचेत भएनौं भने निकट भविस्यमा यसले बिकराल रुप नलेला भन्न सकिन्न।

त्यसैले यो घातक रोगबाट बच्न मधुमेहका बिरामीहरुले समयमा ध्यान दिन जरुरी छ। मधुमेह नभएका बिरामीहरुले पनि यो औषधि (स्टेरोइड) डाक्टरको सल्लाह बिना जथाभावी प्रयोग गर्नु हुँदैन। कोभिड भइसकेका बिरामीहरुले नाक बन्द भएमा, नाक वा मुखको तालुमा कालो धब्बा देखिएमा, गाला सुन्निने वा दुख्ने भएमा, आँखा धमिलो भएमा वा टाउको धेरै दुखेमा तुरुन्त नजिकको विशेषज्ञसंग परामर्श लिनुपर्दछ।

-(कान, नाक तथा घाँटी रोग विशेषज्ञ प्राडा थापा त्रि.वि. शिक्षण अस्पतालमा कार्यरत छिन्)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button