
याश तुफानको बिजनबारी रिम्बिक क्षेत्रमा आंशिक प्रभाव
मे 28, 2021
बिजनबारी: याश तुफानको प्रभावले निरन्तर रूपमा परेको वर्षाले बिजनबारी क्षेत्रमा हालसम्म कुनै प्रकारको ठूलो अप्रिय घटना नघटे तापनि यस खण्डको विभिन्न स्थानमा आंशिक रूपमा असर पारेको छ। यसै क्रममा रिम्बिक लोधोमा समष्टि अधीनस्थ रिम्बिक बजार नजिक एनडीए स्कुल छेउमा गत राति परेको वर्षाको कारण पहिरो झरेर बाटो बाधित बनेको छ। अर्कोतिर, लोधोमा बजार नजिक आइबी कम्प्लेक्स छेउमा पहिरो गएको जानकारी प्राप्त भएको छ भने गोक दुई ग्राम अधीनस्थ लोअर कोलबोङलाई अप्पर कोलबोङसम्म जोड्ने बाटो पहिरोले बाधित बन्न पुगेको छ। अर्कोतिर बिजनबारीलाई घुम भञ्ज्याङसँग जोड्ने मुल सडकको मेरिबोङ डाँडा गाउँमा बाटो माथिबाट झरेको बाँसहरूको झ्याङले बाटो बाधित बनेपछि गोजमुमो विनयपन्थीको पहलमा खोल्ने काम भएको बताइएको छ। यसको साथै लगातार परेको वर्षाले गर्दा कतिपय क्षेत्रहरूमा पैह्रो झरेको जानकारी प्राप्त भएको छ।
नकली युपी पुलिस गुटको पर्दाफाश, तीनजना पक्राउ
मे 28, 2021

सिलगढी : प्रधान नगर थाना पुलिसले सादा पोशाकमा गत राति अभियान चलाएर नकली युपी पुलिस गुटको 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू युपी निवासी मोहम्मद सरताज अली (42), एमडी मेहताब (43) र हरिओम पाण्डे (51)-को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार यी तीनजना व्यक्ति उत्तर प्रदेशको नम्बर भएको एउटा वाहनमा सवार भएर सालबारी हुँदै सिक्किमतर्फ गइरहेको समय पुलिसले नाका चेकिङ अवधि सालबारी मोड़ नजिक उक्त वाहनलाई रोकेर युपी पुलिसको खाकी वर्दी लगाएर वाहनमा बसेका एकजना व्यक्तिसित पुलिसले सोधखोज गरे। सर्वप्रथम ती व्यक्तिहरूलाई युपी पुलिसका झैँ लागे तापनि सोधखोजको क्रममा तिनीहरू नकली पुलिस रहेको थाहा पाएपछि वाहन लगायत त्यसमा सवार 3 जना व्यक्तिलाई पक्राउ गरे। पक्रा परेका 3 जना व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरियो।
खोरीबारीको आवासीय इलाकामा देखा पऱ्यो जङ्गली हात्ती

मे 28, 2021
खोरीबारी: खोरीबारी ब्लक अन्तर्गत मञ्जयजोतको आवासीय इलाकामा एउटा जङ्गली हात्ती देखा परेपछि केही समयसम्म डरको माहौल देखा पऱ्यो। प्राप्त जानकारी अनुसार आज बिहान नजिकैको जंगलबाट एउटा हात्ती मञ्जयजोतको आवासीय इलाकामा आएपछि मानिसहरू डरले भागाभाग भए। तथापि सबै मानिसहरू सुरक्षित ठाउँमा गएर ज्यान बचाए भने कोही मानिसहरू बहुतले भवनको छतमा चढेर सडकमा हिडेको हात्तीलाई हेरेको पनि देखियो। तथापि उक्त हात्तीले मञ्जयजोतको आवासीय इलाकामा कुनै प्रकारको अप्रिय घटना तथा ठूलो क्षति नपुऱ्याएको बताइएको छ। हात्तीले कुनै नोक्सान नपुऱ्याएको तथा जंगलमा पर्याप्त भोजन नपाएपछि नै हात्ती आवासीय इलाकामा भोजनको खोजीमा आएको हुनसक्ने स्थानीय मानिसहरूले बताए।
जिउँदो पेन्गोलिन अनि खपेटाहरूसहित 3 जना पक्राउ
मे 28, 2021

सिलगढी : गोप्य सूचनाको आधारमा सालुगढा रेञ्जका वनकर्मीहरूले अभियान चलाएर एउटा जिउँदो पेन्गोलिन लगायत लगभग डेढ केजी मरेको पेन्गोलिनको खपेटासहित 3 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू माल महकुमा निवासी क्रमैले अमजाद हुसेन, सुनील उराव र मिजानुर रहमान सामेल छन्। प्राप्त जानकारीअनुसार हिजो राति वनकर्मीहरूले मालबजारबाट केही वन्य प्राणी तथा मृत वन्य प्राणीको खपेटा सिलगढी हुँदै नेपाल लैजाने गोप्य सुइँको पाएपछि सालुगढा रेञ्जका रेञ्जर सञ्जय दत्तको नेतृत्वमा गजलडोबा ब्यारेज इलाकामा अभियान चलाए। यस अवधि तीनजना युवकलाई रोकेर छानबीन गर्दा एउटा जिउँदो पेन्गोलिन लगायत लगभग डेढ केजी मरेको पेन्गोलिनको खपेटा उद्धार गरेको बताइएको छ। आरोपी 3 युवकलाई आज जलपाईगढी अदालतमा पेश गरियो।
अजय एडवर्डद्वारा कोरोना संक्रमणबाट बाँच्न सोनादाको गाउँ समाजहरूलाई समान प्रदान

मे 28, 2021
सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो सामाजिक सेवा अभियान अन्तर्गत कोरोना संक्रमणलाई मध्यनजर राखेर विभिन्न गाउँ समाजहरुलाई सहयोग पुर्याउँदै आइरहेको छ। यसै क्रममा सोनादा क्षेत्रका गाउँ समाजहरुले गोरामुमो सोनादा टाउन कमिटीमार्फत गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष अजय एड्वर्डलाई पत्राचार गरे वापत् तिनले त्यहाँका 4 वटा समाजहरु क्रमैले, न्यु लाइट क्लब, खोङखोला सेवा समिति, नव पल्लभ समाज र दुख निवारक समितिलाई सेनिटाइज मसिन, पीपीई किट्स, अक्सिमिटर, सेनिटाइजर, मास्क, पञ्जा प्रदान गरे। गोरामुमो सोनादा पार्टी कार्यालयमा खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन गुरुङ अनि सोनादा टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्रीले हिजो ती सर-सामानहरू समाजका प्रतिनिधिहरुलाई प्रदान गरेको पार्टी सूत्रले जानकारी दिएको छ।siliguritimes/from,india



