‘समाचार र विचारको
साझा चौतारी’






नारायणी अस्पताललाई मनीषाको भेन्टिलेटर सहयोग


फिल्मीखबर, काठमाडौं, 2021/05/28

नेपालमा कोरोना संक्रमित बढेसँगै देशभरका अस्पतालहरुमा भेन्टिलेटर, अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको अभाव भएपछि कलाकारहरुबाट सहयोग जुट्न थालेको छ । पल शाह, पुष्प खड्का, राजराम पौडेल, नाजिर हुसेन, श्वेता खड्का लगायतका कलाकारहरुले कोरोनाका बिरामीको उपचारका लागि अक्सिजन जुटाउन विभिन्न संस्थाहरुलाई आर्थिक सहयोग गरेका छन् ।

यही क्रममा बलिउड अभिनेत्री मनीषा कोइरालाले पनि कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री विरगञ्जको नारायणी अस्पताललाई उपलब्ध गराएकी छन् । उनले चार थान भेन्टिलेटर, सय थान पीपीई, फेस सिल्ड र मास्क अस्पताललाई प्रदान गरेकी हुन् । जोखिमको समयमा स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा अस्पताल प्रशासनले उनलाई धन्यवाद दिएको छ ।

अभिनेत्री कोइराला गत वर्षको लकडाउनदेखि नेपालमै छिन् । नेपाल सरकारले जारी गरेको नयाँ नक्साको समर्थन गरेपछि भारतमा उनको निकै आलोचना भएको थियो । भारतीय मिडियाले उनीमाथि तुच्छ शैलीमा गाली गलौज गरेका थिए । त्यसै बेला उनी भारतको मुम्बईबाट नेपाल आएकी थिइन् । यसपछि उनी न भारत फर्किइन् न त बलिउड फिल्ममा नै काम गरेकी छन् ।

‘बम्बे, १९४२ : अ लव स्टोर, दिल से’ जस्ता एकसेएक उम्दा फिल्ममा आफ्नो अभिनयको जादु छरेकी मनीषाको फिल्म करिअरको सुरुवात सन् १९८९ मा रिलिज भएको नेपाली फिल्म ‘फेरि भेटौंला’ बाट भएको थियो । सन् १९९१ मा रिलिज भएको सुभाष घई निर्देशित फिल्म ‘सौदागर’ बाट अभिनेत्रीको रुपमा बलिउडमा डेब्यू गरेकी उनी ९० को दशकमा करिअरको उत्कर्षमा थिइन् ।

प्रतिकृया दिनुहोस्