कृषि र किसान

शिक्षण पेसा छाडेर कृषिमा रमाउँदै बाँकेका केवल प्रसाद

‘वार्षिक २२ लाख आम्दानी, १० लाख बचत’
रेखा जोशी 

नेपालमा रोजगारी पाउन मुस्किल रहेको भन्दै मानिस वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ भने स्वदेशमै रहेकामध्ये धेरैले कृषिबाहेक अन्य व्यवसाय गर्ने गरेका छन् । तर केही यस्ता मानिस पनि छन् जसले शिक्षण पेसा र राजनीति छोडेर स्वदेशमै कृषिमा लाखौँ रुपैयाँ लगानी गरेर कृषि पेसामा नै रमाइरहेका छन् ।

बाँकेको मेगनाथ गाउँपालिका वडा नं ३ गाजरका केवल प्रसाद शर्मा शिक्षण र राजनीति समाजसेवा छोडेर अहिले व्यावसायिक कृषि पेसामा लागेर खेतबारीमै नङ्ग्रा खियाउँदै छन् । २०६९ सालदेखि च्याउ खेती सुरु गरेका उनले २०७२ सालमा फार्म दर्ता गरेर कृषि पेसा सञ्चालनमा ल्याएका हुन् । आफू च्याउ खेतीमा लाग्दा र आफूले गरेको खेतीबाट सफलता मिल्दा निकै सन्तुष्टी मिलेको उनी बताउँछन् ।

एक हजार पोकाबाट च्याउ खेती सुरु गरेका उनले अहिले व्यवसाय बढाएर वार्षिक १७ हजार डल्ला च्याउ उत्पादन गरिरहेका छन् । यसरी उनले वार्षिक ३० मेट्रिक टन च्याउ उत्पादन गरिरहेका छन् । कोहलपुर ३ मा ७ वटा र गाँजरमा ९ वटा टनेल गरी व्यवसाय गरिरहेका छन् ।

१८ लाख लगानी लगाएर व्यवसाय सुरु गर्दा खर्च कटाएर वार्षिक ५ लाख बचत हुन्थ्यो । व्यवसाय बढाएसँगै अहिले २२ लाखसम्म आम्दानी हुन्छ भने खर्च कटाएर १० लाख वार्षिक बचत गर्छन् । च्याउ खेती सुरु गरेदेखि नै आम्दानी राम्रो भएको उनले बताए ।

यसरी सुरु भयो च्याउ खेती

सुरुमा उनले शिक्षक भएर काम गरे । त्यतिखेर उनको तलब ९ सय २ रुपैँया थियो । त्यतिखेर राजनीतिक खिचातानीले स्थायी पनि हुन सकिएन। घर खर्च धान्न पनि धौधौ हुन्थ्यो । घर खर्च टार्न नसके पछि शिक्षण पेसा छोडेर रुकुममा गाविस अध्यक्ष भएर ५ काम गरे ।

राजनीति समाजसेवी भएर काम धेरै झन्झट लाग्न थाल्यो । त्यसपछि राजनीति छोडेर कृषि पेसा गर्ने निधो गरे । त्यसपछि उनले आइपियम पद्धतिबाट तरकारी खेती सुरु गरे । विषादी न्यूनीकरण गर्ने उद्देश्यले उनले आइपियम पद्धतिबाट तरकारी खेती सुरु गरे ।

तरकारी खेतीबाट उनले राम्रो आम्दानी गर्न थाले । तरकारी खेती गर्दै जाँदा उनलाई च्याउ खेती सुरु गर्न मन लाग्यो । त्यसपछि उनले तरकारी खेती थोरै स्केलमा गरेर च्याउ खेती सुरु गरे । ‘तरकारी खेती गर्दै जाँदा च्याउ खेतीमा आइयो । च्याउ खेती घर भित्र गर्न सकिने भयो । अरू खेती भन्दा यो खेती एकदमै सजिलो हुन्छ’, उनले भने ।

एक पटक च्याउ लगाएपछि ३ महिनासम्म लगातार आम्दानी गर्न सकिन्छ । ‘घाम पानीमा काम गर्न परेर । सजिलो र आम्दानी पनि राम्रो हुने व्यवसाय पनि भयो । जोखिम पनि कम’ उनले भने,‘यो व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ ।’ तरकारी खेतीबाट पनि राम्रो आम्दानी भए पनि क्षेत्रफल धेरै चाहिने हुनाले छोडेको उनले बताए ।

‘तरकारीमा पनि आम्दानी राम्रो हुन्छ तर रोग किराको प्रकोप धेरै हुने, मूल्य नपाउने जोखिम बढी हुन्छ’ उनले भने,‘ तरकारीमा भन्दा बढी च्याउ आम्दानी हुन्छ । अहिले त च्याउ खेती मै मलाई रमाइलो लाग्छ ।’

कृषि क्षेत्रमा कुनै योग्यता पनि नचाहिने हुनाले पनि कृषि पेसा रोजेको उनी बताउँछन् । ‘कृषि भनेको अनुभवको आधारमा खेती गर्न सकिने पेसा हो । यसमा कुनै डिग्री सर्टिफिकेट चाहिएन, अनुभवको डिग्री भयो’ उनले भने, ‘जागिर खानलाई लोकसेवा पढ्नु पर्‍यो तर कृषिमा परेन ।’

उनी भन्छन्,‘लोक सेवामा नाम निकाल्न गाह्रो, भारी बोक्न पनि गाह्रो नसकिने, विदेश गएर अर्काको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बनाउँदा उचित लागेर कृषि रोजे ।’ आफ्नो देशमा कृषि गरे आत्मनिर्भर हुन सकिन्छ । अहिले स्थानीय सरकारले कृषि क्षेत्रमा धेरै राम्रो काम गरिरहेका कारण पनि यो पेसा गर्न थप ऊर्जा मिलेको उनले बताए ।

उनका अनुसार लुम्बिनी प्रदेशले ब्याज, प्रोत्साहन अनुदान, ब्लक, जोन तथा सुपर जोन कार्यक्रम, अनुदानका कार्यक्रम लगायत धेरै राम्रो काम गरेको छ । यस्ता कार्यक्रमहरूले व्यवसाय गर्न धेरै ऊर्जा मिल्ने उनले बताए । उनले पनि च्याउ खेतीका लागि अनुदान पाएका छन् । कृषि ज्ञान केन्द्र बाँकेबाट ब्लक कार्यक्रम अन्तर्गत अनुदान पाएका हुन् । ‘अनुदान पाए पछि व्यवसाय गर्न धेरै सजिलो भयो’ उनले भने ।

तर कृषिमा अनुदानको कार्यक्रम लिन धेरै समस्या रहेको उनले बताए । सामान्य किसानले अनुदान पाउन एकदम गाह्रो छ । धेरै पढेकोले मात्र गर्न सक्छन् । एकदम झन्झटिलो छ । उनले किसानलाई अनुदानभन्दा पनि ब्याज अनुदान दिए धेरै राम्रो हुन्छ । च्याउमा पनि बिना धितो १५ लाखसम्म ऋण दिन माग गरेको पनि उनले बताए । जागिर भए एक जनाले मात्र गर्न सकिने तर कृषि पेसा सबै परिवार खटिएर काम गर्न सकिने भएका कारण पनि व्यवसाय गर्न थप सहज हुने उनले बताए ।

तर नेपाल कृषि प्रधान देश भन्ने नारामा भने उनको चित्त दुखेको छ । कारण हो, नेपालमा कृषि कसैको पनि प्राथमिकतामा नपर्नु, जसले मुख्य पेसा नै कृषि बनाएर काम गरेको छ उसले कृषि अनुदान नपाउने, कृषिको अनुभव नै नभएकाले देशको नेतृत्व गर्नु जस्ता कुराले उनलाई निकै पिरोलेको छ । सम्बन्धित निकायले कृषिलाई अगाडि बढाउने हो भने देश उन्नतितर्फ जाने पनि उनको बुझाइ छ ।

च्याउ खेती गर्नुका फाइदा

च्याउ खेती गर्दा धेरै राम्रो हुने उनको भनाई छ । ‘च्याउ खेतीमा नगत कारोबार हुन्छ , अहिलेसम्म उदारो कारोबार भएको छैन’ उनले भने,‘रोपेको २२ दिनमा तयार हुन्छ , छिटै हुन्छ , धेरै नाफा हुन्छ । सय रुपैयाँ खर्च गर्नु भयो भने २ सय आम्दानी हुन्छ ।’

लुम्बिनी प्रदेश तथा कृषि ज्ञान केन्द्रहरूले पनि च्याउ खेतीलाई धेरै सहयोग गर्ने उनले बताए । बजारमा च्याउको माग बढ्दै गएको छ । उत्पादन र बजारीकरण गर्न सके च्याउबाट मनग्य आम्दानी गर्न सकिन्छ। ‘च्याउको अचार र सुकुटी मागअनुसार पुर्‍याउन सकेका छैनौँ’,ु उनले भने ।

आम्दानी हुँदा हुँदै पनि च्याउ खेतीमा पनि केही समस्या भएको उनले बताए । ‘समस्या हरेक क्षेत्रमा हुन्छ । समस्यासँग जुध्न सक्नु पर्छ’ उनले भने । च्याउको गुणस्तर बीउ पाउन मुस्किल रहेको उनले बताए । ‘आज तयारी भयो भने आजै बिक्री गर्नु पर्ने हुन्छ । केही मात्रामा बजारको समस्या छ’ उनले भने ।

सरकारले हरेक प्रदेशमा संकलन क्षेत्र खोल्नु पर्ने र सहकारीले खरिद गरेर बिक्री गर्नु पर्ने उनले बताए । साथै च्याउ खेती गर्दा विशेष ध्यान पुर्‍याउन आग्रह गरे । टनेलमा आउजाउको क्रममा बेवास्ता भए वा बाहिरबाट कोही गएमा ढुसीहरू प्रवेश गर्न सक्छ । साथै गुणस्तर बीउ प्रयोग गर्नुका साथै सरसफाइमा पनि ध्यान दिन उनले आग्रह गरे ।halokhabar/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button